Comments Add Comment

नवलपरासीमा दुई स्थानबाट मतदाता नामावली संकलन

१ साउन, काठमाडौं । प्रदेश र संघीय संसदको चुनावका लागि निर्वाचन आयोगले निर्धारण गरेको मतदाता नामावली संकलनको पहिलो दिन आइतबार देशभरका जिल्ला सदरमुकाममा जनताको घुईंचो लागेको छ ।

नवलपरासी जिल्लामा भने दुई स्थानबाट मतदाता नामावली संकलन भएको छ । संघीय संरचनामा दुई प्रदेशमा बिभाजन भएको यस जिल्लाका साविकको सदरमुकाम परासी बजार र प्रदेश नम्बर ४ का लागि कावासोती बजारमा नामावली संकलन भएको हो ।

नवलपरासीको प्रदेश नम्बर चार अन्तर्गत पर्ने गैंडाकोट, कावासोती, मध्यविन्दू र देवचुली नगरपालिकाका बासिन्दाले ईलाका प्रशासन कार्यालय कावासोतीमा पुगेर मतदाता नामावलीमा नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्यालय नवलपरासीले आग्रह गरेको छ ।

त्यसैगरी प्रदेश नम्बर चारमै पर्ने नवलपरासीका बुलिगंटार, बुङ्दीकाली, हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकाका स्थानीयहरुले पनि ईलाका प्रशासन कार्यालय कावासोतीमै पुगेर नाम दर्ता गर्नुपर्ने निर्वाचन कार्यालय नवलपरासीले जनाएको छ ।

मतदाता नमावलीमा नाम दर्ता गराउन नेपाली नगरिकताको परिचयपत्र साथमै लैजान आयोगले आग्रह गरेको छ । त्यसैगरी प्रदेश नम्बर पांच अन्तर्गतका रामग्राम, सुनवल र बर्दघाट नगरपालिका र सुस्ता, प्रतापपुर, सरावल, पाल्हीनन्दन र विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ र ७ का स्थानीय हरुले जिल्ला निर्वाचन कार्यालय परासीमा पुगी नामावली दर्ता गर्नुपर्ने ब्यवस्था मिलाइएको जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले बताए ।

निर्वाचन आयोगले साउन १ देखि १५ गतेसम्म मतदाता नामावली दर्ताका लागि समय दिएको छ । रुपन्देही  जिल्ला सदरमुकाममा पनि मतदाता नामावली दर्ताका लागि जनताको उपस्थिति उत्साहजनक देखिएको छ ।

जिल्लामा ४ लाख ६२ हजार ५ सय ४९ जना मतदाता रहेका छन् । र, यो संख्या अब बढ्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment