Comments Add Comment

सांसदले भने- बाँदरको राज्य रोक्नुपर्‍यो सभामुख महोदय !

१५ साउन, काठमाडौं । नेपालमा बाँदरको संख्या कति छ ? अहिलेसम्म बाघ वा गैंडाको जस्तो बाँदरको यकिन तथ्यांक छैन । तर संसद बैठकमा एकजना सांसदले बाँदरको संख्या नेपालमा आवश्यकताभन्दा बढी भएको भन्दै बाँदर आतंक नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

कांग्रेस सांसद कमल प्रसाद पंगेनीले अन्नबाली र फलफूलमा बाँदरले पुर्‍याउँदै आएको क्षति रोक्न र पीडित किसानलाई राहत दिन पनि सांसदले माग गरे ।

आइतबारको संसद बैठकको विशेष समयमा बोल्दै सांसद कमल पंगेनीले स्याङ्जा, पर्वत, पाल्पा, तनहुँ, कास्की, लमजुङ, ललितपुर, काभ्रे लगायतका जिल्लामा बाँदर आतंक रहेको बताए ।

सभामुखको ध्यानाकर्षण गराउँदै उनले भने, ‘स्याङ्जा, पर्वत, पाल्पा, तनहुँ, कास्की, लमजुङ, ललितपुर, काभ्रेसहित देशका अधिकांश जिल्लाहरुमा किसानहरुले लगाएको बाली, तरकारी, फलफूल समेतलाई बाँदरले हानी नोक्सानी पुर्‍याउँदै आएको छ । बाँदरले एकप्रकारले आतंक सिर्जना गरेको छ । किसानहरुको मेहनत र परिश्रमबाट उत्पादित, अन्नबाली तरकारी र फलफूलमाथि बाँदरले राज्य गर्न थालेपछि किसानहरु अत्यन्त ठूलो हैरानीमा परेका छन् ।’

बाँदरको व्यवस्थापन नगर्ने हो भने किसानहरुले कतिपय जिल्लामा खेतिपाती नै गर्न नसक्ने अवस्था उत्पन्न भएको भन्दै उनले सरकार, सांसद र सरोकारवाला निकायको ध्यानाकर्षण गराए । बाँदरले किसानको उत्पादनलाई पुर्‍याएको क्षति उपर राहत र क्षतिपूर्तिको व्यवस्थासमेत ऐनमा समेत नगरिएको भन्दै सांसद पंगेनीले भने, ‘नेपाल सरकार, संसदका सदस्य ज्यूहरु सबै जिम्मेवार निकायहरुलाई बाँदरको व्यवस्थापनको लागि सोच्न, बाँदरको हानिकारक जनावरमा राख्न र बाँदर आतंक रोकी किसानहरुलाई राहत प्रदान गर्न अनुरोध गर्दछु ।’

वन्यजन्तुको संरक्षण गर्नु सरकार र आम जनताको कर्तव्य भएतापनि बाँदरले पुर्‍याएको हानी नोक्सानीको लेखाजोखा गरी समाधानको उपाय खोज्नु पनि संसद र सरकारको जिम्मेवारी भएको उनले बताए । ‘बाँदरको संरक्षण गर्नु त छ तर जनताको कृषि उत्पादनको रक्षा अझ महत्वपूर्ण छ भन्ने लाग्दछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment