Comments Add Comment

बैंकहरुको वित्तीय विवरणमा नहुने यो सुचक पनि याद गर्ने कि ?


२१ साउन, काठमाडौं । अहिले बैंक तथा वित्तीय संस्थाहरुले धमाधम वित्तीय विवरणहरु प्रकाशित गरिरहेका छन् । वित्तीय विवरणमा दिइएका तथ्यांकहरुले मोटामोटी रुपमा संस्थाको अवस्था कस्तो छ, स्पष्ट देखाउँछ ।

बैंकहरुले कति नाफा र कति ब्याज कमाए, कति सञ्चालन खर्च गरिरहेका छन् लगायतका सबै तथ्यांक वित्तीय विवरणमा हुन्छ । अघिल्लो वर्षको तुलनामा यस्ता तथ्यांकमा कत्तिको घटबढ भयो भनेर विश्लेषण गर्न त्यति गाह्रो छैन ।

तर, तिनै तथ्यांकहरुको प्रयोग गरेर अन्य विश्लेषणहरु पनि गर्न सकिन्छ, जसले संस्थाको वास्तविक अवस्था कस्तो रहेको छ भन्ने पनि संकेत गर्छ । यस्तै एउटा विश्लेषणको लागि प्रयोग गरिने सूचक हो, खुद व्याज मार्जिन (नेट इन्ट्रेस्ट मार्जिन) ।

कसरी गर्ने हिसाब ?

बैंकहरुको खुद व्याज मार्जिन निकाल्न व्याज आम्दानी, व्याज खर्च र कुल कर्जा लगानीको तथ्यांक आवश्यक पर्छ ।
यसको हिसाब गर्दा व्याज आम्दानीले व्याज खर्चलाई घटाइन्छ । यसरी घटाएर आउने परिणामलाई कुल कर्जा लगानी रकमले भाग गरिन्छ र १ सयले गुणन गरिन्छ ।

उदाहरणको लागि, हालै चौथो त्रैमाशको वित्तीय विवरण प्रकाशित गरेको एक बैंकको व्याज आम्दानी ८ अर्ब ६ करोड र व्याज खर्च २ अर्ब ६० करोड छ । बैंकले कुल ९१ अर्ब ४९ करोड कर्जा लगानी गरेको छ । यस आधारमा हेर्दा बैंकको खुद व्याज आम्दानी ५.९६ प्रतिशत रहेको छ ।

गत वर्ष बैंकको व्याज आम्दानी ६ अर्ब १५ करोड र व्याज खर्च १ अर्ब ८२ करोड रहेको थियो । बैंकले कुल ७७ अर्ब ७३ करोड कर्जा लगानी गरेको थियो । यस आधारमा हेर्दा गत वर्ष बैंकको यो दर ५.५६ प्रतिशत रहेको थियो ।

खुद व्याज आम्दानीको सूचकमा हुने वृद्धि दरलाई राम्रो संकेतको रुपमा लिइन्छ । कम्पनीहरु बीचको यो सूचकको दर तुलनासमेत गर्न सकिन्छ ।

किन यो सूचक हेर्न आवश्यक छ ?

खुद व्याज मार्जिन बैंकको मुनाफादरको संकेत भने होइन, किनभने बैंकले फि, कमिशन, विदेशी मुद्राको विनिमय र अन्य माध्यमहरुबाट पनि कमाई गरिरहेको हुन्छ । त्यसबाहेक बैंकको नाफालाई उसले फिर्ता ल्याएको यसअघिको जोखिम वापतको प्रावधान (राइट ब्याक) ले पनि फरक परिरहेको हुन्छ ।

तर, यो सूचक महत्वपूर्ण भने हुन्छ किनभने बैंकको मुख्य व्यवसाय भनेको व्याज आम्दानी नै हो । धेरै विश्लेषकहरु यसलाई मुनाफादर हेर्ने संकेतभन्दा पनि स्वस्थता हेर्ने सूचकको रुपमा मान्छन् ।

खुद व्याज आम्दानी बाहेक कतिपय अन्य आम्दानीमा जोखिम पनि निहित हुन्छ । बैंकले कत्तिको जोखिम लिइरहेको छ भन्ने केही संकेत पनि दिन्छ । विशेष गरेर अन्य आम्दानी र विदेशी मुद्राको विनिमयको कारोबार जोखिमयुक्त मानिन्छ ।

नेपालमै पनि केही वर्षअघि एक वाणिज्य बैंक विदेशी विनिमयको कारोबारमा सट्टेबाजी रुपमा लाग्दा बैंक नै एक वर्षजति नोक्सानमा गएको थियो ।

खुद व्याज मार्जिनलाई बैंकले निक्षेपमा लिने र कर्जामा दिने व्याजदरले पनि प्रभाव गर्छ । यसले बैंक कत्तिको सस्तो दरमा पुँजी प्राप्त गरिरहेको छ भन्ने जानकारी पनि दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment