Comments Add Comment

खिजीदेम्बाको इलाका प्रशासन ठप्प, मतदाता नामावली संकलनमा समस्या

'नागरिकता बनाउन नपाएपछि मतदाता परिचयपत्र पाइएन'

२३ साउन, ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकास्थित इलाका प्रशासन कार्यालयमा प्रमुख नहुँदा सेवा प्रवाह ठप्प भएको छ ।

नागरिकता जारी गर्ने अधिकारी नभएपछि यहाँका नागरिक मतदाता नामावलीमा नाम दर्ता गराउनबाट समेत बञ्चित भएका छन् । निर्वाचन आयोगको टोलीले गाउँमा नामावली संकलनको काम सुरु गरेपनि इलाका प्रशासनबाट नागरिकता लिन नसकेका कारण प्रत्येक वडामा एक सय बढी युवाहरु नामदर्ता गराउन नपाउने भएको खिजीफलाँटेका कमलकृष्ण तामाङले बताए ।

‘निर्वाचनको टोलीगाउँमा छ, तर इलाका प्रशासनले नागरिकता जारी नै गर्दैन, नागरिकता बनाइनसकेका युवाहरु नामदर्ता गराउन नसक्ने अवस्थामा छन् ।’ तामाङले भने ।

नामावली दर्ता टोली गाउँपालिकामा आएको खबरपछि इलाका प्रशासनबाटै नागरिकता लिएर दुवै सेवा सँगै लिने योजनाका साथ पाालिका कार्यालयमा आएका सर्वसाधारण सेवा नपाएपछि निराश भएर र्फकन बाध्य छन् ।

जनप्रतिनिधिले सुनेनन्

नवनिर्वाचित जनप्रतिनिधिले पनि नागरिकको समस्या समाधानमा चासो नदेखाएको स्थानीयवासीको आरोप छ । ‘राज्यको विषेश अभियान नामवली संकलनमा जनताहरु छुटेको अवस्थामा इलाका प्रशासनबाट नागरिकता दिने व्यवस्था गराउन नसक्ने गाउँपालिका प्रमुखबाट अरु के आशा गर्ने ?’ नामउल्लेख नगर्न आग्रहगर्दै एक स्थानीयवासीले टेलिफोनमा गुनासो गरे ।

जनप्रतिनिधिले पटक्कै ध्यान नदिएकाले मन्त्रालयबाट खटिइसकेका कर्मचारीलाई कार्यालयमा हाजिर गराउनसमेत नसकेको स्थानीयवासीको आरोप छ । गाउँपालिका प्रमुख बेदबहादुर रोकाले भने आफूले निरन्तर सेवा प्रवाहका विषयमा पहल गरिरहेको दावी गरे ।

‘मैले प्रमुख जिल्ला अधिकारी र गाउँपालिकाका कार्यकारी मार्फत यस विषयमा बुझिरहेको छु’ रोकाले भने ।

इलाका प्रशासन कार्यालय खिजिफलाँटेको सेवा प्रभावकारी नहुँदा स्थानीयले सास्ती ब्यहोर्न बाध्य भएका छन् । करिब एक महिना अघिदेखि प्रमुख कर्मचारी नहुँदा सेवा ठप्प छ । निमित्त कार्यालय प्रमुख बनाएर त्यहाँ पठाइएका नासु महेशलाल मण्डललाई निर्वाचनमा खटाएसँगै उनी नफर्किएपछि इलाका प्रशासनको सेवा ठप्प भएको हो ।

कर्मचारी नियमित नबस्दा स्थापनाकालदेखि नै इलाका प्रशासनको सेवा प्रभावकारी हुन सकेको छैन । अहिले त्यसक्षेत्रका नागरिकहरु सामान्य सेवाका लागि पनि सदरमुकाम धाउन बाध्य छन् ।

गाउँमै पाइने सेवाका लागि दुई दिन लगाएर सदरमुकाम धाउनुपरेको खिजीदेेम्बा-४ का अतित सुनुवारले गुनासो गरे । सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञवालीका अनुसार सरकारले इलाका प्रशासन कार्यालयका लागि अधिकृत स्तरकै कर्मचारी खटाइसकेको छ । तर खटाइएका कर्मचारी लामो समय वितिसक्दा पनि त्यहाँ पुगेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment