Comments Add Comment

देउवाजीले संक्रमणकालको अधिकतम फाइदा उठाउनुभोः प्रचण्ड

'निर्वाचन खर्च घटाउन प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक प्रणाली'

२७ भदौ, विराटनगर । सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवाले इतिहासकै जम्बो मन्त्रिमण्डल बनाएर संक्रमणकालको अधिकतम फाइदा उठाएको बताएका छन् ।

बिराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले अब बन्ने सरकार संविधान अनुसार सानो आकारको हुने भएकाले सबैको चित्त बुझाउन प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल जम्बो बनाएको बताए ।

आफूले प्रधानमन्त्रीसँग दुई दिनदेखि कुराकानी नगरेको बताउँदै प्रचण्डले सरकार विस्तार निर्वाचन आयोगकै स्वीकृतिमा भएको हुनसक्ने अनुमान गरे ।

पूर्व प्रधानमन्त्री प्रचण्डले प्रदेश नम्बर दुईको निर्बाचनमा उम्मेदवारहरुले अधिकतम मात्रमा खर्च गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

‘चुनावमा यति धेरै खर्च भइरहेको छ, तर उनीहरुसँग खर्चको श्रोत छैन, यसले भविश्यमा हुने सबै निर्बाचन महंगो पर्न जान्छ र सामान्य मान्छेले चुनाव लड्न सक्ने अवस्था रहँदैन, जुन चिन्ताजनक हो ।’ प्रचण्डले भने ।

उम्मेदवारहरुले निर्वाचनमा अत्याधिक खर्च गरेकोबारे आफूले अन्य पार्टीका नेताहरुसँग पनि छलफल गरेको प्रचण्डले बताए ।

प्रचण्डले भने, ‘चुनावमा धेरै खर्च हुन थाल्यो, अब निर्वाचन प्रणालीकै बारेमा सोच्नुपर्ने अवस्था आयो ।’

केन्द्र र प्रदेशको निर्वाचन पछि आउने निर्बाचनमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली भयो भने राजनीतिक स्थिरता, लोकतन्त्रको अभयास, आम जनताको मतदातको अधिकार र उम्मेदवारको खर्च पनि कम हुने भएकाले माओवादीले यस प्रणालीको पक्षमा आवाज उठाउने प्रचण्डले बताए ।

अर्को प्रशंगमा माओवादी अध्यक्ष प्रचण्डले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काबिरुद्धको अनियमितताको आरोपबारे गम्भीर छानविन भइरहेको बताए । त्यहाँ अनियमितता भएको भेटिए कारबाही हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment