Comments Add Comment

ठगी मुद्दामा फ्रुटीका ४ कर्मचारीलाई थुनामा राख्न आदेश, मालिक अझै फरार

फाइल तस्वीर

५ असोज, काठमाडौं । जिल्ला अदालत, काठमाडौंले ठगी मुद्दामा दुगड ग्रुपद्धारा सञ्चालित दुगड फ्रुट एण्ड वेभरेज प्रालिमा कार्यरत् चार कर्मचारीलाई थुनामा राख्ने आदेश दिएको छ ।

अदालतका न्यायाधीश ऋषिराम निरौलाको इजलासले बुधबार कम्पनीका अन्य चार जना सेयर होल्डरविरुद्ध अदालतमा हाजिर हुनसमेत म्याद जारी गरेको छ ।

गत भदौ १२ गते अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रसाशन कार्यालयको टोलीले काठमाडौंको सतुंगलमा दुगड ग्रुपद्धारा सञ्चालित कम्पनीको गोदाममा छापा मारेको थियो । त्यसक्रममा झन्डै चार सय ड्रम मिति गुज्रेको टाटापुरी म्याङ्गो पल्प फेला पारेको थियो ।

म्याद नाघेका वस्तु प्रयोग गरी फ्रुटी बनाइएको भेटिएपछि उक्त गोदाममा शिल गरिएको थियो । महाशाखाका अनुसार दुई वर्षअघि नै म्याद गुज्रिएको कच्चा पदार्थको प्रयोग गरेर कम्पनीले फ्रुटी जुस उत्पादन गरिरहेको थियो ।

अदालतका अनुसार कम्पनीका कर्मचारीहरू प्रमोद मेहता, गाब्रिएल रियाप्टन (भारतीय नागरिक), मदनबाबु पाण्डे र शिबराज पोखरेलविरुद्ध पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको छ ।

त्यस्तै कम्पनीका शेयर होल्डरमध्ये मालचन्द्र दुगड, सुरेन्द्रा दुगड, सरदा दुगड र विवेक दुगडविरुद्ध हाजिर हुन म्याद जारी गरिएको छ । उनीहरूलाई ३० दिनभित्र अदालतमा हाजिर हुन म्याद जारी गरिएको हो ।

गत वर्ष पनि दुगड फुड्सको गोदाममा छापा मारेर दुई लाख प्याकेट फ्रुटी नष्ट गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment