१ कात्तिक, लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन)को हरेक सम्मेलनमा संसारभर छरिएका पत्रकारहरुलाई दिइने ‘एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७४’ पत्रकार नवीन पोखरेल र होम कार्कीलार्इ प्रदान गरिएको छ ।
काठमाडाैंमा भएको एनआरएनएको आठौं विश्व सम्मेलनको समापन समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो ।
अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली संघ समन्वय परिषदका अध्यक्ष शेष घले र राष्ट्रिय समन्वय परिषद वेलायतका अध्यक्ष योगकुमार फगामीले कार्की र पोखरेललाई नेपाली रुपयाँ ५० हजार पाँच सय सहित ताम्रपत्र दिदै सम्मान गरेका थिए ।
पत्रकार नवीन पोखरेल लण्डनमा रहेका कारण उनका वुवा रामचन्द्र पोखरेललाई हस्तान्तरण गरिएको थियो ।
त्रिभुवन विश्व विद्यालयबाट पत्रकारितामा स्नातक गरेका नवीन स्नातकोत्तर गर्न सन् २००६ देखि लण्डनमा छन् ।
सन् २००७ बाट वेलायतका लागि कान्तिपुर संवाददाताका रूपमा खटिएका नबीनले यस अघि मुलधारको राष्ट्रिय दैनिक पत्रिका राजधानिमा ५ वर्षसम्म नेपाली पत्रकारिताको अनुभव गरिसकेका थिए ।
वेलायतस्थित चर्चित अनलाइन विनेपाली डट कमका प्रधान सम्पादक समेत रहेका नवीन विगत १० वर्षदेखि प्रवासी नेपालीहरुको गतिविधि र वेलायती गोर्खा सैनिकहरुका आन्दोलनका बारेमा कलम चलाउन्दै आइरहेका छन् ।
यस्तै पत्रकार कार्की लामो समय कतारमा रहेर कान्तिपुरका लागि काम गरेका थिए । हाल काठमाडौंबाट उनले बैदेशिक रोजगारीमा खाडी मुलुक पुगेका कामदारका समस्याबारे कलम चलाउदै आइरहेका छन् ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) वेलायत र नेपाल पत्रकार महासंघ वेलायत शाखाद्वारा संयुक्त रुपमा स्थापित उक्त पुरस्कार प्रवासी नेपालीका बारेमा निरन्तर समाचार सम्प्रेषण गर्ने एकजना नेपालभित्र र एक जना प्रवासका पत्रकारलाई हरेक दुई वर्षमा हुने एनआरएनए विश्व सम्मेलनका अवसरमा प्रदान गरिने नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगरले जानकारी दिए ।
नेपाल पत्रकार महासंघले केही महिनाअघि एनआरएनएको आठौ विश्व सम्मेलनमा प्रदान गरिने एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१७ का लागि छनौट समिति गठन गरेका थिए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य संयोजक तथा पत्रकार बबिता बस्नेत र बीबीसी नेपाली सेवाका रेडियो पत्रकार भगिरथ योगी सदस्य रहेको छनोट समितिले कार्की र पोखरेललाई संयुक्तरुपमा उक्त पुरस्कारका लागि छनोट गरेका हुन् ।
रोशन मेवाहाङ्गबाट
प्रतिक्रिया 4