Comments Add Comment

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल- टाँगीयावासीको ‘जहाज चिन्ता’

अन्योलमा छन् प्रभावित क्षेत्रका बासिन्दा

१२ कात्तिक, सिमरा । चनुमाया पुलामी ७३ वर्षकी भइन् । उनले घरनजिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने चर्चा सुनेको नै वर्षौं बित्यो ।

चुनाव जितेपछि मतदातालाई धन्यवाद दिन गाउँ पसेका जितपुर सिमराका मेयर डा. कृष्ण पौडेललाई देख्नासाथ पुलामीले सोधिन्, ‘एयरपोर्टमा जहाज कहिले आउँछ ?’

आमा, पति र पाँच सन्तानलाई टाँगियामै गुमाइन्, उनले । नातिनी बुहारीसँग बस्दै आएकी छन्, अहिले ।

पुलामीलाई पाँच रुपैयाँमा दिनभर जंगलमा रुख रोपेको र बिरुवा गोडमेल गरेको सम्झना ताजै छ । त्यतिबेलाका सुकुम्वासीलाई सारेर सरकारले जंगलको संरक्षण गरेको थियो ।

‘रुख रोपेरै बुढी भएँ, अब यहाँ जहाज आउँछ रे, हामीचैँ कहाँ जाने ?’ उनी भन्छिन्, ‘गिठ्ठा भ्याकुर खाएरै जंगलको रक्षा गरियो, जंगली जनावरहरुको धेरै सामना गरियो, बालबच्चाहरुलाई हाम्रै आँखाका अगाडि जनावरले घिसार्दा टुलुटुलु हेरेर बस्नुपथ्र्यो ।’

अहिले उनलाई आफ्नो जीवनभन्दा जहाजको चिन्ता छ । आफ्नो आँखा अगाडि जहाज बस्दै र उड्दै गरेको हेर्ने रहर छ, उनलाई । अहिलेसम्म दुर्गम बस्ती जहाज आउन थालेपछि सुगम बन्ने आशामा स्थानीय बासिन्दा छन् ।

‘अब मेरो त के पीर भो र, मर्ने भरेभोलि हो । यतिका समय दुःख झेलियो, हाम्रा नातिनातिनाले अब बसाईं सरिरहन नपरे हुन्थ्यो,’ उनी भन्छिन्, ‘हामीले पसिना बगाएर संरक्षण गरेको भूमिमा जहाज उडेको हेर्ने रहर छ ।’

जितपुरसिमराका मेयर डा. पौडेलले टाँगिया पुगेर स्थानीयवासीलाई बिचल्ली हुन नदिने प्रतिबद्धता जनाएका छन् । केन्द्रीय सरकारले बस्ती व्यवस्थापनमा आवश्यक कदम चाल्नेमा आशावादी रहन उनको आग्रह छ ।

टाँगीयाबस्ती सरोकार समितिका अध्यक्ष रमेश सापकोटाका अनुसार पञ्चायती व्यवस्थामा जंगल जोगाउन वृक्षरोपणमा लगाइएको थियो, स्थानीय बासिन्दालाई । सिन्धुली, रामेछाप, काभ्रे र मकवानपुरका बाढीपहिरो र गरीबीबाट प्रभावित परिवारलाई वृक्षरोपणमा रोजगारी दिइएको थियो ।

मूल्यवान साल, सतिसाललगायत रुख कटान गरी बिक्री र तिनको ठाउँमा नयाँ बिरुवा रोप्ने सरकारी योजना थियो । त्यसरी रोपिएका बिरुवाको गोडमेल र संरक्षण गर्दै तीन वर्षसम्म अन्नबाली लगाउने गरिएको थियो ।

उनीहरुले हरेक तीन वर्षमा अर्को ठाउँमा सर्नुपथ्र्यो । त्यही क्रममा टाँगियावस्तीको विकास भएको स्थानीय टीकाबहादुर अधिकारी बताउँछन् ।

उनी ०३२ सालतिर टाँगियामा आइपुगेका थिए, ०४६ सालको परिवर्तनपछि स्थायी रुपमा बसे । उनीहरुलाई अब टाँगियामै स्थापित हुने आशा थियो । त्यही भएर ‘टाँगियो’ अर्थात् स्थापित भइयो भन्ने अर्थमा बस्तीको नामै टाँगिया राखेका थिए ।

तर, फेरि अन्तर्राष्ट्रिय विमानस्थलका कारण उनीहरुले अन्यत्र सर्नुपर्ने भएको छ । सडक, स्वास्थ्यकेन्द्र, विद्यालय, खानेपानीजस्ता न्युनतम आधारभूत आवश्यकताबाट वञ्चित छन् । १४ सय ७६ घरधुरीसामु चर्चामै सीमित विमानस्थल जीवनस्तर सुधारमा बाधक बनेको छ ।

पछिल्लो समय सरकारले अन्तर्राष्ट्रिय विमानस्थलको चार किल्लाभित्र पर्ने एक सय १० बिघाको अधिग्रहण सुरु गरेको छ । काठगाउँ (हरैया) र ककडी (पर्सौना)को जग्गा अधिग्रहणका लागि दोस्रो पटक ३५ दिने सूचनाको म्याद पनि सकिएको छ ।

विमानस्थलको केन्द्रभागमै पर्छ, टाँगिया बस्ती । सरकारले स्थानीय बासिन्दालाई अधिग्रहणको विकल्प दिन सकेको छैन । ऐलानी जग्गामा बसोबास गर्ने भएकाले उनीहरुका लागि मुआब्जा दिने कानूनी प्रावधान छैन ।

सरोकार समितिका अध्यक्ष सापकोटा भन्छन्, ‘विगतमा सरकारले ऐलानी जग्गामा बसोबास गर्दै आएकालाई पनि प्रतिशतका आधारमा मुआब्जा दिएका उदाहरणहरु छन्, हामीलाई पनि त्यस्तै व्यवस्था गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment