१५ कात्तिक,काठमाडौं । धुर्मुस-सुन्तली फाउण्डेशनलाई एक जना रिक्सा चालकले सहयोग गरेका छन् ।
फाउण्डेशनका तर्फबाट रौतहटको चन्द्रपुर नगरपालिकामा निर्माण गर्न लागिएको सन्तपुर नमूना वस्तीका लागि स्थानीय रिक्सा चालकले सहयोग गरेका हुन् ।
रिक्सा चलाएर आफ्नो परिवार धान्दै आएका चन्द्रपुर नगरपालिकाका केदारप्रसाद तिमल्सिनाले फाउण्डेशनलाई पाँच बोरा सिमेन्ट सहयोग गरेका हुन् ।
दैनिक तातो घाममा रिक्सा चलाएर पाँच जनाको परिवार पाल्ने तिमल्सिनाले अरुलाई पनि प्रेरणा होस् भनी सहयोग गरेको बताएका छन् ।
रिक्सा चलाएर दैनिकी चलाइरहेका तिमल्सिना आफैंमा राहतका भागिदार समेत हुन् ।
रौतहटमा बन्ने एकीकृत नमूना बस्ती निर्माणका लागि पाँच बोरा सिमेन्ट लिएर फाउण्डेशनको निर्माणाधिन बस्तीमै पुगेका तिमल्सिनाले खुसी मनले भने-‘सहयोग मनले गर्नुपर्छ ।’
सहयोग हस्तान्तरणका क्रममा उनलेे धुर्मुस सुन्तलीलाई सहयोग गर्न पाउनु आफ्नो अवसर भएको भन्दै गर्व महसुस भएको बताए । उनले यसो भनिरहँदा धुर्मुस भावुक भएका थिए ।
तिमल्सिनाले दिएको सहयोग पछि धुर्मुसले आफ्नै फेसबुक मार्फत उनलाई धन्यवाद सहितको स्ट्याटस पोष्ट गरेका छन् । ‘उहाँको यो मानवीय भावना देखेर हामी पनि भावुक बनेका छौं,’ उनले स्टाटसमा लेखेका छन्,’सलाम छ रिक्सा चालक केदारप्रसाद तिमल्सिनालाई । सधै खुसी र सुखी रहनु ।’
प्रतिक्रिया 4