+
+
Shares

झापा–१ का उम्मेदवारको एजेण्डाः अन्तर्राष्ट्रिय व्यापार विस्तारदेखि बन्दमुक्त काँकरभिट्टासम्म

के भन्छन् प्रतिनिधि र प्रदेशसभा उम्मेदवार ?

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १ गते १२:३७

१ मंसिर, झापा । झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारले स्थायी शान्ति, दीगो विकास र समृद्धिलाई मुख्य एजेन्डा बनाएका छन् ।

संवाद समूह झापाको संयोजनमा शुक्रबार धुलाबारीमा भएको उम्मेदवारहरुसँगको छलफलमा उनीहरुले आफ्नो क्षेत्रसहित मुलुकको समृद्धिलाई प्राथमिकतामा राखेर चुनावी एजेण्डा सार्वजनिक गरेका हुन् ।

आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि झापा १ मा प्रतिनिधिसभातर्फ ७ जना, प्रदेश सभा तर्फ क्षेत्र ‘क’ र ‘ख’ बाट ८÷८ जना चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण, उत्साहजनक सहभागिता र व्यवस्थित रुपमा सम्पन्न गराउन उनीहरुले ६ बुँदे साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

विकासको नमूना क्षेत्र बनाउँछुः शर्मा

नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश शर्माले क्षेत्र नं. १ लाई विकासको नमूना क्षेत्र बनाउने बताउँदै स्थानीय र राष्ट्रिय एजेन्डा सार्वजनिक गरेका छन् ।

बाहुनडाँगी–शान्तिनगरलाई कृषि–पर्यटन क्षेत्र बनाउने, चन्द्रगढी–ज्यामिरगढी–दुहागढीलाई औद्योगिक क्षेत्र र धाइजनलाई हेल्थ हव बनाउने बताए ।

त्यस्तै, रिङरोड, बन्दमुक्त काँकरभिट्टा, असार–साउनमा आउने बजेटलाई चैत–वैशाखमै ल्याउन लविङ गर्ने, सिद्धीखोलाबाट विद्युत् उत्पादन, रेमिट्यान्सलाई विद्युत् उत्पादनमा लगानी गर्ने लगायतका योजनाहरु सार्वजनिक गरेका छन् ।

कांग्रेस र बामपन्थी मिलेर देशलाई समृद्धिः कार्की

प्रतिनिधिसभातर्फ बाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार (राम) कार्कीले नेपालका पार्टीलाई लोकतान्त्रिक बनाउँदै समाजमा प्रजातन्त्रको बिस्तार गर्ने बताएका छन् ।

चारदशकदेखि राजनीतिमा रहेका उनले नेपाल सुहाउँदो समाजवाद निर्माण गर्ने, अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने, गरिब लक्षित विशेष कार्यक्रम ल्याउने, सबैखालको विभेद अन्त्य गर्ने एजेन्डा प्रस्तुत गरेका छन् ।

उनले कांग्रेस र वामपन्थी मिलेर देशलाई समृद्धिको मार्गमा अघि बढाउनुपर्नेमा समेत जोड दिए ।

वाम गठबन्धनबाट कार्की र कांग्रेसका शर्मा दुवै क्षेत्र नं. १ का लागि प्रभावशाली उम्मेदवार मानिएका छन् । दुवै उम्मेदवारले चुनावी दौडाहमा प्रस्तुत गरिरहेको एकअर्काप्रतिको हार्दिकता, सम्मान र उच्च राजनीतिक संस्कार अरुका लागि पनि अनुकरणीय रहेको यतिबेला चर्चा छ ।

प्रदेशसभा उम्मेदवारको एजण्डाः ओलाङचुङगोलासम्म सडक विस्तार

क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा क्षेत्र ‘क’ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका केशवराज पाण्डेले यस क्षेत्रको समृद्धिका लागि विशेष योजना सार्वजनिक गरेका छन् ।

उनले ओलाङचुङगोलासम्मको छोटो सडक विस्तार गरी चीनसँग नाका स्थापित गर्नेदेखि लिएर बंगलादेश लगायतका देशहरुसँगको व्यापार बिस्तारका लागि यो क्षेत्रलाई केन्द्र बनाउन सकिने बताए ।

सडक कालोपत्रे, पुल निर्माण, व्यापार प्रवद्र्धन, उद्योग स्थापना, स्वरोजगारका साथै महिला, मजदुर, गरीब र किसान सशक्तिकरणका लागि काम गर्ने आफ्नो योजना रहेको पाण्डेले सुनाए ।

सोही क्षेत्रमा एमालेबाट प्रदेशसभा सदस्यका उम्मेदवार श्रीप्रसाद मैनालीले भ्रष्टाचारमुक्त समाज निर्माण, पाँच वर्षभित्र हात्ती आतंकमुक्त क्षेत्र बनाउने, बहुजातीय संग्रहालय निर्माण गर्ने, मजदुरका लागि सहुलियत रासन कार्ड लागू गर्ने, सडकहरु कालोपत्रे, श्रीअन्तुसम्म सडक बिस्तार लगायतका योजना सार्वजनिक गरेका छन् ।

नयाँ शक्ति पार्टी नेपालबाट सोही क्षेत्रमा उम्मेदवार बनेका पुष्पप्रसाद पौडेलले स्थिर शासन व्यवस्था र स्थायी शान्तिका लागि आफ्नो अभियान रहेको बताए । किसान–मजदुर केन्द्रित कार्यक्रम, शिक्षाका समस्या समाधान, स्वदेशमै रोजगारको सिर्जना तथा रमिट्यान्सलाई हाइड्रोपावरमा लगानीको वातावरण बनाउने आफ्नो योजना रहेको उनले सुनाए ।

क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा क्षेत्र ‘ख’ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका अशोककुमार पोखरेलले न्यायालयमा हुने भ्रष्टाचारदेखि लिएर सबै क्षेत्रको अनियमितता विरुद्ध अभियान चलाउने बताएका छन् ।

उनले राजनीतिक संस्कार र नेता, कार्यकर्तामा चारित्रिक परिवर्तन आवश्यक रहेकोमा जोड दिँदै राजनीतिलाई व्यापारिकरण हुन नदिने समेत बताएका छन् ।

समाज परिवर्तन, विकास र समृद्धिका लागि कानून व्यवसाय र उपप्राध्यापक पद त्यागेर अहिले आफू राजनीतिमा सक्रिय भएको समेत उनले सुनाए ।

व्यापार प्रबर्द्धन 

सोही क्षेत्रमा एमालेबाट उम्मेदवार बनेका गोपालचन्द्र बुढाथोकीले पूर्वीनाकालाई अझ व्यवस्थित गरी व्यापार प्रवद्र्धन गर्नेदेखि जनहितकारी काम गर्नेसम्मका योजना सार्वजनिक गरेका छन् ।

किसान र मजदुरमैत्री राज्य सञ्चालनदेखि संविधानले परिकल्पना गरेको समृद्ध मुलुक निर्माणको मार्गलाई कार्यान्वयनमा लैजान आफूले कुनै कसर बाँकी नराख्ने बुढाथोकीको भनाइ छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सोही क्षेत्रमा उम्मेदवार बनेका लक्ष्मीप्रसाद मावोले सबैखाले विभेदको अन्त्य गर्दै मुलुकको दीगो विकास र समृद्धिमा लागीपर्ने बताए । बुद्धशान्ति–४ मा रहेको अव्यवस्थित बसोबासको समस्या समाधान आफ्नो प्रमुख योजना रहेको उनले बताए ।

सोही कार्यक्रममा उम्मेदवारहरुले व्यक्त गरेको ६ बुँदे साझा प्रतिबद्धतामा निर्बाचन आचारसंहिता पूर्ण पालना गर्ने, कुनै पनि चुनावी एवम् राजनीतिक गतिविधिमा बालवालिकाको प्रयोग नगर्ने, आफ्ना गतिविधिलाई भयरहित शान्तिपूर्ण र मर्यादित बनाउँदै निर्वाचनलाई द्वन्दरहित बनाउने रहेका छन् ।

त्यस्तै निर्वाचन प्रचार–प्रसारलाई तडकभडकरहित, कम खर्चिलो र मितव्ययी बनाउने, मतदाता शिक्षालाई प्रभाबकारी बनाउन सहयोगी भूमिका निर्वाह गर्ने र एकअर्काको सह अस्तित्व स्वीकारी आदर सम्मान पूर्वक व्यवहार गरी असल राजनीतिक संस्कारको विकास गर्ने समेत उनीहरुले प्रतिबद्धता जनाएका छन् ।

छलफलको सहजीकरण संवाद समूह सचिवालयका सहजकर्ता अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?