Comments Add Comment

पहिलो चरणमा कसरी हुँदैछ मतदान ? यस्तो छ प्रदेशगत हिसाब

करीव ३२ लाख मतदाताका लागि ४ हजार ४५६ मतदान केन्द्र तोकिए

४ मंसिर, काठमाडौं । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा करीव ३१ लाख मतदाता सहभागी हुँदैछन् । निर्वाचन आयोगका अनुसार कुल डेढ करोड मतदाता मध्ये पहिलो चरणमा ३१ लाख ९१ हजार ९४५ ले मतदान गर्न पाउनेछन् ।

मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनको सबै तयारी पूरा भइसकेको र मंसिर ७ गतेभित्र सबै मतदानकेन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मी पुगि सक्ने आयोगका प्रवक्ता नवराज ढकालले बताए । उनका अनुसार पहिलो चरणमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा ४ हजार ४ सय ६५ मतदान केन्द्र रहनेछन् ।

पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । प्रदेश २ का कुनै पनि जिल्लामा पहिलो चरणमा चुनाव हुने छैन ।

पहिलो चरणमा सबैभन्दा धेरै मतदाता ३ नम्बर प्रदेशका छन् भने सबैभन्दा प्रदेश ५ बाट छन् । यो चरणमा दुई निर्वाचन क्षेत्र भएका जिल्ला नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, गोरखा र बागुलङ मात्र छन् ।

प्रदेश १

प्रदेश १ का ७ जिल्लामा हुन लागेको चुनावमा प्रतिनिधिसभाका ७ र प्रदेशसभाका १४ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । ती जिल्लामा ६९६ मतदानस्थल र १०२५ मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश १ बाट पहिलो चरणमा ७ लाख १९ हजार १७६ मतदाताले मतदान गर्दैछन् । पहिलो चरणमा यो प्रदेशबाट ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगामा मात्र चुनाव हुनेछ ।

प्रदेश ३

प्रदेश ३ मा ६ जिल्लाका ९ प्रतिनिधिसभा र १८ प्रदेशसभा निर्वाचन क्षेत्रमा मतदनान हुँदैछ । यहाँ ६०० मतदानस्थल र १२४६ मतदान केन्द्र तोकिएका छन् । पहिलो चरणमो यो प्रदेशबाट १० लाख १ हजार ४० मतदाताले मतदान प्रक्रियामा भाग लिनेछन् । पहिलो चरणमा यो प्रदेशका रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र रसुवा जिल्लामा निर्वाचन हुँदैछ ।

प्रदेश ४

प्रदेश ४ बाट पहिलो चरणमा ६ जिल्लाका ८ प्रतिनिधिसभा र १६ प्रदेशसभा निर्वाचन क्षेत्रमा मतदान हुँदैछ ।

यहाँ ५७६ मतदान स्थल र ८१७ मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ । यो प्रदेशबाट पहिलो चरणमा ५ लाख ६३ हजार २४ मतदाताले मतदान प्रक्रियामा भाग लिदैछन् । पहिलो चरणमा यो प्रदेशका गोरखा, लमजुङ, मनाङ, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा निर्वाचन हुँदैछ ।

प्रदेश ५

प्रदेश ५ बाट दुई जिल्ला प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ निर्वाचन क्षेत्रमा मात्र मतदान हुँदैछ । यहाँ १११ मतदानस्थल र २०१ मतदान केन्द्र कायम भएका छन् । पहिलो चरणमा यो प्रदेशका १ लाख ५५ हजार ५५७ मतदाता सहभागी हुँदैछन् । यो चरणमा रुकुम पूर्व र रोल्पामा मात्र निर्वाचन हुँदैछ ।

प्रदेश ६

प्रदेश ६ मा पहिलो चरणमा ७ जिल्लाका ७ प्रतिनिधिसभा र १४ प्रदेशसभा निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । यहाँ ५११ मतदान स्थल र ६०४ मतदान केन्द्र तोकिएका छन् । यो प्रदेशबाट पहिलो चरणमा ३ लाख ६८ हजार २०७ मतदाता मतदानमा सहभागी हुँदैछन् । पहिलो चरणमा ६ नम्बर प्रदेशका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, जाजरकोट र रुकुम पश्चिममा निर्वाचन हुँदैछ ।

प्रदेश ७

प्रदेश ७ का ४ जिद्यल्लाका ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा निर्वाच्न क्षेत्रका लागि मतदान हुँदैछ । यहाँ ४२५ मतदानस्थल र ५७१ मतदान केन्द्र तोकिएका छन् । पहिलो चरणमा यस प्रदेशका ३ लाख ८४ हजार ९४१ मतदाताले मतदान प्रक्रियामा भाग लिनेछन् । पहिलो चरणमा ७ नम्बर प्रदेशका बैतडी, दार्चुला, बझाङ र बाजुरामा निर्वाचन हुँदैछ ।

हिमालका मतदातालाई अस्थायी मतदान केन्द्र 

निर्वाचन आयोगले उच्च हिमाली भेगमा हिउँ परेका कारण बस्न नसकी अउलमा झरेका मतदातालाई मतदानको अधिकारबाट बन्चित हुन नदिन अस्थायी मतदान केन्द्रको व्यवस्था समेत गरेको छ ।

अहिलेसम्म दार्चुलाको ब्यास गाउँपालिका १ का मतदाताका लागि सदरमुकाममै अस्थायी मतदान केन्द्र तोकिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए । अन्य ठाउँबाट अस्थायी मतदान केन्द्रको माग नभएको उनले बताए ।

यदि उच्च हिमाली क्षेत्रबाट त्यस्तो माग भएमा सम्बन्धित जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई अस्थायी मतदान केन्द्र कायम गर्ने अधिकार दिइएको ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment