Comments Add Comment

शीतलहरले बिद्यालय जानसमेत सकेनन् बिद्यार्थी

३ पुस, रौतहट । केही दिनयता रौतहटमा अत्याधि बढेको चिसोसँगै शितलहरले जनजीवन कष्टकर बन्न थालेको छ । दिनभरी जसो लाग्ने कुहीरोसँगै चल्ने चिसो हावाले मानिसको चहलपहलमा कमी आएको छ भने बृद्धबृद्धा र केटाकेटी बढी प्रभावित बनेका छन् ।

गएको शुक्रवारदेखि नै रौतहटको दक्षिणी भेगमा घाम लागेको छैन । बिहानैदेखि कुहिरोले घेरिएपछि यहाँका जनता प्रभावित बनेका छन् । अत्यावश्यकबाहेक अन्य काममा मानिसहरु घरबाट बाहिर निस्केका छैनन् । अरुबेला बिहानै खुल्ने बजारका पसलहरु ढिला खुलिरहेका छन् ।

चिसोले सबैभन्दा बढी बालक र वृद्धहरुलाई असर पारेको छ । बिहान १० बजेसम्म पनि बाक्लो हुस्सुका कारण हिड्न समस्या भएपछि टाढा तथा ग्रामिण भेगका विद्यार्थी विद्यालय जानबाट बञ्चीत भएका छन् ।

अत्याधिक चिसो र अध्यारोका कारण विद्यालयमा बिहानी समयमा पठन पाठन सञ्चालन गर्न निकै समस्या भएको विद्यालय सञ्चालकहरुले बताएका छन ।

यसैगरी पुराना दमका रोगी, उच्चरक्तचाप भएका वृद्ध वृद्धाहरुलाई चिसोले थप समस्यामा पारेको छ । जिल्ला अस्पताल गौरमा पनि चिसोका कारण बिरामी भएकाहरुको संख्या बढेको अस्पतालले जनाएको छ ।

बाक्लो हुस्सु र शीतका कारण पूर्व-पश्चिम राजमार्गको यातायात पनि प्रभावित भएको छ । कठ्याग्रिँदो चिसोसँगै बाक्लो हुस्सु लाग्नाले सवारी साधानको आवागमनमा असर पुगेको हो । बाक्लो हुस्सुले भिजिविलिटी कम हुँदा सवारी साधनहरु कम गतिमा बत्ती बालेर गुडिरहेका छन् । विभिन्न स्थानमा ट्राफिक प्रहरीले पनि गति कम गरी गाडी गुडाउन निर्देशन दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment