Comments Add Comment

देउवाका दुई रणनीतिः संसदीय दलको नेता बन्ने, वाम एकता रोक्ने

प्रत्यक्ष निर्वाचित २३ सांसदमा पौडेल पक्षको बहुमत

समाचार टिप्पणी

१० पुस, काठमाडौं । आम निर्वाचनमा ठूलो पार्टी बन्न नसकेपछि कांग्रेस सभापति शेरबहादुर देउवा अब नेतृत्व हस्तान्तरणतर्फ लाग्छन् या अझै नेतृत्व हत्याउनेतिर ? कांग्रेस मामिलाका जानकारहरुका अनुसार अब शेरबहादुर देउवाका दुई रणनीति हुन सक्छन्ः एक- संसदीय दलको नेता बन्ने । अर्को- एमाले र माओवादीवीच हुन लागेको एकीकरणलाई सकेसम्म रोक्ने ।

पार्टी नेतृत्व हस्तान्तरण गर्नुको साटो अब देउवाले कांग्रेस संसदीय दलको नेता आफैं बन्ने प्रयास गर्ने सुत्रको विश्लेषण छ । संसदीय दलको नेता बनिसकेपछि वाम एकता रोक्न सकियो भने माओवादी र मधेसीको साथ लिएर ५ वर्षभित्र फेरि पनि प्रधानमन्त्री बन्न सकिन्छ कि भन्ने देउवाको आशा अझै मरिसकेको छैन भन्छन्, कांग्रेसजनहरु ।

कांग्रेसलाई नजिकबाट चिन्ने एक जना विश्लेषकले नाम उल्लेख नगर्ने शर्तमा अनलाइनखबरसँग भने- ‘देउवाजीको भन्दा पनि उहाँका ससुरालीपटि्टको रहर यो छ कि उनले फेरि पनि शक्ति आर्जन गरुन् । तर, यसका लागि उनले संसदीय दलको नेता बन्न र सम्भावित वाम एकता रोक्न जरुरी छ ।’

सूत्र भन्छ- देउवा र उनका आफन्तजनले आरजू राणालाई नै संसदीय दलको नेताका साथै भावी प्रधानमन्त्री बनाउने सोचेकै हुन्, तर आरजूले चुनाव नजितेका कारण त्यो सम्भव भएन ।

त्यसो त निर्वाचनअघि नै कैलाली पुगेर सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आरजू राणालाई ‘भावी प्रधानमन्त्री’ का रुपमा प्रजेक्ट गरेको समाचार बाहिर आएको थियो । बस्नेतको उक्त भनाइले आरजु राणालाई भावी प्रधानमन्त्री बनाउने कांग्रेसभित्रको प्रयासको गन्ध चुनावअघि नै दिएको थियो ।

पहिलो फलामे गेटमा देउवाको ८ भोट !

कांग्रेस सभापति शेरबहादुर देउवाले अब संसदीय दलको नेता बन्नका लागि पहिलो प्रयास गर्नेछन् । तर, यो प्रयास उनका लागि फलामे गेट पार गर्नुसरह हुनेछ । किनभने, प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेसभित्रको समीकरण देउवाका लागि सहज छैन । अब समानुपातिकतर्फ पनि पौडेल समूहसँग ६०/४० को भागवण्डा गर्नुपर्‍यो भने उनी अल्पमतमा पर्न सक्छन् ।

समानुपातिकमा कांग्रेसले ४० सिट पाएको छ । यसमा प्रत्यक्षको २३ सिट जोड्दा कांग्रेसको कुल सिट ६३ पुग्छ र यसबाट बहुमत ल्याएर मात्रै संसदीय दलको नेता बन्न सकिन्छ ।

संसदीय दलको नेताले विपक्षी दलको नेता बन्न पाउँछ । साथै सरकार ढल्यो भने ऊ ‘प्रधानमन्त्री’ बन्ने लाइनमा पुग्छ । यही कारणले देउवा जसरी पनि संसदीय दलको नेता बन्ने प्रयासमा छन् ।

तर, कांग्रेसभित्र प्रत्यक्षतर्फको समीकरण कस्तो छ ? अब यसबारे विश्लेषण गरौं ।

प्रत्यक्ष जितेका कुल २३ सांसदमध्ये देउवाको पक्षमा उनीसहित ८ जनामात्रै छन् । यसमा पनि दुईजना ढलपल छन् । देउवाको पक्षमा रहेका ८ सांसदहरुमा शेरबहादुर देउवा, प्रदीप गिरी, देवेन्द्रराज कँडेल, सीताराम मेहता, ज्ञानेन्द्रबहादुर कार्की तेजुलाल चौधरी, र प्रमोदकुमार यादव र भरतकुमार साह हुन् ।

यी ८ सांसदमध्ये पनि प्रदीप गिरी र भरतकुमार साहले देउवालाई सघाउने/नसघाउने स्पष्ट नभएकाले देउवाको पक्षमा उनीसहित ६ भोटमात्रै सुनिश्चित छ अहिलेसम्म ।

प्रत्यक्षतर्फ चुनाव जितेका सांसदमध्ये रामचन्द्र पौडेलको पक्षमा १० सांसद छन् । पौडेल समूहमा रहेका सांसदहरुमा महामन्त्री डा. शशांक कोइरालासहित प्रकाशमान सिंह, अमरेशकुमार सिंह, डा. नारायण खड्का, सञ्जयकुमार गौतम, मोहम्मद अफताब आलम, डा. मिनेन्द्र रिजाल, देवीप्रसाद तिम्सिना, राजनकुमार केसी र मोहन आचार्य छन् ।

देउवा समूह र पौडेल समूहको वीचमा कांग्रेसभित्रको तेस्रो धार अर्थात सिटौला पनि छ । सिटौला समूहको मत थोरै भए पनि निर्णायक हुने देखिन्छ ।

सिटौला समूहबाट प्रत्यक्ष चुनाव जित्ने कांग्रेस सांसदहरुमा गगन थापा, भीमसेनदास प्रधान र उमाकान्त चौधरी तीनजना छन् । यी तीनजनाले पौडेल समूह या देउवा समूह जसलाई सघायो, उसैको पल्ला भारी हुन सक्छ ।

त्यसो त कांग्रेसबाट विजयी सांसदको सूचीमा विजयकुमार गच्छदार र अभिषेकप्रताप साह पनि छन् । भर्खरै कांग्रेस बनेका उनीहरु देउवा पक्षमा लाग्छन् या पौडेल पक्षमा भन्ने अहिल्यै खुलिसकेको अवस्था छैन । उनीहरु जता पनि जान सक्छन् ।

यसरी प्रत्यक्षतर्फ लगभग अल्पमतमा परिसकेका देउवालाई अब समानुपातिकतर्फको नतिजाले मात्रै बहुमतमा पुर्‍याउन सक्छ । तर, समानुपातिकमा कुल ४० सांसद पाएको कांग्रेसभित्र ६०/४० को भागवण्डा गर्नुपर्ने बाध्यतामा छन् देउवा । यसरी भागवण्डा गर्दा देउवाको बहुमत धरापमा पर्न सक्छ ।

बहुमत पाउनका लागि देउवाले एकलौटी समानुपातिक सभासद छान्ने स्थिति पनि छैन । किनभने, समानुपातिकमा रोलक्रम मिच्ने सुविधा कानूनले दिएको छैन । यो अवस्थामा समानुपातिकको फलामे बार देउवाका लागि निकै नै चुनौतीपूर्ण हुन सक्छ ।

गुटगत समीकरण

रोचक के छ भने कांग्रेसभित्र संसदीय दलको रस्साकस्सीमा पौडेल समूहका तर्फबाट एक जनामात्रै दाबेदार छैनन् । विगतमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलावीच मतान्तर हुँदा फाइदा उठाएका देउवाले संसदीय दलमा पनि पौडेल पक्षको विभाजनबाट फाइदा उठाउन सक्ने सम्भावना चाहिँ यथावत छ ।

जस्तो- संसदीय दलको नेतामा पौडेल समूहबाट डा. शशांक कोइराला र प्रकाशमानसिंह दुबैले दाबी गरे भने यसबाट देउवालाई फाइदा पुग्न सक्छ ।

अझ, यसमा सिटौला समूहले कसलाई सघाउँछ भन्ने कुराले पनि विशेष अर्थ राख्छ । सिटौला समूहले शशांक र प्रकाशमानको साटो शेरबहादुरलाई समेत सघाइदिन सक्ने सम्भावना रहेको कांग्रेसजनको विश्लेषण छ । र, यसमा विजय गच्छदारको रोजाइले पनि अर्थ राख्न सक्छ ।

देउवाको दोस्रो लक्ष्य- वाम एकता रोक्ने

संसदीय दलको नेता जितिसकेपछि वा त्यसभन्दा अघि कांग्रेस सभापति देउवाको दोस्रो लक्ष रहनेछ- सम्भावित वाम एकतालाई रोक्ने ।

वाम एकतालाई रोक्न सकियो भने पाँच वर्षभित्र प्रधानमन्त्री बन्न पाइहालिन्छ कि भन्ने देउवामा अझै आशा जिवितै छ । अझ यसमा देउवाको भन्दा पनि उनलाई प्रधानमन्त्री बनाएर सत्ताको स्वाद लिन चाहने ‘स्वार्थ समूहहरु’ को आकांक्षाले बढी काम गरिरहेको स्रोतको दाबा छ ।

कांग्रेस नजिकका विश्लेषक भन्छन्- ‘देउवा संसदीय दलको नेता बने भने उनले वाम एकता रोक्ने भरमग्दुर प्रयास गर्नेछन् । तर, संसदीय दलको नेतामै हारे भने उनले वाम एकता रोक्ने खासै जोडबल गर्ने छैनन् र पार्टीमा विस्तारै ‘प्यासिभ’ बन्न थाल्नेछन् ।

पार्टी सभापति नि ?

निर्वाचनमा व्यहोरेको हारसँगै देउवाले पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग कांग्रेसभित्र उठ्न थालिसकेको छ । तर, देउवाचाहिँ यसको उल्टो पार्टी सभापति त के, संसदीय दलको नेतासमेत हस्तान्तरण गर्न तयार छैनन् ।

देउवाले आगामी महाधिवेशनपूर्व पार्टी सभापति छाड्लान् कि नछाड्लान् ? यो प्रश्नमा कांग्रेसका एक जानकार भन्छन्- ‘अर्को महाधिवशेनअघि देउवाले नेतृत्व हस्तान्तरण गर्ने सम्भावना खासै देखिँदैन, बरु अढाइ वर्षपछि हुने महाधिवेशन चाहिँ एक वर्ष अगाडि नै सर्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment