Comments Add Comment

विपिन र नाजिरको पारिश्रमिक बढ्ला कि घट्ला ?


नायक विपिन कार्कीले चलचित्र ‘जात्रा’ हिट भएपछि पारिश्रमिक बढाए । निर्देशक निश्चल बस्नेतले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा उनले १८ लाख पारिश्रमिक लिएको चर्चा समेत चल्यो । विपिन पनि महंगो पारिश्रमिकमा काम गर्ने कलाकार बने ।

अहिले, चलचित्र चलोस् या नचलोस्, कलाकारको पारिश्रमिक चर्चा भने चलेको छ । तर, यो साता रिलिज भएको चलचित्र ‘लालपूर्जा’ बक्स अफिसमा पूर्ण रुपमा असफल भएपछि नायक विपिन कार्कीको महंगो पारिश्रमिक अब के हुन्छ भन्ने बहस सुरु भएको छ ।

अहिले, एउटा चलचित्र चल्ने वित्तिकै कलाकार आफूलाई महंगो सावित गर्न मरिहत्ते गर्छन् । तर, तीनै कलाकारका चलचित्रले निर्माताको घर घडेरी डुबाएको तितो यथार्थ सबैसामु छर्लङ्ग छ ।

नायक नाजिर हुसेनको मुख्य भूमिका रहेको चलचित्र ‘राज्जा रानी’ पनि असफल भयो । करोड बढी बजेटमा निर्माण भएको चलचित्रले गतिलो व्यापार नगर्दा निर्माता एम के पौडेललाई ठूलै रकम घाटा लाग्यो । तर, नायक नाजिर हुसेन आफूले केहि निर्माताको चलचित्र निशुल्क समेत खेलेको बताउन पछि पर्दैनन् । उनले, आफूले चलचित्रका लागि पारिश्रमिक डिमाण्ड नगरेको समेत बताएका छन् । तर, पनि नाजिर महंगिएको चर्चा चलचित्र वृत्तमा चलेको केहि समय भयो ।

केहि समय अगाडि एक कमेडी चलचित्रका लागि नाजिरलाई अफर गर्दा उनले चर्को पारिश्रमिक मागेकै कारण उनलाई सो चलचित्रमा नलिइएको खबर अनलाइनखबरमा प्रकाशन भएको थियो । ‘गाँठो, राज्जा रानी’को असफलताले नाजिर सोलो हिरोको रुपमा चल्दैनन् भन्ने प्रमाणित भैसकेको छ ।

यस्तो अवस्थामा अब यी कलाकारले आफ्नो पारिश्रमिक बढाउलान् या घटाउलान् ? चलचित्र चलोस् या नचलोस्, कलाकारविच पारिश्रमिक बढाउने होडबाजीले निर्माता भने मर्कामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment