
बलिउड–हलिउडमा फिल्म प्रदर्शनमा आउनुपूर्व नै विभिन्न माध्यमबाट लगानी उठाएको खबर नौलो होइन । अहिले नेपाली फिल्ममा पनि यो ‘ट्रेन्ड’ सुरु भएको छ ।
भोलिबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कान्छी’ ले पहिल्यै आफ्नो लगानी सुरक्षित गरिसकेको निर्माण स्रोतले बतायो । फिल्म करिब दुई करोड रुपैयाँको लगानीमा बनेको हो ।
फिल्मले ओभरसिज र एचडी राइट तथा ब्रान्ड पार्टनर विक्री गरेर लगानी झण्डै दुई करोड उठाइसकेको बताइएको छ । निर्माण स्रोतका अनुसार ब्रान्ड पार्टनरबाट ८० लाख रुपैयाँ आर्जन भएको छ ।
यसैगरी, ओभरसिज र एचडी राइटबाट एक करोडभन्दा बढि प्राप्त भएको छ । यो फिल्मको ओभरसिज राइट अहिलेसम्मकै उच्च रकममा विक्री भएको दाबी पनि निर्माण स्रोतको छ ।
आकाश अधिकारी निर्देशित यो फिल्मको निर्माण अभिनेत्री श्वेता खड्काले गरेकी हुन् । फिल्ममा दयाहाङ राई र श्वेताको प्रमुख भूमिका रहेको छ । फिल्मले देशभरका सबैजसो सिंगल स्क्रिन र मल्टिप्लेक्समा पनि राम्रो शो पाएको श्वेताले बताइन् ।
फिल्मको ‘चरी चट्ट परी भुरुरु’ बोलको गीत सुपरहिट भइसकेको छ । यो गीतले यूट्यूवमा एक करोडभन्दा बढि भ्यूज पाएको छ ।
आफूले कुनै पनि कुरामा सम्झौता नगरिकन मनोरञ्जनमुलक स्तरीय फिल्म बनाएको श्वेताले अनलाइनखबरलाई बताइन् ।