Comments Add Comment

‘चौकीदार’ भन्दा मलाई गुनासो छैनः मुख्यमन्त्री भट्ट

मेरो वर्गका नेपालीहरु ९५ प्रतिशत छन्

६ फागुन, धनगढी । रोजगारीको सिलसिलामा जीवनको महत्वपूर्ण १६ वर्ष भारतमा बिताएका त्रिलोचन भट्टले आइतबारदेखि प्रदेश ७ को मुख्यमन्त्रीको सम्हालेका छन् । उनी विगतमा भारतमा चौकीदारी काम गर्थे, आज मुख्यमन्त्री बन्न सफल भएका छन् ।

घरका जेठा छोरा भट्टले १४ वर्षको उमेरमा नै भारततिर लागे । त्यसक्रममा उनले चौकीदारी पनि गरे । प्रवासमा रहँदै माओवादीमा आवद्ध भएका भट्टले प्रदेशसभा सदस्य हुँदै प्रदेश ७ को पहिलो मुख्यमन्त्री बन्ने अवसर पाएका छन् ।

मुख्यमन्त्री भट्ट भन्छन्, ‘आफ्नो गाउँठाउँ परिवार छाडेर जानु बाध्यता थियो । तर, अब हाम्रा युवाहरुलाई स्वेदशमै काम गर्ने र आफ्नो श्रम खर्चिने वातावरण बनाउनुपर्छ ।’

साथै चौकीदार भनेर आफूलाई चिनाउँदा दुःख होइन, गर्व लाग्ने गरेको उनले सुनाए ।

मुख्यमन्त्री भट्टसँग गरिएको संक्षिप्त कुराकानीः

प्रदेश सरकारको प्राथमिकतामा के के छन् ?

मन्त्रालय चलाउनु नियम कानुनहरु बनाउनु पर्नेछ । त्यससँगै राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गर्ने र केन्द्रसँग समन्वय गरेर काम तीव्र बनाउने निर्णय पनि गरेका छौं ।

कृषि र पर्यटनको विकाससँगै सुशासन दिने र भ्रष्टाचार शुन्य बनाउने हाम्रो प्राथमिकता छ । त्यसअनुसार काम पनि सुरु गरेका छौं । हामीले कृषिलाई प्राथमिकतामा राखेको हुनाले प्रत्येक जिल्लामा माटो जाँचको व्यवस्था गर्ने योजना छ ।

तर, स्रोत साधनको कमीसँगै भौगोलिक विकटता पनि छ । कतिको असहजता छ ?

अप्ठ्यारा छन्, अप्ठ्यारोसँग जुध्ने नै हो । सजिलो त के नै छ र ? हाम्रो देश गरिव छ, व्यवस्था सही तरिकाले चलेको छैन । यसले पनि केही अस्तव्यस्त भ, अभाव छ । तर, योसँग जुधेर जाने हो । अहिले स्थायी सरकार दिने भनेर अघि बढेका छौं । साधन स्रोत जुटाउँदै जान्छौं, जति हामीसँग छ, त्यसलाई सही तरिकाले परिचालन गर्छौं । मलाई लाग्छ, यसो गर्न सक्यौं भने केही न केही परिणाम दिन सक्छौं ।

चुनावअघि मात्र होइन, चुनाव जितेपछि पनि तपाई मुख्यमन्त्रीको दावेदारका रुपमा देखिनुभएको थिएन । एकाएक तपाईको नाम आयो नि ?

आश्चर्य त केही भएको होइन । म २७ वर्षदेखि लगातार यो पार्टीमा काम गरिरहेको छु । अरु जस्तो धेरै चर्चामा नआाएको मात्र हो । पार्टीको अनुशासित कार्यकर्ताको जिम्मेवारी नै के रहन्छ भने पार्टीले छलफलमा कुरा ल्याएपछि निर्णय गर्ने हो ।

जब वाम गठबन्धनमा हाम्रो पार्टीले प्रदेश ६ र ७ मा मुख्यमन्त्री पाउने भन्ने सहमति भयो । त्यसपछि पार्टीले जिम्मेवारी दिएको छ । सर्वहारावर्गको पार्टीले सर्वहारावर्गलाई नै सत्ता चलाउने जिम्मा दिएको छ । पार्टीले जे गरेको छ, ठीक छ ।

तपाईले विगतमा भारतमा गएर चौकीदारी गरेका कुराहरु आए । यो कति सत्य हो ?

गरिबी हटाउन जुन प्रकारको व्यवस्था हुनुपथ्र्यो, शिक्षाको व्यवस्था हुनुपथ्र्यो, दुरदराजमा पनि सरकारको अनुभूति हुनुपथ्र्यो । तर, त्यो विगतका सरकारहरुले त्यो गर्न सकेनन् । र, हामी पनि आफ्नो गाउँठाउँ परिवार छाडेर जान बाध्य भएका हौं ।

त्यहाँ गएपछि हामीले जुन पीडा भोग्यौं, त्यो अलाई भोग्न दिनुहुन्न । सत्ता परिर्वतन गरेर भएपनि जनतालाई विकास र आफ्नै देशमा काम गर्ने अवसर दिनुपर्छ भन्ने उद्देश्यसहित पार्टीमा लाग्यौं, संघर्ष गर्‍यौं र त्यो आज सफल पनि भएको छ ।

भोलिका दिनमा हाम्रै देशमा रोजगारीको व्यवस्था गर्नुपर्छ । जे चिज हामीसँग छ, त्यसलाई जनता र देशका लागि लगाउनुपर्छ । यसअनुसार काम गर्न सकिन्छ ।

तर, रोजगारी सिर्जना त आजको भोलि हुँदैन, क्रमश होला । तर, रोजगारीका लागि भारत जाँदादेखि २/४ पैसा कमाएर फर्किँदा पनि दुःख पाउनु पर्ने अवस्था छ । यसलाई त तत्काल सम्बोधन गर्न सकिएला नि ?

यो सिस्टम बनाउने कुरा हो । सिस्टमले काम भयो भने एकै पटक नभएपनि क्रमशः हुँदै जान्छ । मैले कृषि र पर्यटनमा जोड दिएको छु । हामीसँग भएको जडिबुटी र जलस्रोतलाई सही रुपमा प्रयोग गर्नु पर्नेछ । कमसेकम थेरै भएपनि सुरुवात हुन सक्यो भने धेरै कुरा समाधान गर्न सकिन्छ, युवाहरुलाई यसमा जोड्न सकिन्छ ।

अर्को कुरा, पेशालाई इज्जतिलो बनाइदियो भने सबै लाग्छन् । हाम्रै नेपालीहरु हुन्, अरुको देशमा गएर १२/१४ घन्टा काम गर्न पनि तयार हुन्छन् तर, देशमा ४ घन्टा पनि काम गर्न तयार छैनन् । किन भयो भन्दा आफ्नो ठाउँमा काम गर्‍यो भने हेलाको पात्र बनाइन्छ, हामीले देखेका छौं । कृषिको काम गर्दा हेलाको पात्र बनाउने गलत चिन्चनबाट हामी माथि उठ्न जरुरी छ । मलाई लाग्छ, पेशलाई इज्जतिलो बनायौं र सरकारले काम गर्ने वातावरण बनायो भने सफल हुन्छ र आफ्नै देशमा आफ्नो श्रम लगानी गर्न हाम्रा युवाहरु तयार हुन्छन् ।

पेशालाई इज्जतिलो बनाउने कुरा गर्नुभयो । तपाईलाई चिनाउँदा अहिले पनि मानिसहरुले हिजो चौकीदार थियो, आज मुख्यमन्त्री भयो भन्छन् । यसमा कुनै गुनासो छ ?

यो गर्वको कुरा हो । म जत्तिको र मेरो वर्गका मानिसहरु ९५ प्रतिशत नै होलान् । उनीहरुको प्रतिनिधि पात्र बनाएका छन् भने मलाई गर्व नै लाग्छ, कुनै गुनासो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment