Comments Add Comment

प्राविधिकले फोटो हराइदिएपछि भूकम्पपीडितले अनुदान पाएनन्

प्राविधिक भन्छन् : कम्प्युटरको भाइरसले खाइदियो

फाइल तस्वीर

१ चैत, गोरखा । प्राविधिकले फोटो हराइदिएपछि गोरखाको अजिरकोट गाउँपालिका-५ मुच्चोकटारका ६० घर भूकम्पपीडितले अनुदानको दोस्रो किस्ता पाउनबाट बन्चित भएका छन् ।

अनुदान रकम सिफारिसका लागि खिचिएको भूकम्प पीडितको घरको फोटो प्राविधिक रत्नप्रसाद पोखरेलले हराएकमा हुन् । भवन डिभिजन कार्यालयमा फोटो नपुगेपछि उनीहरुको नाममा रकम निकासा भएको छैन ।

‘दोस्रो किस्ताको लागि र्फम भर्‍यौ, प्राविधिक आएर घरको फोटो पनि खिच्नुभयो,’ स्थानीय जीवनाथ ढकालले भने, ‘चार महिना पछि पैसा आयो होला भनेर सदरमुकाम गयौं तर पैसा आउनु त कता हो कता जिल्ला समन्वय समितिमा फाइल समेत पुगेको रहेनछ ।’

जिससमा फाइल नभएपछि बुझ्नका लागि उनीहरु भवन डिभिजन कार्यालय पुगे । ‘भवन डिभिजन पुगेर सोधेको हाम्रो त कसैको पनि फोटो आएको छैन भन्नुभयो, प्राविधिकले फोटो नै नपठाएको रहेछ,’ ढकालले भने ।

फोटो नभएकै कारण उनीहरुको फाइल चार महिनादेखि भवन डिभिजनका थन्किएर बसेको छ । लापरवाही गरेर फोटो हराए पनि जानकारी नगराएको भन्दै पीडितहरुले प्राविधिक प्रति आक्रोश व्यक्त गरेका छन् ।

‘घर, शौचालय सबै बनिसक्यो तर अहिलेसम्म दोस्रो किस्ता पाएको छन,’ स्थानीय यानु माया ढकालले भनिन्, ‘प्राविधिकले अलपत्र बनायो, केटी मान्छे किस्ताकै लागी धाउँदा धाउँदा निकै समस्या भएको छ ।’ प्राविधिकका कारण दुख पाएको भन्दै उनले आक्रोस समेत व्यक्त गरिन् ।

प्राविधिककै लापरवाहीका कारण भूकम्प पीडितहरुले बिभिन्न समस्या भोग्नुपरेको गुनासो नरनाथ देवकाटाको छ । ‘हाम्रो मात्र होइन करिब दुई सय घरको फोटो हराइदिएको रहेछ,’ उनले भने, ‘हामी गएर भवन डिभिजनमा उजुरी दिएपछि कार्यालयले प्राविधिक पठाएर फोटो खिचेर लगेको छ अब कहिले पैसा आउँछ थाहा छैन ।’

प्राविधिक रत्नप्रसाद पोखरेलले भने कम्प्युटरमा राखेको फोटो डिलिट भएको बताए । ‘मैले हराएको होइन, फोटो खिचेर पेन ड्राइभमा लगेको थिए, कार्यालयको कम्प्युटरका भाइरसले खाइदियो, रिकभर गर्दा सबै फोटो रिकभर हुन सकेन,’ उनले भने । फोटो हराएकाहरुको पुन फोटो खिचेर काम भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment