३ बैशाख, काठमाडौं । इन्धन बोक्ने ट्यांकभित्र लुकाएर लागूऔषध गाँजा तस्करी हुने गरेको खुलेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले ना ४ ख ५३६८७ नम्बरको ट्यांकरभित्र क्याबिनमा १६० केजी गाँजाको चिप्पडसहित दुई जनालाई पक्राउ गरेसँगै गाँजा तस्करीको यो शैली सार्वजनिक भएको हो ।
प्रहरीका अनुसार ७ वटा प्लाष्टिकको बोरामा प्याक गरेर गाँजा तस्करी गरिएको हो ।
पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ का २२ वर्षीय सोमबहादुर थोकर र कैलाश गाउँपालिका–२ का २६ वर्षीय इमानसिंह स्याङ्बो छन् ।
उनीहरुलाई काठमाडौंको चन्द्रगिरी–२, झ्याप्ले खोलास्थित सडक किनारबाट पक्राउ गरिएको ब्यूरोका प्रमुख डिआईजी ठूले राईले बताए ।
उनका अनुसार गाँजा सर्लाहीको मलंगवा हुँदै भारततर्फ निकासी गर्न लागिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेका दुई जना लोमो समयदेखि गाँजाको कारोबारमा संलग्न रहेको समेत खुलेको ब्यूराले जनाएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।
प्रतिक्रिया 4