Comments Add Comment

सिन्धुपाल्चोकका स्थानीय तहमा बेथितिः कामै नगरी भुक्तानी, अनुदानको पैसाले वनभोज

तत्काल असुल गर्न महालेखाको निर्देशन


३ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका स्थानीय तहमा करोडौ रुपैयाँ अनियमितता भएको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७३/७४ मा गरेको लेखापरीक्षणका क्रममा जिल्लाका विभिन्न स्थानीय तहमा अनियमितता भएको निष्कर्ष निकालेको हो । महालेखाले करोडौं बेरुजु रहेको र त्यो तत्काल असुल गर्न निर्देशन समेत दिएको छ ।

१२ स्थानीय तह मध्ये बाह्रविसे नगरपालिकाको सबैभन्दा बढी बेरुजु देखिएको छ । बाह्रविसे नगरपालिकाको ७ करोड ९७ लाख १९ हजार बेरुजु देखिएको छ ।

सुनकोशी गाउँपालिका ४७ लाख ६४ हजार, हेलम्बु १५ लाख १४ हजार, त्रिपुरासुन्दरी ५१ लख ७४ हजार,लिंसखुपाखरा ८८ लाख ५३ हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

तर नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा भने जनप्रतिनिधि आउँनु अगाडिकै बेरुजु रहेको र यसलाई तत्काल राफसाफ गर्न शुरु गरिएको बताउँछन् ।

त्यसैगरी भोटेकोशी गाउँपालिका ४ करोड ४५ लाख ९६ हजार, बलेफी ३२ लाख २० हजार, पाँचपोखरी थाङपाल २६ लाख ७८ हजार,जुगल ३९ लाख ९९ हजार, इन्द्रावती १ करोड ४५ लाख ५ हजार,मेलम्ची ५३ लाख ६३ हजार र चौतारा नगरपालिकाको ४२ लाख बेरुजु छ ।

स्थानीय तहले विभिन्न सामग्री खरिद गर्दा अनियमितता भएको समेत महालेखाको प्रतिवेदनमा भनिएको छ । प्रयोजन नै नखुलेको शीर्षकमा समेत स्थानीय तहले लाखौं खर्च गर्ने गरेको देखिएको छ । मेलम्ची नगरपालिकाले खर्च लेखेको ३ लाख १५ हजार ६ सय ७२ मध्ये एक आयल स्टोरबाट डिजेल खरिदबापत १ लाख ४८ हजार खर्च लेखिए पनि डिजेल कुन प्रयोजनका लागि खरिद गरिएको प्रष्ट नभएकाले प्रमाण पेश गर्न समेत नगरपालिकालाई महालेखाले भनेको छ ।

मेलम्ची नगरपालिकाले नै एक कार्यक्रमका लागि फोटोकपीमा मात्रै ४० हजार सकेको छ । यति मात्रै होइन, नगरपालिकाले कामै सम्पन्न नभए पनि भुक्तानी दिएको छ ।

एक फर्मलाई आय लेखा जडान कार्यका लागि रु. २ लाख ३४ हजार १४० रुपैयाँ कार्य सम्पन्न प्रतिवेदनवेगर झुक्तानी दिएकाले त्यसलाई रद्द गर्न महालेखाले निर्देशन दिएको छ ।

एउटा शीर्षकमा दिएको रकम अन्य शिर्षकमा समेत स्थानीय तहले खर्च गर्ने गरेको महालेखाले औंल्याएको छ । बाह्रविसे नगरपालिकाले एउटा संस्थालाई दिएको रकम बनभोज र रमाइलोमा सकेको छ । महिला लक्षित कार्यक्रमअन्तर्गत एक बचत तथा ऋण सहकारी संस्थालाई रु २ लाख अनुदान उपलव्ध गराएकामा उक्त संस्थाले साधारणसभा र वनभोज कार्यक्रम गरी रु. ५३ हजार ५ सय रकम खर्च गरेको देखिएकोले असुल गर्न महालेखाले भनेको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिकाले स्थानीय निकाय खारेपछि पनि नेपाल बैंक लि. चौतारामा रहेको पुँजीगत खाताबाट एक व्यक्तिको नाममा चेककाटी १ लाख ४१ हजार झिकेको र सोको प्रयोजन नखुलेकाले दाखिला गरी प्रमाण पेश गर्न महालेखाले निर्देशन दिएको छ ।

अन्य स्थानीय तहको तुलनामा लिसंखुपाखर गाउँपालिकामा बढी अनियमितता भएको देखिएको छ । एक जना प्राविधिकलाई पारिश्रमिक वापत ९० हजार भुक्तानी गरेकोमा भर्पाइ नभएकाले तत्कालै असुल गर्न महालेखाले भनेको छ ।

बेरुजु र अनियमितता मात्रै होइन, १२ स्थानीय तहमा पेश्की पनि लाखौं देखिएको छ । हेलम्बु गाउँपालिकामा विगत देखि कै २७ जनाको नाममा १५ लाख पेश्की देखिएको छ । सुनकोशी गाउँपलिकामा २९ जनाको नाममा १३ लाख बढी पेश्की देखिएको छ ।

लिसंखुपाखरमा ६३ जनाको नाममा ३१ लाख, भोटेकोशी गाउँपालिकामा भने दुई जनाको नाममा ३ करोड ४१ लाख,बलेफी ५ जनाको नाममा ५ लाख १५ हजार, पाँचपोखरी गाउँपालिकामा ३७ जनाको नाममा २१ लाख बढी पेश्की देखिएको महालेखाको प्रतिवेदनमा भनिएको छ ।

त्यसैगरी जुगल गाउँपालिकामा १५ जनाको नाममा ७ लाख ५१ हजार, इन्द्रावती ४३ जनाको नाममा १६ लाख ८८ हजार, मेलम्ची नगरपालिकामा ६७ जनाको नाममा ३६ लाख ५७ हजार, बाह्रविसे नगरपालिकामा ७ करोड पेश्की छ । चौतारा नगरपालिकामा ४७ जनाको नाममा ८ लाख ४७ हजार पेश्की देखिएको छ ।

गाउँपालिका र नगरपालिकामा जनप्रतिनिधि आउनु अगाडिको कारोबारमा यस्तो अवस्था देखिएको छ । जनप्रतिनिधि आएपछि जम्मा दुई महिना मात्रै जनप्रतिनिधिले स्थानीय तह सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment