Comments Add Comment

होमस्टेले बदल्यो अयोध्यापुरीको जीवनशैली


८ असार, चितवन । झण्डै तीन वर्ष अगाडि माडी अयोध्यापुरीका स्थानीयले सञ्चालनमा ल्याएको होमस्टेले आर्थिक उपार्जन त गराएको छ नै, आफ्नो संस्कृती, कला र परम्पराको समेत संरक्षण र प्रचार प्रसार गरिरहेको छ । होमस्टे सञ्चालनअघिसम्म विकट लाग्ने माडीको शिवद्वार क्षेत्रमा अहिले दिनहुँ जस्तो पाहुनाहरु आउने हुँदा चहलपहल बढेको छ । होमस्टेमा आउने पाहुनाहरुको स्वागत, सत्कार, खानपीन, सांस्कृतिक कार्यक्रमका लागि स्थानीयबासी निकै व्यस्त बन्ने गरेका छन् ।

२०७२ माघबाट सुरू भएको चितवन माडीको अयोध्यापुरी मध्यवर्ती सामुदायीक होमस्टे आउने पर्यटकको संख्या बर्सेनी बढ्दै गएको छ । समूहमार्फत ११ वटा घरमा होमस्टे सञ्चालन गरिएको छ । प्रत्येक घरमा दुई वटा कोठा होमस्टेका लागि छुट्टाइएको छ । बजारको कोलाहलपूर्ण वातावरणमा बसिरहेका मानिसहरु फुर्सदको समयमा माडीको होमस्टेमा आनन्द लिन जाने गरेको पाइन्छ । होमस्टेमा मासु खाना खाएको २ सय ५० र खाजाको एक सय रुपैयाँ लिने गरेका छन् भने, बेडको प्रति व्यक्ति पाँचसय रुपैयाँ लिने गरिएको अयोध्यापुरी मध्यवर्ती सामुदायीक होमस्टेका अध्यक्ष मोहन बहादुर पुनमगर बताए ।

सांस्कृतिक कार्यक्रम गरेको दुई हजार रुपैयाँ लिने गरिएको छ । यस मार्फत आफ्नो परम्परागत संस्कृतीको संरक्षणमा टेवा पुगेको अध्यक्ष मगरले बताए । हरेक होमस्टेमा सोलारको व्यवस्था छ भने सबै रुममा तातो चिसो पानीको समेत व्यवस्था गरिएको छ । यो होमस्टे माडी नगरपालिका वडा नम्बर ८ मा पर्दछ ।

साढे २ बर्षको समय अवधिमा ८ हजार बढी पर्यटक होमस्टेमा आएको अयोध्यापुरी मध्यवर्ती सामुदायीक होमस्टेका अध्यक्ष पुन मगरले जानकारी दिए । सबै खर्च कटाएर ४० लाख नाफा गरेको पुनको भनाई छ । विदेशीभन्दा स्वदेशी पर्यटकहरु बढी आउने गर्दछन् यहाँ । गएको असोजदेखि विदेशी पर्यटक पनि फाट्ट–फुट्ट आउने गरेका छन् ।

‘राष्ट्रिय निकुन्जबाट पीडित हामी अहिले तिनै बन्यजन्तु देखाएर पर्यापर्यटनको संरक्षणमा जुटेका छौं,’ अध्यक्ष पुनमगरले भने, ‘होमस्टे सञ्चालन भएपछि राम्रो आम्दानीको स्रोत भएको छ, जीवनस्तर र दैनिकी पनि फेरीएको छ ।’

स्थानीय गौमाया पुनले भनिन्, ‘होमस्टे सञ्चालन भएपछि बाटो बन्यो, बिजुली पनि आयो, खुसी छौं ।’

होमस्टे सोचेभन्दा सफल भएको उनले बताइन् । आजभोलि दिनचर्या आफ्नो गाउँमा आउने पाहुनाहरुलाई स्वागत सत्कार र सेवामा नै वित्ने गरेको पुनको भनाई छ ।

होमस्टेलाई चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती उपभोक्ता समिति, नगरपालिका, तराई भू–परिधी कार्यक्रम (ताल) र बिभिन्न संघ सस्थाले सहयोग गरेका छन् । माडी संरक्षित वन्यजन्तु बाघ, गैंडा, भालु, हात्ती, जरायोलगायत चराचुरुङ्गीको अवलोकनका लागि महत्वपूर्ण क्षेत्र हो भने विभिन्न धार्मिक कुण्ड तथा क्षेत्रले प्रख्यात छ । भारतबाट समेत धार्मिक पर्यटक आएर पूजा गर्ने परशुराम कुण्डसमेत माडीमा रहेको छ ।

चितवन निकुञ्जले सौराहा–पटिहानी र पटिहानी–माडीको पर्यटक पदमार्ग निर्माण गरेपछि माडीमा पर्यटकीय गतिविधिले गति लिएको माडी नगरपालिकाका मेयर ठाकुर ढकाल बताउँछन् । स्थानीयस्तरमै रोजगारको अवसरसँगै पर्यापर्यटनको विकास र संस्कृतिको जगेर्ना गर्न सकिन्छ भन्ने उदाहरणको रुपमा माडीको होमस्टे अघि बढेको मेयर ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment