Comments Add Comment

केही घण्टाअघि सुरुङ बन्द गर्दा ठूलो दुर्घटनाबाट बच्यो मेलम्ची आयोजना

हेलिकोप्टरबाट लिइएको दृश्य

२ असार, काठमाडौं । मेलम्ची आयोजनाको सुरुङभित्र प्राविधिक पठाएर सुपरीवेक्षण गर्नका लागि लागि मंगलबार विहान ११ बजे सुरुङको गेट बन्द गरियो । अम्बाथानबाठ खोलाको पानी खोलातर्फ नै सोझ्याइयो । तर, त्यसको ७ घण्टा नबित्दै मेलम्ची खोलाको मुहान भेगमा ठूलो पहिरो गयो र केही बेर खोला थुनिन पुग्यो ।

उद्घाटन भइसकेपनि मेलम्ची आयोजनामा बाँध र बालुवा छान्ने संयन्त्र (डिसेन्डर) निर्माणको अन्तिम चरणको काम भइरहेकै थियो । खोला थुनिएको पत्तो नपाएका मजदुरहरु काममै व्यस्त थिए ।
तर, साँझ ७ बजेतिर एकाएक मेलम्चीमा लेदो माटो, काठ, ढुंगासहित ठूलो बाढी आएर मेलम्चीको बाँधसहित डिसेन्डर बनेको क्षेत्र ढाक्न पुग्यो । त्यसक्रममा काम गरिरहेका केही श्रमिकलाई बगाएको यकीन भइसकेको छ ।

आयोजनाकाअनुसार अहिलेसम्म चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले आफ्ना तीन कामदार हराएको जानकारी दिएको छ भने हाइड्रोमेकानिकल गेटको काम गरिरहेको भारतीय कम्पनीले पनि ३ जना श्रमिक हराएको बताएको छ ।

स्थानीयले आयोजनामा काम गर्ने २ जना श्रमिक पनि सम्पर्कमा नआएको बताएका छन् । त्यसकाआधारमा आयोजनाले ८ जना श्रमिक बेपत्ता भएको ठहर गरेको छ । बुधबार नेपाली सेनाले हेलिकोप्टोमार्फत आयोजनाका ७६ श्रमिकको उद्धार गरेर काठमाडौं र धुलिखेलमा ल्याइएको छ ।

बाढीले मेलम्चीको हेडवक्र्स क्षेत्रलाई ढुङ्गा, बालुवा र लेदोले पुरेको छ । बाँधमा कति क्षति पुर्‍याएको छ भन्ने यकीन भइसकेको छैन । तर, पानी प्रशोधन गर्ने संयन्त्रमा भने ठूलो क्षति नपुगेको आयोजनाका एक प्राविधिक अधिकारीले जानकारी दिए ।

‘दिनभर हामीले हेलिकोप्टोरबाट अनुगमन गर्‍यौं, सुरुङभित्र क्षति पुगेको छैन भन्नेमा विश्वस्त छौं,’ ती अधिकारी भन्छन्,’तर, बाँधको संरचना त्यहाँ देखिन्छ, तर भौतिक रुपमा कस्तो अवस्थमा छ भन्न गाह्रो छ ।’
आयोजनाले विज्ञप्ति नै जारी गरेर मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको जानकारी दिएको छ । आयोजनाको क्याम्पहरु, उपकरणहरु, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको बताएको छ ।

आयोजना ती प्राविधिकका अनुसार आयोजना मंगलबार सुरुङको गेट बन्द गर्नु सौभाग्य हुन गएको बताए । एक्कसी आएको बढी सुरुङभित्र पसेको भएर हुने क्षतिको अनुमान पनि गर्न नसकिने उनले बताए ।
‘त्यस्तो बाढी सुरुङभित्र पसेको भएर आयोजनाको भविष्यमाथि नै प्रश्न उठ्न सक्थ्यो,’ उनी भन्छन्,’ठूलो दर्घटना त भयो नै, त्यो भन्दा कयौं ठूलो समभावित दुर्घटना संयोगले नै टरेको छ ।’
ती प्राविधिक अधिकारीले केही घण्टाअघि मेलम्चीको सुरुङ बन्द गर्नु सौभाग्य सावित भएको बताए ।

खानेपानी मन्त्रालयका पूर्वसचिव माधव बेल्वासेले पनि यदि मेलम्चीको सुरुङले बाढीको समाना गर्नुपरेको भए धेरै जटिलता थपिने समाजिक सञ्जालमार्फत बताएका छन् । उनले लेखेका छन्,’मेलम्ची सुरूङ परीक्षण सम्पन्न गर्ने क्रममा बाढीको प्रकोपभन्दा एक दिन अगाडि बन्द गर्ने निधो गरिनुमा भगवान पशुपतिनाथको कृपा जस्तो लाग्छ, अहिले सुरूङ सञ्चालनमा हुदों हो त धेरै जटिलता थपिने थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रवीन्द्र घिमिरे

आर्थिक-सामाजिक बिषयमा कलम चलाउने घिमिरे अनलाइनखबर बिजनेसमा कार्यरत छन् ।

ट्रेन्डिङ

Advertisment