+
+
Shares

झलनाथ खनालको वक्तव्यले नेपाल समूहमा खैलाबैला !

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २ गते २१:१८

१ असार, काठमाडौं । थप उपचारका लागि दिल्ली उड्नुअघि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वक्तव्य जारी गर्दै पार्टीलाई फुटबाट जोगाउन अपील गरे ।

जनताको चाहना विपरीत देखिएको गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक इगोका कारण पार्टी गम्भीर संकटमा पुगेको भन्दै उनले भनेका छन्, ‘….त्यसैले टुट–फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडि बढौं भन्ने सबैमा आह्वान गर्न चाहन्छु ।’

तर खनाल दिल्ली पुग्दा नपुग्दै एमालेमा खैलाबैला सुरु भयो । खनालको वक्तव्यलाई अध्यक्ष केपी शर्मा ओली पक्षले ‘हर्षबढाइँ’कै शैलीमा प्रचार गरे भने खनाल आवद्ध भएको माधवकुमार नेपाल समूहका कतिपय नेताले शंकाभाव देखाए ।

केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले त सार्वजनिक रुपमा वक्तव्यमाथि प्रश्न उठाएका छन् । खनालको हस्ताक्षर दुरुपयोग गरी बक्तव्य जारी गर्नु निकै दुखद भएको भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘श्वास प्रश्वासमा समेत गाह्रो भइरहेको अवस्थामा झलनाथ खनालले यस्तो वक्तव्य लेख्ने कल्पना गर्न सकिँदैन ।’

वक्तव्यमा उल्लेखित विचार खनालको विचारसँ मेल नखाने भन्दै उनले अघि भनेका छन्, उहाँ प्लेन चढिसकेपछि यो वक्तव्य आउनु आफैंमा रहस्यमय छ ।’

कार्यकर्तालाई दिग्भ्रमित पार्र्न खोजिएको भन्दै उनले सर्वोच्च अदालतको फैसला, आदेश र विधानको ब्यवस्था बमोजिम खुला संवाद गर्दा एकता हुनसक्ने बताएका छन् ।

एमाले नेता विजय पौडेलले पनि ट्वीटरमा झलनाथ खनालको नाममा अरुले वक्तव्य निकालेर फट्याईं गरेको बताएका छन् । ‘झलनाथ कमरेडको नाममा आफ्नो वक्तव्य निकालेछन् । यस्तो फट्याइँ नगरेको बेस’ उनले लेखेका छन् ।

कतिपय नेताहरुले भने खनालको वक्तव्यमा अनावश्यक विवाद गर्न खोजिएको बताएका छन् । खनालको सचिवालयका एक सदस्यका अनुसार यो वक्तव्यको मस्यौदा भीम आचार्यले गरेका हुन् । तर खनाललाई पढेर सुनाइएको थियो ।

आचार्यले भने खनालले नै तयार पारेको बताए । ‘उहाँको वक्तव्य उहाँ आफैंले तयार पार्नुभएको हो, सचिवालयले सम्प्रेषण गरेको हो’ उनले अनलाइनखबरसँग भने, ‘उहाँको वक्तव्य मैले पनि पढेँ, मलाई त ठीकै लाग्यो ।’

तर माधव समूहकै कतिपय नेताहरुले वक्तव्यमाथि प्रश्न उठाएका छन् नि भन्ने प्रश्नमा आचार्यले भने, ‘पार्टीको दुबै समूहमा उग्रवादीहरु छन् । ओली समूहमा जसरी पनि खेल्नुपर्छ भन्नेहरु छन् भने यतापट्टी जबरजस्ती फुट्नुपर्छ भन्नेहरु छन् । उनीहरु एकताका लागि पहल गर्दैनन्, गर्नेहरुमाथि प्रहार गर्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?