News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि बनेर सत्ता कब्जा गरेको आरोप लगाए।
- कोशी प्रदेश समितिको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उनले कम्युनिष्ट पार्टीको मुख्य वर्गशत्रु अब रास्वपा भएको बताए।
- उनले सरकारको नीति, कार्यक्रम र बजेटले आम जनता र तल्लो वर्गको हित नगरेको तथा करभार माथिल्लो वर्गतर्फ केन्द्रित भएको दाबी गरे।
६ भदौ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाएका छन् ।
पार्टीको कोशी प्रदेश समितिले शनिबार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उनले दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिले नै नेपालको सत्ता कब्जा गरेको आरोप लगाएका हुन् ।
२०६२/६३ को परिवर्तनपछि नेपाली कांग्रेस दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा रहेकोमा अहिले सत्तारुढ दल (रास्वपा) त्यस्तो शक्तिका रूपमा अघि आएको उनको दाबी छ । उनले कम्युनिष्ट पार्टीको मुख्य वर्गशत्रु नै अब रास्वपा रहेको समेत बताए ।
‘हिजो राजतन्त्र रहुञ्जेल हामी मुख्य शत्रु नै भन्थ्यौं । अब अहिले यो संसदीय व्यवस्था छ । संसदीय व्यवस्था भएको हुनाले हामीले मुख्य शत्रु भन्नुभन्दा पनि मुख्य प्रतिद्वन्द्वी भन्छौं, हिजो नेपाली कांग्रेस थियो एकबेलामा,’ खनालले थप भने, ‘खासगरी अब ६२/६३ को परिवर्तनपछिको अवधिमा मुख्य दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि हुन्थ्यो । अहिले त्योभन्दा बढी रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएर प्रकट भएको छ र सत्ता उसको हातमा छ । उसले व्यापक दमन–मर्दन सुरु गरेको छ ।’
सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले आम जनता तथा तल्लो वर्गको हित नगरेको उनको आरोप छ । सरकारका आर्थिक नीतिहरू माथिल्लो वर्गको हितमा केन्द्रित रहेको उनको दाबी छ ।
उनले पछिल्लो निर्वाचनमा कम्युनिस्ट शक्तिले व्यहोरेको पराजय सामान्य हार नभएको बताए । उनले कम्युनिष्ट पार्टीका नेतृत्वले विगतमा गरेका कमजोरीका कारण सर्मनाक हार व्यहोर्नुपरेको बताए ।
बाह्य शक्तिको प्रभाव भएपनि त्यसलाई गौण कारणका रूपमा मात्रै हेर्नुपर्ने उनको भनाइ छ । विगतमा कम्युनिस्ट पार्टीसँग जोडिएका ठूलो संख्याका कार्यकर्ता तथा समर्थकमा राजनीतिक नेतृत्वप्रति व्यापक असन्तुष्टि बढेको उनले बताए ।
‘उसले जुन नीति कार्यक्रम ल्यायो, त्यसले आम जनता, तल्लो वर्गका जनताको हितमा एउटा पनि छैन, नीति । सबै माथिल्लो वर्गको हितमा ल्याएको छ । बजेट ल्यायो, जम्मै माथिल्लो वर्गको हितमा ल्याएको छ । यी कर भारहरू हेर्नुस्,’ उनले भने, ‘यति धेरै कर भारहरू अहिले जनतामाथि थोपरिएको छ, त्यो माथिल्लो वर्गको हितमा मात्रै छ । त्यसो हुनाले यतिबेलाको अवस्थामा वर्गीय रुपले यो मुख्य प्रतिद्वन्द्वी शक्तिको रुपमा चाहिँ हाम्रासामु आएको छ ।’
प्रतिक्रिया 4