+
+
Shares

सीपीसीको वैचारिक स्पष्टता र राजनीतिक अनुशासन अनुकरणीय : खनाल

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २० गते १३:४९

२० असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेपालको विकास र समृद्धिका लागि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को ऐतिहासिक अनुभव, वैचारिक स्पष्टता र राजनीतिक अनुशासन अनुकरणीय रहेको बताएका छन् ।

‘चिनियाँ कम्युनिष्ट पार्टीको १०५ वर्ष: ऐतिहासिक अनुभव र नेपालको विकास’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता खनालले कुनैपनि पार्टी र राज्य सञ्चालनका लागि सही वैचारिक कार्यदिशा, सुदृढ अनुशासन र भ्रष्टाचार विरुद्धको कडा कदम अपरिहार्य हुने उल्लेख गरेका हुन् ।

सीपीसीबारे चर्चा गर्दै नेता खनालले माओत्सेतुङ, देङ सियाओपिङ र सी चिनफिङको नेतृत्वमा चीनले प्रत्येक युगका चुनौतीहरूलाई सफलतापूर्वक सामना गरेको बताए ।

नेता खनालले चीनले विदेशी मोडलको अन्धनुकरण नगरी आफ्नै विशिष्टता र मौलिकतामा आधारित ‘चिनियाँ विशेषतासहितको समाजवाद’ अवलम्वन गरेका कारण ऐतिहासिक सफलता हासिल गरेको उल्लेख गरे ।

तीव्र आर्थिक वृद्धि, गरिबी निवारण र आधुनिक पूर्वाधारको विकास गर्दै सन् २०४९ सम्ममा एक समृद्ध र आधुनिक समाजवादी राष्ट्र निर्माण गर्ने चीनको लक्ष्य विश्व समुदायका लागि विकासको वैकल्पिक मार्गचित्र भएको उनको तर्क छ ।

‘नेपालले वाह्य खाकाहरूलाई हुबहु नक्कल गर्नुभन्दा आफ्नै भूराजनीतिक अवस्था, ऐतिहासिक सांस्कृतिक विरासत र घरेलु यथार्थमा आधारित सामाजिक–आर्थिक मार्गचित्र तयार गर्नुपर्नेछ,’ खनालले जोड दिँदै भने ।

सीपीसीको सफलताबाट नेपालले बलियो राजनीतिक संस्था, दीर्घकालीन स्थिरता र संस्थागत उत्तरदायित्वका पाठहरू सिक्नुपर्ने बताए ।

नेपाल र चीनबीचको सात दशक लामो सम्बन्धलाई ‘शान्तिपूर्ण सहअस्तित्वको अनुपम नमूना’का रूपमा चित्रण गर्दै पूर्वप्रधानमन्त्री खनालले चीन नेपालको भरपर्दो र विश्वासिलो साझेदार रहेको उल्लेख गरे ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा व्यक्त भएको ‘नेपाललाई भूपरिवेष्ठितबाट भू–जडित मुलुक बनाउने’ दृष्टिकोणलाई साकार पार्न बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका आयोजनाहरूलाई तिब्रता दिनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?