२७ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘काष्ठमण्डप डायलग’को तेस्रो श्रृङ्खला कार्यक्रममा खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने र असंलग्न, सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्ने धारणा राखेका हुन् ।
नेपाल–चीन सीमापार रेलवे र ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणलाई तीव्रता दिनुपर्ने उहाले बताए ।
उनले बीआरआई फ्रेमवर्क अघि बढाउने, चिनियाँ लगानी भिर्त्याउने र सन्तुलित व्यापार सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए ।
चीनको विकास मोडल, सामाजिक स्थायित्वबाट नेपालले पाठ सिक्न सक्ने उहाले बताए । खनालले विश्वव्यापी तापक्रम वृद्धिमा नेपालको योगदान निकै न्युन मात्र रहे पनि नेपाल सबैभन्दा बढी जोखिममा परेको उल्लेख गर्दै जलवायु न्यायका लागि आवाज उठाउनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवा बाढीपछि नेपालमा भएको ठूलो धनजनको क्षतिप्रति दुख व्यक्ति गर्दै नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।
जलवायु परिवर्तनको असर कुनै एक देशले मात्र सामना गर्न नसक्ने बताउँदै उहाले नेपाल र चीन दुवैले हिमालयन पारिस्थितिकीय प्रणालीमा मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
मौसम तथा जलविज्ञान सम्बन्धी पूर्वसूचना संयन्त्र बलियो बनाउने, संयुक्त आपत्कालीन अभ्यास गर्ने र विपद् न्यूनीकरणमा साझेदारी गर्ने उनको भनाइ छ ।
उनले कनेक्टिभिटी, व्यापार, लगानी, ऊर्जा, जलविद्युत, कृषि, पर्यटन तथा डिजिटल विकासमा व्यावहारिक सहकार्य विस्तार गर्ने जनाए । विपद् वा बाह्य चुनौती जेसुकै आए पनि चीन सधैँ नेपालको साथमा उभिने उहाको भनाइ छ ।
प्रतिक्रिया 4