Comments Add Comment

वीरगञ्जको आन्तरिक राजश्व कार्यालयद्वारा झण्डै ७ अर्ब राजस्व संकलन

११ साउन, वीरगञ्ज । आन्तरिक राजश्व कार्यालय, वीरगञ्जले गत आर्थिक वर्षमा लक्ष्य भन्दा २७ दशमलव ५९ प्रतिशत बढी राजश्व संकलन गरेको छ ।

कार्यालयले आर्थिक वर्ष ०७४/७५ मा ६ अर्ब ८० करोड १ लाख २३ हजार राजश्व संकलन गरेको छ । ५ अर्ब ३२ करोड ९८ लाख ६६ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएकोमा लक्ष्यभन्दा १ अर्ब ४७ करोड २ लाख ५७ हजार बढी संकलन गरेको हो ।

कर अधिकृत चन्दन कर्णले आर्थिक वर्षको अन्त्यमा आएर कर तिर्ने प्रवृत्तिको अझै अन्त्य नभएको बताए । ‘अझै पनि आर्थिक वर्षको अन्त्यमा आएर कर तिर्ने प्रचलन छ’ उनले भने ‘कर तिर्नु दायित्व हो भनेर बुझेर समयमै कर तिर्ने बानी बसाल्नुपर्छ ।’

आन्तरिक राजश्व कार्यालय वीरगञ्जमा ४५ हजार ३ सय १९ जना सक्रिय करदाता स्थायी लेखा नम्बर (पान) मा दर्ता भएका छन् । तीनैमध्ये ७ हजार ४ सय ५७ करदाता मूल्य अभिवृद्धि कर (भ्याट) मा समेत दर्ता छन् ।

जसमा रोजगारी गर्ने करदाताको संख्या १९ हजार ३ सय ४९ जना रहेको आन्तरिक राजश्व कार्यालय वीरगञ्जका कर अधिकृत सुनिलराज देवकोटाले जानकारी दिए ।

‘अझै पनि मानिसहरु करलाई बोझको रुपमा लिएर करको दायरामा आउनै नचाहने समस्या छ’ कर अधिकृत देवकोटाले भने ‘नियमित रुपमा कर भुक्तानी नगर्ने अनि परेपछि एकैपटक आएर तिर्न खोज्दा विभिन्न समस्या आउने गरेको छ ।’

आन्तरिक राजश्व कार्यालय वीरगञ्जमा आर्थिक वर्ष ०७४/७५ मा ४ हजार २ सय ३१ जना नयाँ करदाताहरु थपिएका छन् जसमध्ये ६ सय ८९ जना भ्याटमा समेत दर्ता छन् ।

छुट सुविधाको उपयोग गर्ने बढ्दै

आर्थिक विद्येयक २०७५ ले विविध कारणले धेरै वर्षदेखि आय विवरण तथा भ्याटको विवरण पेश गर्न नसकेका करदातालाई विशेष छुट सुविधाको व्यवस्था गरेको थियो ।

उनीहरुलाई विगत तीन वर्षको अर्थात् आर्थिक ०७१/७२ देखि ०७४/७५ सम्मको आय विवरण पेश गरी लाग्ने आय कर तिरेमा त्यसअघि तिर्नुपर्ने आय विवरण, कर शुल्क र व्याज जरिवानामा छुट सुविधा दिइएको थियो ।

साथै २०७४ असार मसान्तसम्मको भ्याट विवरण र भ्याट रकम बुझाएमा लाग्ने जरीवाना, शुल्क, व्याज मिनाहाको व्यवस्था गरिएको थियो ।

जेठ १५ गते बजेट भाषणपछि आएको यो सुविधाको उपयोग गरेर १ सय २१ जना करदाताले छुट सुविधा लिएको र अरु करदाताहरु आउने क्रम जारी रहेको कार्यालयले जनाएको छ । त्यसैगरी २६ करदाताले भ्याट छुट सुविधाको समेत उपयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment