Comments Add Comment

प्रज्ञा-प्रतिष्ठानले वर्षभरि के के गर्‍यो ?

१३ साउन, काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानले प्रतिष्ठानका प्रमुख संरक्षक एवम प्रधानमन्त्री केपी शर्मा ओलीलाई आर्थिक वर्ष २०७३/०७४ र ०७४/०७५ का वाषिर्क प्रतिवेदन बुझाएको छ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कुल बजेटको खर्च विवरण, पुस्तक प्रकाशन र तयारी, विभिन्न शाहित्यिक महोत्सव र पुरस्कार वितरण लगायत गतिविधि समटेर तयार पारिएको वाषिर्क प्रतिवेदन प्रतिष्ठानका प्रमुख संरक्षक ओलीलाई बुझाएका हुन् ।

खर्च विवरण

आ.व.२०७४/०७५ मा प्रतिष्ठानका लागि १६ करोडको बजेट पारित भएको थियो । सरकारले १२ करोड र प्रज्ञा-प्रतिष्ठानको आय ३ करोड १० लाख ९२ हजार गरी १५ करोड १० लनख ९२ हजार पुगेको थियो । कुल बजेटमध्य ३ करोड ११ लाख ४४ हजार कार्यालय सञ्चालन र कार्यक्रम कार्यान्वयनमा खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

बाँकी बजेट गोष्ठी, महोत्सव, सम्मेलन, कार्यशाला, सहयोग प्रदान र पुरस्कार वितरणमा खर्च भएको प्रतिष्ठानले विज्ञप्ती निकालेर जानकारी दिएको छ ।
आ.व. २०७३/०७४ मा कुल बजेट १५ करोडमध्ये नेपाल सरकारबाट प्राप्त ११ करोड ५४ लाख ९५ हजार ६१२ रुपयाँ र आफ्नो आय ३ करोड ११ लाख ८ हजार ९६ रुपयाँ रहेको जनाइएको छ । कार्यक्रमका लागि २ मात्र करोड ५७ लाख रुपैयाँ विनियोजन भएको थियो ।

आ.व. २०७३/०७४ मा ५२ वटा अध्ययन-अनुसन्धानका कार्य भएका जनाइएको छ । ५५ वटा गोष्ठी, सम्मेलन र कार्यशाला राजधानी काठमाडौँ र देशका विभिन्न भागमा सम्पन्न भएका प्रतिवेदनमा जनाइएको छ । २१ वटा पुस्तकहरू प्रकाशन भएका थिए भने थप २९ वटा पुस्तकहरू तयार गरी छपाइका लागि प्रेसमा पठाइएको जनाइएको छ । २०७४ असार ९ गते राष्ट्रिय मातृभाषा कविता महोत्सव भएको थियो । महोत्सवमा ४१ मातृभाषाका कविताहरू वाचन गरिएका थिए । आ.व २०७४/०७५ मा ४१ वटा अध्ययन-अनुसन्धान र ग्रन्थ लेखनका कार्य सम्पन्न भएका थिए । ५९ वटा गोष्ठी, सम्मेलन र कार्यशालाहरू भए । २८ वटा पुस्तकहरू प्रकाशित भएका छन् भने ४४ वटा पुस्तकहरू प्रकाशनका लागि छापाखानामा पठाइएका छन् ।

प्रतिष्ठानले आ.व. २०७३/०७४ मा ५० वटा साहित्यिक पत्रिकालाई ५ लाख ५६ हजार सहयोग गरेको वाषिर्क प्रतिवेदनमा उल्लेख छ । २३ जना साहित्यकार, संस्कृतिकर्मी एवम् कलाकारलाई स्वास्थ्योपचारका लागि ५ लाख ५५ हजार सहयोग दिइएको जनाइएको छ ।

राष्ट्रिय प्रतिभा उपचार कोषबाट २०७४ सालमै २३ जना लेखक, कलाकार र संस्कृतिकर्मीलाई ६ लाख असी हजार सहयोग दिइएको थिया भने ५४ वटा साहित्यिक पत्रिकाहरूलाई सहयोग प्रदान गरिएको प्रवेदनमा जनाइएको छ ।

यसै वर्ष नेपाल सरकारबाट निकासा भए अनुसार आजीवन सदस्यहरू मोदनाथ प्रश्रति, प्रा.डा. वासुदेव त्रिपाठी, निरञ्जन (निनु) चापागाई र मञ्जु तिवारी -काँचुली) लाई आजीवन भत्ता प्रदान गरिएको छ ।

मुख्य भवनको पुननिर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २० करोडको बहुवर्षीय योजना स्वीकृत गरी २ करोड उपलब्ध गराएको थियो । आधुनिक छापाखाना खरिदका लागि सरकारले ११ करोड स्वीकृत गर्‍यो र सो छापाखाना खरिद गर्ने प्रक्रिया प्रारम्भ भएको जनाइएको छ । मूलभवनको २० करोड लागतको बहुवर्षीय योजनाअन्तर्गत पुननिर्माण प्राधिकरणबाट आ.व २०७४/०७५ मा प्राप्त ५ करोड पूरै खर्च भएको छ ।

छानो मर्मत, झ्याल, डबली आदिका कामहरू सम्पन्न भएका छन् भने प्रेक्षालय मर्मत अन्तिम चरणमा पुगेका छ । रेक्ट्रोफिटिङ, ढल, शौचालय, एचभीएसी, पोखरी र फोहोरा आदिका कार्य पनि छिटै सम्पन्न हुने उल्लेख गरिएको छ ।

१० करोड ८२ लाखको लागतमा आधुनिक छापाखाना खरिद कार्य सम्पन्न भई सञ्चालनमा आएको छ । भारतीय सहयोगमा निर्मित भवन यसै वर्ष प्रज्ञा-प्रतिष्ठानलाई हस्तान्तरण भएको छ ।

आ.व २०७४/०७५ मै प्राज्ञिक आदान प्रदान एवम् विचार विनिमयका लागि कुलपति गङ्गाप्रसाद उप्रेतीको नेतृत्वमा नेपाल प्रज्ञा-प्रतिष्ठानको एक प्रतिनिधि मण्डल चाइना फेडरेसन अफ लिटरेरी एन्ड आर्ट सर्कल्सको निम्तामा चीन भ्रमण गरेको थियो । प्रा.डा. जीवेन्द्र देव गिरीको नेतृत्वमा अर्को प्रतिनिधि मण्डलले बङ्गलादेशको भ्रमण गरेको थियो ।

कुलपति उप्रेती र प्राज्ञ सभा सदस्य यज्ञराज प्रसाईंले चीनको छेन्दुमा आयोजित चाइना एन्ड साउथ एसिया लिटरेचर फोरममा भाग लिई कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।

कुलपति उप्रेतीले चीन सरकारको सांस्कृतिक ब्युरोको निम्ता र चाइनिज कल्चर ट्रान्सलेसन सपोर्ट नेटवर्कको आयोजनामा दुई देशको प्राज्ञिक विचार विनियममा सहयोग पुर्‍याउन बेइजिङमा आयोजित कार्यक्रममा समेत भाग लिएका थिए ।

आ.व. २०७३/०७४ मा सरकारबाट हीरक वर्ष मनाउन प्राप्त ५० लाखबाट पूर्व कुलपति राष्ट्रकवि माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, पूर्व कुलपति वैरागी काइँला सम्मानित भए ।

पूर्व उपकुलपतिहरू मदनमणि दीक्षित र प्रा.डा. वासुदेव त्रिपाठीलाई सम्मान गरिएको छ भने आनन्ददेव भट्ट, चूडामणि रेग्मी, जसराज किराती, डा. तारानाथ शर्मा, तेजेश्वरबाबु ग्वंग, दीपनारायण मिश्र, नारायणप्रसाद शर्मा, रमा शर्मा, शङ्करनाथ रिमाल र शान्तदास मानन्धरलाई समेत जनही १ लाख रुपैयाँको पुरस्कार प्रदान गरिएको छ ।

आ.व. २०७३/०७४ मा डा. तारानाथ शर्मालाई पृथ्पी प्रज्ञा-पुरस्कार, प्रा.डा. वीणा पौड्याल घिमिरेलाई नेपाल प्रज्ञा संस्कृति पुरस्कार, प्रा.डा. रामावतार यादवलाई नेपाल प्रज्ञा-भाषा पुरस्कार दिइएको थियो ।

विमल निभा (विमलकुमार श्रेष्ठ) लाई नेपाल प्रज्ञा-नेपाली साहित्य पुरस्कार, ध्रुव सापकोटालाई नेपाल प्रज्ञा-नेपाली साहित्य पुरस्कार तथा अब्दुल लतिफ शौक, सोमबहादुर धिमाल, पदम राई र धनबहादुर माझीलाई मातृभाषा साहित्य पुरस्कार प्रदान गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment