चलचित्र ‘रामकहानी’को ट्रेलर सार्वजनिक कार्यक्रममा यसका मुख्य कलाकारहरुले खुबै रमाइलो गरे । तर, मुख्य कलाकारहरुले कमेडी गरिरहँदा यसकी निर्मात्री तथा नायिका पूजा शर्मा भने भावूक देखिइन् ।
कारण, चलचित्रको ट्रेलरले कस्तो प्रतिक्रिया पाउने हो भन्ने चिन्ताले उनलाई सताएको थियो । चलचित्रका मुख्य कलाकारहरु आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, राजाराम पौडेल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतले काम गर्दाको अनुभव सुनाइरहँदा पूजाको आँखामा आँशु छल्किएका थिए । पूजाले आफूलाई सम्हाल्ने कोशिश पनि गरिन् ।
कलाकार जितु नेपालले चलचित्रको नाम केदार घिमिरेका लागि ‘रामकहानी’ नभई ‘दामकहानी’ हुनुपर्ने भन्दै रमाइलो गरे । कलाकार केदार घिमिरेले चलचित्रमा काम गर्दा आनन्द आएको र आफूले खसी समेत ढालेको बताए ।
अर्का कलाकार राजाराम पौडेलले आफ्नो सिन पूजा र आकाशसँग मात्र भएको सुनाए । अर्कोतिर, कलाकार रविन्द्र झा र विल्सन विक्रम राइले पनि यो यूनिटसँग काम गर्दा सहज भएको प्रतिक्रिया दिए ।
चलचित्रको सुटिङ भएपनि-नभएपनि निर्देशक र यूनिटले कुनै तनाव नलिने भएकाले पनि काम गर्न सजिलो भएको उनीहरुको भनाई छ ।
नायिका पूजा शर्माले चलचित्र क्षेत्रलाई नयाँ नयाँ कलाकार चाहिने भएकाले पनि आफ्नो चलचित्रमा नयाँ नायक हुने बताइन् । यता, निर्देशक सुदर्शन थापाले यसलाई हरर चलचित्र भनेर नवुझिदिन आग्रह गरे । उनले, चलचित्र पूर्ण लभ स्टोरी कथामा नै निर्माण भएको सुनाए ।
प्रतिक्रिया 4