हालै बलिउड अभिनेत्री अनुष्का शर्मालाई भारतीयहरुले निकै ट्रोल गरे । भारतीय राष्ट्रिय क्रिकेट टिमको बीचमा उभिएर फोटो खिचाउँदा उनी विवादमा परिन् ।
बेलायत भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीलाई लन्डनस्थित भारतीय नियोगले डिनरका लागि निम्त्याएको थियो । सबै क्रिकेटर एक्ला एक्लै आए पनि कप्तान बिराट कोहलीले पनि पत्नी अनुष्कालाई पनि लिएर आए । डिनरपछि फोटो सेसनमा क्रिकेट खेलाडीहरुको बीचमा अनुष्का उभिएकी थिइन् ।
यो फोटोलाई लिएर भारतीयहरुले आपत्ति जनाएका छन् । उनीहरुले अनुष्काले प्राटोकल मिचेर राष्ट्रिय क्रिकेट टिमको मर्यादामा आँच आउने काम गरेको उनीहरुको टिप्पणी छ ।
यस विषयमा अनुष्का अहिलेसम्म मौन थिइन् । तर, लन्डनबाट भारत फर्केलगत्तै उनले मुख खोलेकी छन् । उनले अनुशासन विपरित कुनै काम नगरेको जिकिर गरिन् ।
‘त्यो फोटोसेसन गाइडलाइनअनुरुप नै थियो,’ उनले भनिन्, ‘यसमा आपत्ति जनाउनुपर्ने केही छैन ।’
उनले भारतीय उच्चआयोगले सपरिवार बोलाएकाले नै आफू बिराटसँग त्यहाँ निम्तो मान्न गएको बताइन् ।
आफ्नो विषयमा भइरहेका ट्रोलबारे जानकार रहे पनि सबैको जवाफ दिँदै हिँड्न नसक्ने उनले बताइन् ।
‘हामी कलाकारहरु हरेक दिन ट्रोल भइरहेका हुन्छौ । कतिलाई जवाफ दिएर साध्ये हुन्छ ?’ उनले भनिन् ।
प्रतिक्रिया 4