६ भदौ, कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने बास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको भन्दै महेन्द्रनगरमा आज (बुधबार) पनि नागरिकहरुले आन्दोलन चर्काएका छन् ।
प्रहरीले वास्तविक अपराधी लुकाउन मानसिक सन्तुलन गुमेका व्यक्तिलाई दोषी देखाएर उम्किन खोजेको उनीहरुको आरोप छ ।
आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेरर प्रदर्शनकारीलाई तितरवितर बनाउने प्रयास गरेको छ । तर, स्वतःस्फूर्त रुपमा आन्दोलनमा उत्रिएका नागरिकहरु ठूलो मात्रामा जम्मा भइरहेका छन् ।
आन्दोलनका कारण बजार व्यवसाय पूर्णरूपमा बन्द भएको छ । आन्दोलनमा उत्रिएका नागरिकहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा गर्न माग गरेका छन् ।
स्थानीय नागरिकहरुले मंगलबार पनि प्रदर्शन गरेका थिए ।
१३ वर्षीया बालिका निर्मलाको हत्यामा संलग्न भएको भन्दै प्रहरीले केही दिनअघि मानसिक सन्तुलन गुमाएका दिलिप सिंह विष्टलाई पक्राउ गरी सार्वजनीक गरेको थियो ।
गत साउन १० गते साथीको घरमा जान्छु भनी निस्केकी १३ वर्षीया निर्मला ११ गते मृत अवस्थामा फेला परेकी थिइन् ।
प्रतिक्रिया 4