Comments Add Comment

आज कृष्णजन्माष्टमी, देशभरका कृष्ण मन्दिरमा घुइँचो

१७ भदौ, काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान कृष्णको पूजा गरी मनाइँदै छ ।

भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमीको अवसरमा देशभरका कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो छ । पाटन कृष्ण मन्दिरमा दर्शन तथा प्रसाद ग्रहण गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी पनि ललितपुर जाँदैछिन् ।

पाटनको प्रसिद्ध कृष्ण मन्दिर, गोठाटारको नवनतधाम, बुढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत संघको कृष्ण मन्दिरमा मेला लागेको छ ।

श्रद्धालुहरुले आज व्रत बसेर भगवान् श्रीकृष्णको पूजा आराधना गरी जन्माष्टमी पर्व श्रद्धा भक्तिपूर्वक मनाउँछन् । श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकाल्ने चलन पनि छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैका मध्यरातमा भएकाले आजको दिनलाई मोहरात्री पनि भनिन्छ ।

भगवान् विष्णुको अवतारको रुपमा वासुदेव र देवकीको कोखबाट जन्मिएका श्रीकृष्णले अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गरेको धार्मिक कथन छ ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई श्रीकृष्णले दिएको उपदेश ‘श्रीमदभागवतगीता’को रुपमा पुजिन्छ । यो हिन्दूहरूको पवित्र धर्मग्रन्थ हो । यो ग्रन्थ धेरै भाषामा अनुवाद भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment