२१ मंसिर,काठमाडौं । संघीय संसदको उद्योग वाणिज्य तथा आपूर्ति र श्रम तथा रोजगार समितिले देशभरका रुग्ण उद्योगहरुको विवरण संकलन गर्ने भएको छ ।
समिति अन्तर्गत गठित उद्योग वाणिज्य तथा आपूर्ति उपसमितिले देशभर सन्चालित र बन्द भएका उद्योगधन्दाको यकिन विवरण संकलन गर्न लागेको हो ।
उत्पादनमूलक उद्योगहरुको विस्तृत विवरण लिएर त्यस्ता उद्योग प्रतिष्ठानलाई सरकारको सहयोगका लागि आवश्यक नीति निर्देशन दिन लागिएको उपसमितिका संयोजक कृष्णकुमार श्रेष्ठ (किसान)ले बताए । यसका साथै स्वदेशभित्रै रोजगारीको क्षेत्र समेत पहिचान गरिने उनले बताए ।
नेकपाका सांसद श्रेष्ठ बिहीबार मात्र उद्योग वाणिज्य तथा आपूर्ति उपसमितिको संयोजकमा सर्वसम्मत चयन भएका थिए । तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेस नेता रामचन्द्र पौडेललाई पराजित गरेर प्रतिनिधिसभामा आएका श्रेष्ठ आफैं पनि उद्योगी व्यवसायी हुन् ।
उनले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा हुन लागेका सन्दर्भमा देशमै ५ लाख रोजगारी सिर्जना गर्ने तयारीबारे सरकारको कार्यक्रम पनि संसदले माग्ने बताए ।
उनले बजारमा भइरहेको आपूर्तिको कालोबजारी र बिचौलियाहरुको कारण किसान तथा उत्पादक मारमा परिरहेको सन्दर्भमा उपसमितिले समस्याको जरोसम्म पुगेर सरकारलाई सुझाव दिने बताए ।
प्रतिक्रिया 4