Comments Add Comment

सञ्चलालको हत्या बम्जनको आश्रममै भएको हुनसक्ने आशंका

२१ पुस, सिन्धुपाल्चोक (बाँडेगाउँ) । तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा छापा मारेको प्रहरीले मकवानपुरका सञ्चलाल वाइबाको हत्या भएको हुनसक्ने सुराक भेटाएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-६ बाँडेगाउँको तोड्केमा रहेको बम्जनको आश्रममा जिल्ला प्रहरी कार्यालय र सीआइबीको सयुक्त टोलीले शुक्रबार मध्यान्ह छापा मारेको थियो ।

बम्जनको आश्रमलाई घेरा हाली अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा आश्रमभित्र केही शंकास्पद वस्तुहरु भेटिएको प्रहरीले जानकारी दिएको छ । ‘हामीले शुक्रबारदेखि आश्रमभित्र अनुसन्धान सुरु गरेका छौं । केही शंकास्पाद सामग्रीहरु फेला परेको छ’ जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले अनलाइनखबरसँग भने, ‘अनुसन्धान अझै जारी रहने छ ।’

एसपी मरासिनीका अनुसार बम्जनको आश्रममा रहेका अनुयायीसँग सोधपुछ जारी छ ।

खाल्डोमुनी नुनको प्याकेट भेटियो

आश्रमबाट बेपत्ता भएका भनिएका सञ्चलाल वाइबाको आफन्तको दाबी छ कि उनको आश्रमभित्र हत्या भएको थियो र छिटो शव सडाउन २२ प्याकेट नुन प्रयोग भएको थियो ।

प्रहरीले आश्रमको उत्तरतर्फ करिब ३ सय मिटर नजिकै खोजतलास गर्दा खोलिएको नुनुको नौ प्याकेट खोल बरामद भएको छ । ‘हामीलाई आएको सूचनाकै आधरामा केही स्थानमा खनेर हेर्दा माटो पनि केही कमलो थियो र चार फिट खन्दा नुनुको नौ प्याकेटको खोल भेटिएको छ’, अनुसन्धानमा खटिएको प्रहरी टोलीले भन्यो ।

सञ्चलाल परिवारको दाबी सही हुनसक्ने देखिएको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ । ‘नुनको प्याकेट पनि बिचबाट च्यातिएकाले पनि शंका गर्नै धेरै ठाउँ छ’, अनुसन्धानमा खटिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

शव अन्यत्रै लगिएको हुनसक्छ

प्रहरीले बम्जनको शिविरको पुरै क्षेत्रमा खानतलासी गर्नुका साथै शंकास्पद स्थानमा खनेर हेरेको छ । तर, शव वा कंकाल केही भेटिएको छैन । ‘हामीले सबै खनेर हेरेका छौं । सानो हडडी कुहिए पनि ठुला हडडी भेटिनु पर्ने हो तर, त्यो भेटिएन’ एक अधिकारीले भने ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार सञ्तलालको हत्या भएको हल्ला चलेपछि बम्जनका समर्थकले शव अन्यत्र लगेर जलाएको हुनसक्छ ।

१५ चैत २०७१ सम्म परिवारको सर्म्पकमा रहेका सञ्चलालले त्यही दिन साँझ छोरा महेन्द्रसँग फोनमा कुराकानी गरेका थिए । त्यसबेला उनले आफू बम्जनको शिविरमा रहेको र भोलि घर आउने बताएका थिए तर, घर आएनन् ।

अन्यत्र कतै होला भनेर खोजी नगरेको वाइबाको परिवारले जानकारी दिएका छन् । लामो समयसम्म पनि सम्र्पकमा नआएको र आश्रममा बस्ने आनीहरुले बाबुको हत्या भएको भन्ने सूचना दिएपछि खोजी गरेको महेन्द्रले बताए ।

सञ्चलाल परिवारको उजुरीका आधारमा प्रहरीले अदालतबाट अनुमति दिएर आश्रममा छापा मारेको छ ।

८० रोपनी क्षेत्रफल, सामान्य आश्रम

इन्द्रावती गाउँपालिका-६ बाँडेगाउँको तोड्के जंगलमा रहेको बम्जनको आश्रम सदमुकाम चौताराबाट ४ घण्टा लाग्छ । बाँडेगाउँको स्थानीय हबेलीसम्म सडक पुगेपनि बम्जनको आश्रम सम्म पुग्न आधा घण्टा पैदल हिड्न पर्छ ।

थलडाँडाबाट आधा घण्टा ओरालो लागेपनि जंगलको बिचमा रहेको बम्जनको आश्रममा पुगिन्छ । जंगलको बिचमा वरिपरी काँडेतारले घेरिएको बम्जनको आश्रम सामान्य छ । श्रममा साना ठुला आठ वटा जस्ताको टहरो बनाइएको छ ।

८० रोपनी क्षेत्रफलमा बम्जनको आश्रम फैलिएको छ । आश्रम व्यवस्थापन समितिका अध्यक्ष विदुर तामाङले सहयोगीहरुले जग्गा निःशुल्क दान दिएको बताए ।

आश्रममा सार्वसाधारणलाई प्रवेश अनुमति नभएको आसपासमा भेटिएका स्थानीयले बताए । ‘व्यवस्थापन समितिमा भएकाहरु पनि अनुमति लिए मात्र प्रवेश गर्न पाउँछन्, अन्यलाई अनुमती छैन’ आश्रम बाहिर रहेका एक स्थानीयले भने ।

भूकम्पपछि बम्जन आएका छैनन्

२०७२ बैशाखमा भूकम्प जाँदा बम्जन बाडेगाउँकै आश्रममा थिए । तर भूकम्प गएको केही महिनापछि बम्जनले आश्रम छाडेको स्थानीयले जानकारी दिएका छन् । बम्जन सिन्धुलीमा रहेको आश्रममा गएको स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment