+
+
Shares

स्पेनमा ‘कपुरी क’, दर्शकको मन जित्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २६ गते ९:००

बार्सिलोना। विदेशबाट गाउँ फर्किएको ‘नाति’ अर्थात् नारायण तिवारी। आफना हराएका बाउ खोज्न गाउँ फर्किन्छन्। सानैमा आमालाई गुमाएर अनाथालय हुँदै विदेशिएको परदेशीको कथाले चलचित्र हेर्ने धेरैको मन भावुक बनाउँछ। नाति अर्थात् नारायण तिवारी चलचित्रका मुख्य पात्र पनि हुन्। स्पेन निवासी कलाकार प्रकाश तिवारी चलचित्र ‘कपुरी क’ मा सोही पात्र नातिकै भूमिकामा देखिएका छन्।

आज–भोलि गाउँमा लोग्ने मान्छे देख्न नै मुस्किल छ । कोहि साउदी कोही कतार । युरोप र अमेरिका पलायन हुने पनि उत्तिकै छन् । विदेशको पैसामा बोर्डिङ् स्कुल पढ्न छोराछोरीहरु सबै बजार झरिसके। गाउँकै प्राथमिक स्कुलमा ‘कपुरी क’ पढ्ने विद्यार्थी नै छैनन् । यस्तै नेपाली समाजको तीतो यथार्थलाई चलचित्रको कथावस्तु बनाइएको छ। चलचित्र सन्देशमुलक भए पनि कमेडीको साथमा मनोरञ्जनपूर्ण रहेको छ।

गुञ्जन एण्ड कुसुम फिल्मस र बिजी बि इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र नेपालमा प्रदर्शन पूर्व नै स्पेनबाट प्रदर्शन गरिएको हो। थुप्रै चेतनामुलक टेली चलचित्रहरु निर्देशन गरेर आफ्नो छुट्टै छवि बनाएका कलाकार तथा निर्देशक सविन बास्तोला ‘गिरधारी’ ले चलचित्रको निर्देशन गरेका छन्।

झन्डै एक दशकदेखि स्पेनलाई कर्मथलो बनाएका कलाकार प्रकाश तिवारीद्वारा अभिनित चलचित्र ‘कपुरी क’ सोमबार बार्सिलोनामा प्रदर्शन गरियो। ‘विदेशका तीतामिठा अनुभवहरु यही भोगे। पर्दामा मलाई देख्दा स्पेनवासीहरुले हौसला र प्रोत्साहन दिए। प्रवासबाट पनि कलाकारिता क्षेत्रमा अघि बढ्न प्रेरेणा मिलेको छ,’ तिवारीले भने । यसै चलचित्रमार्फत् डेब्यु गरेका उनले यसअघि विभिन्न टेलिचलचित्रमा अभिनय, सह–निर्देशन तथा लेखन गर्दै आएका थिए।

चलचित्रमा चिनिएका स्टार कलाकारहरु छैनन् तर राम्रो कथा वस्तुसँगै नयाँ कलाकारहरुको जोडदार अभिनय देख्न सकिन्छ। चलचित्रमा सिजल उप्रेती ,वसन्ती भाट, चेतबहादुर सिंह ‘राजा’,सद्दाम हुसेन, सोनु राई, रिवाज बिसुराल, वुद्धिसागर खनाल, सोनिका बास्तोला, राजेश बिसुराल, सबिन बास्तोलालगायतको अभिनय रहेको छ ।

चलचित्रमा समावेश गरिएको “तिरिमिरी तिरिमिरी आँखै तिरिमिरी” बोलको गीत उत्कृष्ट बनेको छ। एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको गीतमा विमलराज क्षेत्री र मेलिना राईको स्वर रहेको छ। खेम थापा मगरको छायांकन र सन्त कुमार थापा मगरको कोरियोग्राफी रहेको छ।

स्पेन अलवा युरोपका विभिन्न शहरहरुमा चलचित्र प्रदर्शन गर्ने तयारी थालिएको कलाकार तिवारीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?