२७ पुस, बुटवल । प्रदेश नम्बर ५ सरकारले खरिद गरेका गाडीमा अनियमितता भएको विषयमा सार्वजनिक लेखा समितिले छानबिन थालेको छ । समितिले गाडी खरिदका कागजपत्रहरु झिकाएको समितिका सभापति डिल्ली चौधरीले बताए ।
‘अनियमितता भएको समाचार बाहिर आएको छ, सत्यतथ्य के हो फाइल मगाएर हेर्छाैं, छिट्टै निश्कर्षमा पुग्छौं,’ उनले अनलाइनखबरसँग भने । यस सम्बन्धमा छलफल गर्न आजै समितिको बैठक बस्ने उनले जानकारी दिएका छन् ।
साथै चौधरीले आफू चढेको स्ट्रोम टाटा गाडी ५ हजार किलोमिटर नगुड्दै सकर भांच्चिएको समेत बताए ।’सकर फेर्न खोज्दा कहीँ पाइएन, खाल्डाखुल्डीमा पनि धेरै समस्या छ,’ बुटवलमा आयोजित साक्षात्कारमा उनले भने ।
नेकपाका प्रमुख सचेतक भूमेश्वर ढकालले भने गाडी खरिदमा अनियमितता नभएको दाबी गरे । ‘इ टेण्डरमा दुई कम्पनीले भाग लिएका थिए, मिडियामा आएका कुरा सबै सत्य होइनन्, यसमा मलाई राजनीतिक ढंगले जोडिएको छ,’ उनले भने ।
ढकालले थपे, ‘प्रक्रियाबाट किनेको हो, खसीबोका किनेजस्तो मोलतोल गरेको होइन । दुईवटा संस्थाले टेण्डरमा भाग लिए, ७३ लाखभित्र दिनसक्नेले पाए ।’
संघीय समाजबादी फोरमका प्रमुख सचेतक सन्तोष पाण्डेले अनियमितता भएको बिषयमा यथाशीघ्र सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।
प्रतिक्रिया 4