Comments Add Comment

मृत्युको ४९ दिनमा नेपाल आइपुग्यो भीमलालको शव

२२ माघ, काठमाडौं । ‘के भो तिमीलाई ? किन यसरी छट्पटाएको ?’ भेट्नासाथ नवीनले भीमलाललाई सोधे ।

‘छाती दुखेको छ । अस्पताल जाउँ भने पैसा छैन । फेरि इलिगल पनि छु,’ भीमलालले जवाफ फर्काए ।

त्यसपछि नविनले भीमलाईलाई आफ्नै कोठामा ल्याए । सामान्य हेरचाह गरे । दुबैजना खानपिन गरेर सुते ।

नविन बिहानै उठेर हात–मुख धोई ड्यूटी जाने तरखर गर्न थाले । तर भीमलाल भने उठेनन् ।

‘ए भीमलाल, उज्यालो भयो । उठ्ने होइन ?’ नवीन कराए ।

तर, भीमलाल चट्पटाएनन् । नजिकै गएर छामछुम गर्दा पो थाहा भयो, उनी त सदाको लागि चिर निद्रामा पुगिसकेछन् ।

नविन र भीमलालको मलेसियामै केही महिना अगाडि मात्रै चिनजान भएको हो । बिरामी भीमलाल सहारा खोज्दै क्वालालम्पुर नजिकै चेरास भन्ने ठाउँमा नविनलाई भेट्न पुगेका थिए ।

नविन असिनपसिन भए । तत्काल कम्पनी मालिकलाई फोन गरे । कम्पनी मालिक पुलिससहित आइपुगे । पुलिसलाई नविनले घटनाको वारेमा बेलिविस्तार लगाए ।

पुलिसले एम्वुलेन्स मगाए । भीमलालको शव एम्बुलेन्समा राखियो । त्यसपछि के भयो नवीनले थाहै पाएनन् ।

नविनलाई त्यो दिनभरि निकै तनाव भयो । साँझपख कम्पनी मालिकलाई फोन गरेर सोधे, ‘त्यो मृत्यु हुने नेपालीको नेपालको कुनै ठेगाना छ ?’

कम्पनी मालिकले उल्टै भन्यो, ‘तेरो साथी होइन र उल्टै हामीलाई सोध्छस् ?’

नविनलाई छट्पटी भइरह्यो । भीमलालको घर कहाँ होला ? नविनलाई घरपरिवार पत्ता लगाउन निकै कठिन भयो ।

कसरी होला परिवार पत्ता लगाउने ? यदि पत्ता लगिहाले पनि कसरी घटनाको वारेमा जानकारी गराउने ? उनले प्रवासमा अलपत्र परेका नेपालीहरुलाई संहयोग गर्ने संस्था प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) को काठमाडौंस्थित कार्यालयमा फोन लगाए । कार्यालयमा मलेसियाको केस हेर्ने पूर्णिमा हमालाई उनले सबै बेलिबिस्तार सुनाए ।

पीएनसीसीले तत्कालै मकवानपुरमा सम्पर्क गर्‍यो तर, भीमलालको परिवार पत्ता लगाउन निकै गाह्रो भइरहँदा जिल्ला प्रहरी कार्यालय मकवानपुरले सहयोग गर्‍यो । मकवानपुर प्रहरीले भीमलालको परिवारलाई संस्थासँग सम्पर्क गराएपछि थप सहज बन्दै गयो ।

परिवार त सम्पर्कमा आए, तर शव कहाँ छ ? भीमलालकै शव हो, होइन भन्ने एकिन नभइरहेको अवस्थामा मलेसियाको स्थानीय एक गैरसरकारी संस्थाले मृतकको फोटो संस्थालाई पठायो ।

यही बीचमा नेपाली दूतावासमा पनि एउटा शव क्वालालम्पुर अस्पतालमा रहेको जानकारी आयो । दस्तावासले शवको पहिचान गर्‍यो । मलेसियन संस्थाले पठाएको भीमलालको शवको फोटो र दूतावासको पहिचान गरेको शव एउटै भएपछि शव नेपाल ल्याउने प्रक्रिया शुरु भयो । मृत्यु भएको ४९ दिनमा भीमलालको शव फेव्रुवरी १ तारिखका दिन नेपालमा पुग्यो ।

को हुन् भीमलाल ?

मकवानपुर जिल्लाको साविक पदमपोखरी गाविस ६ र अहिलेको हेटौंडा उपमहानगरपालिका १३ मा घर भएका भीमलाल घलान उमेरले ४५ वर्षका थिए । उनी तीन दाजुभाइमध्ये माइला । तीन छोरा र एक छोरीका पिता ।

परिवारलाई सुखमा राख्ने सपना बोकेर ६ वर्ष अगाडि रोजगारीको लागि मलेसिया पुगेका थिए । अवैधानिक अवस्थामा रहेर मलेसियामा रोजगारी गरिरहेका उनी परिवारसँग नियमित सम्पर्कमै थिए । गएको वैशाखमा मात्र ६० हजार रुपैयाँ परिवारलाई पठाएका थिए ।

भीमलालले गएको वैशाखमा पैसा पठाएपछि भने परिवारसँग कुनै सम्पर्क गरेका थिएनन् । के कारणले उनी परिवारको सम्पर्कमा आएनन् कसैलाई पनि थाहा छैन । जेठा दाजु रविलाल घलान भन्छन्, ‘खै किन हो, बैशाखदेखि फोन पनि गरेन र फोन गर्दा पनि सम्पर्क हुँदैनथ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment