Comments Add Comment

कलाकारितामा लक्ष्मी गिरीको ३५ वर्षः कति दु:ख, कति हर्ष ?

‘कसैले २० हजार एकैपटक दियो भने २० चोटी गन्छु’

वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीलाई भेट्न सोमबार हामी चलचित्र कलाकार संघको कार्यालयमा पुग्यौँ । हामीले केही सोध्नुअगावै लक्ष्मीले प्रश्न गरिन् – ‘तपाईंले मेरो विषयमा के बुझ्नुभएको छ ? के–के अध्ययन गर्नुभएको छ ?’ अनि आफ्नो अगाडि भएको झोलाबाट पत्रिकाको मोटो खात झिकिन् र हामीलाई देखाइन् । र भनिन्, ‘हेर्नुस बाबु, मैले भन्न बाँकी के छ ? अनि गर्न बाँकी के छ ?’

‘म त बोल्दा बोल्दै फ्रस्टेड भइसके । त्यसैले अचेल बोल्न पनि दिग्दार लाग्छ ।’ लक्ष्मी गिरी अन्तर्वार्ता दिँदादिँदै थाकिसकेकी रहिछन् । झोलाबाट निकालेको पत्रिकाको खातमा उनले दिएको अन्तर्वाता संग्रहित थिए । करिअरको सुरुवाती दिनमा दिएकोदेखि अहिलेसम्मको सबै अन्तर्वार्तालाई उनले सुरक्षित राखेकी रहिछन् ।

‘कति दुःख गरेर आएको हुँ भन्ने प्रमाण यसले दिन्छ,’ उनले भनिन्, ‘तर, यी सबै समाचारहरु पाना भर्नका लागि मात्रै रहेछन् । मेरो मुल्याङ्कन कसले गर्ने ?’ उनले पटक–पटक आफ्नो योगदानको मूल्यांकन नभएको बताउँदै आएकी छन् । तीन दशकभन्दा बढि यस क्षेत्रमा रहेर निरन्तर काम गर्दा पनि आफूलाई सम्बन्धित निकायले नहेरेको उनले गुनासो पोखिन् ।

‘टेलिभिजन र चलचित्र दुवैमा निरन्तर ३५ वर्षभन्दा बढि काम गरेको अरु कोही होला त ?’ उनी भन्छिन्, ‘तर यो क्षेत्रले मलाई बुझेन ।’ लक्ष्मीलाई विभिन्न कर्पोरेट संस्थाहरुले भने सम्मानका लागि बोलाइरहेका हुन्छन् । तर, उनी यस्तो सम्मान यत्तिकै लिनेवाला भने छैनन् ।‘मलाई जब सम्मान गर्ने भनेर फोन गर्नुहुन्छ, अनि म प्रश्न गर्न थाल्छु’, उनले भनिन्, ‘के कारणले मलाई सम्मान दिन लाग्या हो, मैले थाहा पाउनु पर्यो नि हैन ?’

करिअरको मध्यतिर आइपुग्दा लक्ष्मीलाई एक पत्रिकाले ‘टेलिक्वीन’ उपमा दियो । तर, उनले यो उपमालाई पचाउन सकिनन् । पत्रिकाकी लेखिकालाई फोन गरेर किन यस्तो लेख्नुभएको भन्दै प्रश्न गरिन् । लेखिकाले सम्मानपूर्वक भनिन्, ‘टेलिभिजनको पर्दामा तपाईलाई हेर्दा तपाई क्विन नै हो जस्तो लाग्छ ।’

तर, लक्ष्मीलाई टेलिक्वीन भन्ने तिनै लेखिका मात्र भइन् । उनी भन्छिन्, ‘खास त्यो ट्याग त मलाई टेलिभिजनले दिनुपर्ने हो नि ।’ लक्ष्मी विगत दुई दशकदेखि चलचित्र कलाकार संघमा आवद्ध भएर काम गरिरहेकी छिन् । उनलाई यो संघको निकै माया छ । उनी भन्छिन्, ‘कलाकारको हक–हितको लागि संघ चाहिन्छ भन्ने मान्छे हुँ म । जब म यो संस्थामा आबद्ध भएँ, छोडेर जाने मनै लाग्दैन ।’

लक्ष्मीले देखाएका पत्रिकाहरुमा धेरैजसोको शिर्षक एकै थियो, ‘बैंकको जागिर छोडेर कलाकारितामा ।’ आखिर त्यो हो पनि । लक्ष्मी नेपाल राष्ट्र बैंकको जागिर छोडेर कलाकारितामा होमिएकी थिइन् । उनले भनिन्, ‘कलकारितामा रुचि धेरै पहिला देखि नै थियो । मौका मिल्दा नाटकहरु पनि गर्थेँ । पछि चलचित्रमा व्यस्त हुन थालेपछि जागिरबाट राजिनामा दिएँ ।’

लक्ष्मीले १६ वर्षभन्दा बढी राष्ट्र बैंकमा काम गरिन् । तर, त्यहाँ पनि आफ्नो इमान्दारिताको कदर नभएको उनले दुःख पोखिन् । उनी भन्छिन्, ‘त्यहाँ ठूलाबडाका नातेदारहरुको चाँडो बढुवा हुने रहेछ । मेरो भएन । त्यसैले त्यहाँको जागिर छोडेँ ।’
बैंकको जागिर छोडेर चलचित्रमा आउँदा उनको परिवारबाट कुनै समर्थन थिएन । लक्ष्मी भन्छिन्, ‘म त घरको कुरा नमानेर यस क्षेत्रमा आएको हुँ । मलाई यो क्षेत्रको माया धेरै छ ।’ बैंकमा नोट गनेर बसेकी लक्ष्मीले चलचित्र क्षेत्रमा आएर त्यतिका नोट कहिल्यै देख्न पाइनन् ।

‘बैंकमा करोडौं गन्ने मान्छे, यस क्षेत्रमा आएर त्यति पैसा कहिल्यै देख्न पाइनँ,’ उनी भन्छिन्, ‘यहाँ एउटा चलचित्रमा काम गरेको जम्मा २०÷३० हजार दिन्छन् । त्यो पनि किस्ता–किस्तामा । मलाई त कसैले २० हजार एकैपटक दियो भने म २० चोटी गन्छु ।’

चलचित्र क्षेत्रमा मिठो बोल्नेको मात्र पिठो बिक्ने कुरा उनले बल्ल बुझ्दैछिन् । उनी जे देख्छिन्, त्यहीँ बोल्छिन् । उनलाई धेरैले प्रष्टवक्ता पनि भन्छन् । ‘यहाँ त जसले टाईफाई गर्न सक्यो त्यसैको मात्र कदर हुन्छ । म त जे देख्यो त्यहीँ बोल्छु । सबैले मलाई छुच्ची देख्छन्,’ उनी भन्छिन् ।

लक्ष्मीसँग अभिनय सुरु गरेको दिनदेखिका तस्विरहरु छन् । सुरुवाती दिनमा लक्ष्मीसँग फोटो खिच्न झुम्मिनेहरु पछि ‘दिदी के छ’ भनेर बोल्न थाले । लक्ष्मी भन्छिन्, ‘नयाँ कलाकारहरुलाई मैले कति सहयोग गर्थेँ । पछि जब उनीहरु हिट हुन्थे, मलाई ‘दिदी के छ ?’ भन्न थाल्थे । कस्तो नराम्रो लाग्ने ।’

लक्ष्मीले आफ्नो करिअरको दौरानमा नेवारी, मैथिली, भोजपुरी लगायत थुप्रै भाषामा अभिनय गरेकी छिन् । केही चलचित्रमा स्टन्ट पनि गरेकी छिन् । पछिल्लो चलचित्र ‘जय भोले’ र ‘छक्का पञ्जा ३’ मा उनले गरेको स्टन्ट रुचाइएको पनि थियो । उनी भन्छिन्, ‘यो उमेरमा पनि आएर म फाइट खेलिरहेको छु । घोडा पनि चढेको छु । मलाई अझै गर्न सक्छु भन्ने जोश छ ।’

कुनै समयका चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले हिरोहरुलाई गाली गर्दा भन्थे, ‘हे यार, लक्ष्मी गिरीको जस्तो जोश देखाउ न । लक्ष्मीले त एकचोटि ढाल भनेपछि तुरुन्तै ढाल्छिन् ।’ यो कुराले पनि लक्ष्मीलाई एक्सन गर्न उत्प्रेरित बनाइरहेको छ ।

पर्दामा लक्ष्मी प्रायः छुच्ची महिलाको भूमिकामा देखिन्छिन् । धेरैले वास्तविक जीवनमा पनि उनलाई छुच्ची नै भन्छन् । तर, उनी आफू त्यस्तो धेरै छुच्ची नभएको बताउँछिन् । लक्ष्मी भन्छिन्, ‘पर्दामा जस्तो त म रियलमा छैन । जसले मसँग संगत गर्छ त्यो बुझिहाल्छन् ।’

लक्ष्मीले बि.सं. २०५० सालमा नै गाडीको लाइसेन्स निकालेकी थिइन । उनले चलचित्रको सिनहरुमा पनि गाडी चलाएकी छिन् । तर, वास्तविक जीवनमा भने उनी गाडी चड्दिनन् । उनी भन्छिन् ‘मैले दुई वर्ष आफ्नो गाडी प्रयोग गरेँ, तर त्यो बेला ममा निकै अहम् बढ्यो । त्यसैले गाडी नै चढ्नै छोडिदिएँ ।’ लक्ष्मी आफ्नो जीवनलाई सरल तरिकाले जिउनु पर्ने मान्यता राख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment