
३ फागुन, काठमाडौं । विवेकशील नेपाली दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउन माग गरेको छ ।
शुक्रबार विज्ञप्ति जारी गरी उक्त दलले उनलाई राजीनामा दिन लगाउने नभई महाभियोग लगाउन संसदसँग माग गरेको हो ।
‘अहिलेसम्मको अभ्यासलाई हेर्ने हो भने, यस्ता घटनाहरुमा आरोपितलाई राजीनामा दिन लगाएर विषयलाई त्यतिकै सेलाउन दिने गरिँदै आएको छ । जबसम्म यस्ता अभ्यास बसिरहन्छन् तबसम्म सुशासन स्थापित हुन सक्दैन, राजनैतिक सुसंस्कारको थालनी हुन सक्दैनु प्रवक्ता मिलन पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
भक्तपुरमा इन्जिनियरिङ क्याम्पस खोल्ने विषयमा पाठकले घुस लिएको खुल्ने भिडियो नै सार्वजनिक भएको समाचारहरु सार्वजनिक भएपछि विकेशील नेपालीले उनलाई महाभियोग लगाउन माग गरेको हो ।
साथै उक्त घटनाको बारेमा प्रधानमन्त्री केपी शर्मा ओली चार महिनाअघि नै जानकार भए पनि केही कारबाही अगाडि नबढाउनुले यस्ता विषयमा प्रधानमन्त्रीको पनि संलग्नताको आशंका रहेको विवेकशील नेपाली दलले बताएको छ ।
भ्रष्ट्राचारीको अनुहार नै हेर्दिनँ भन्ने प्रधानमन्त्रीले चार महिनादेखि यो विषय गुपचुप राखेको भन्दै विवेकशील नेपालीले यस बीचमा घटना तुहाउन के के तानाबाना बुनिए सबै सार्वजनिक गर्नुपर्ने माग गरेको छ ।
‘यो चारमहिनाभित्र पाठकले पदीय आडमा गरेको भ्रष्टाचारको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने कि नपर्ने ?’ विवेकशील नेपाली दलले सोधेको छ ।
प्रतिक्रिया 4