Comments Add Comment

शुक्रबारदेखि पाँच वटा ब्रुमर काठमाडौंका सडकमा, धुलोमुक्त होला शहर ?

५ चैत, काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी शुक्रबारदेखि नयाँ ब्रुमर (यान्त्रिक कुचो) मार्फत सडक सफा गर्ने भएको छ ।

अघिल्लो सोमबार इटलीबाट काठमाडौँ आइपुगेको सफा गर्ने उक्त यन्त्र पहिलो पटक रत्नपार्कमा प्रयोग गर्न लागिएको कामपाले जनाएको छ ।

अहिले ती ब्रुमर सञ्चालन गर्न चालक र सह-चालकलाई तालीम दिने कामसँगै पाटपुर्जा जडानका क्रममा रहेको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

उनका अनुसार बिहीबारसम्म सञ्चालनको तयारीको सबै काम सकी प्रयोगमा ल्याइने छ ।  नियमित रुममा कुन कुन सडकमा उक्त यन्त्रले सफा गर्ने भन्ने विषयमा कामपा प्रमुख विद्या सुन्दर शाक्यसँग छलफल भएको प्रवक्ता डङ्गोलले बताए ।

कानूनी रुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र कामपाकोे जिम्मेवारीमा पर्छ । अबको केही दिनमा कुन कुन स्थानमा उक्त यन्त्र प्रयोग गर्ने भन्ने यकिन हुने छ । ती ब्रुमर रु १० करोड ८० लाखमा ल्याइएको हो ।

यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गरिँदै आएको थियो ।

कामपासँग यसअघि रहेको एक ब्रुमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको पनि कामपाले जनाएको छ । गत असारमा गरिएको बोलपत्रको आधारमा उक्त यन्त्र ल्याइएको हो ।

सबै ब्रुमर अहिले राष्ट्रिय सभागृहमा राखिएको छ । पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताका छ ।

ती ब्रुमरमा दिनमा १० किलोमिटरसम्मको धूलो सङ्कलन गर्न सक्ने क्षमताको रहेको छ ।  युरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धूलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएको छ ।

पछिल्लो समय निर्माण तीव्ररुपमा भई धूलो बढिरहेका अवस्थामा ती ब्रुमरले ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment