
१५ चैत, विराटनगर । प्रहरीले विराटनगरमा विप्लव नेतृत्वको नेकपाका एकजना जिल्लास्तरीय नेतालाई लखेटी लखेटी पक्राउ गरेको छ ।
बिहीबार साँझ विराटनगर बजारमा प्रहरी र विप्लवका मोरङ जिल्ला सचिव नवराज भट्टराईको भेट भयो । प्रहरीले नियन्त्रणमा लिन खोज्दा भट्टराई मोटसाइकलमा भागे । प्रहरीको भ्यान पछिपछि गुद्यो । पुष्पलाल चोकदेखि उत्तरतर्फ लागेका भट्टराईको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भयो ।
मोटरसाइकल दुर्घटनामा परेका सचिव भट्टराईको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा भर्ना गरिएयो । तर, उपचार सम्भव नभएपछि बिहीबार नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
दुर्घटनापछि प्रहरीले सचिव भट्टराईलाई नियन्त्रणमा लिएर अस्पताल पुर्याएको मोरङ प्रहरीका एक अधिकृतले बताए ।
सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि प्रहरीले खोजीखोजी पक्राउ गर्न थालेको छ ।
चार दिनयता प्रहरीले विप्लवका भट्टराईसहित ४ जना नेता पक्राउ गरेको छ । कोशी व्यूरो संयोजक घनश्याम श्रेष्ठ पुष्कर, ब्यूरो सदस्य माधनव गौतम र मोरङ इञ्चार्ज कृष्णकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रतिक्रिया 4