
२५ चैत, काठमाडौं । सोमबार बिहानै प्रहरीलाई सूचना आयो, ‘बसुन्धराको ओसिस क्याफे पछाडि रहेको घरमा ठूलो परिणाममा हतियार लुकाइएको छ ।’
विप्लव समूहलाई प्रतिबन्ध लगाएसँगै अवैध हातहतियारको खोजी तीव्र बनाएको प्रहरी यो सूचनाले गम्भीर बनायो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोली अपरेशनमा खटियो भने काठमाडौं प्रहरी परिसर, टेकु पनि सम्पर्कमा थियो ।
अपरेशन टोली सम्भावित घरमा पुग्यो । सावधानीपूर्वक प्रवेश गरेको प्रहरी टोलीले दोस्रो तलासम्म पुग्दा त्यस्तो केही भेटेन । तेस्रो तलमा रहेको ‘द वर्ल्ड कल्चर आर्ट एसोसिएन अफ नेपाल’को कार्यालयमा छिरेर प्रहरीले सबैलाई नियन्त्रणमा लियो, खानतलासी गर्यो तर, हतियार त भेटिएन । बरु सकेट बम भने भेटिएको छ ।
एक प्रहरी अधिकारीकाअनुसार हसिया हथौडा अंकित झण्डामा बेरेर राखेको अवस्थामा सकेट बम भेटिएको हो । प्रहरीले कार्यालयमा रहेका सेवाग्राही र कर्मचारीसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
कार्यालयका सञ्चालक डम्बर विसी भने पाटन हस्पिटलमा उपचाररत् छन् ।
हाल नेपाली सेनाको टोली घटनास्थलमा पुगेर बम डिस्पोज गरिरहेको छ । यसअघि २४ फागुनमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा प्रेसर कुकर बम विष्फोट गराइएको थियो । घटनामा ३ जना घाइते भएका थिए भने ठूलो भौतिक क्षति भएको थियो ।
अनुसन्धानका क्रममा प्रतिन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले माग गरे अनुसार चन्दा नदिएपछि उनको घरमा विष्फोट गराइएको खुलेको थियो ।
प्रतिक्रिया 4