
२४ चैत, काठमाडौं । काठमाडौंको बसुन्धारामा सकेट बम भेटिएको छ । महानगरीय प्रहरी कार्यालय प्रवक्ता एसएपी श्याम ज्ञवालीले अनलाइनखबरसँग कुरा गर्दै शंकास्पद वस्तु भेटिएको पुष्टि गरे ।
हाल नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ जाँदैछ । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख वसन्त लामाका अनुसार ओसिस क्याफे पछाडि रहेको एक घरमा तीन तलामाथि रहेको कार्यालयमा सकेट बम भेटिएको हो ।
उनका अनुसार सांस्कृतिक कार्यक्रमका लागि कोरिया पठाउने ‘द वर्ल्ड कल्चर आर्ट एसोसिएन अफ नेपाल’को कार्यालयमा बम भेटिएपछि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले अनुसन्धान थालेको छ ।
हाल अनुसन्धानका क्रममा कार्यालयमा आएका ५ जना सेवाग्राहीलाई नियन्त्रणमा लिइएको छ । कार्यालयका सञ्चालक भने डम्बर विसी हुन् । उनी पाटन हस्पिटल, ललितपुरमा उपचाररत् छन् ।
यसअघि २४ फागुनमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा प्रेसर कुकर बम विष्फोट गराइएको थियो । घटनामा ३ जना घाइते भएका थिए भने ठूलो भौतिक क्षति भएको थियो ।
अनुसन्धानका क्रममा प्रतिन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले माग गरे अनुसार चन्दा नदिएपछि उनको घरमा विष्फोट गराइएको खुलेको थियो ।
प्रतिक्रिया 4