
३ वैैशाख, सर्लाही । कर्जनहा – ८, ठलहा टोलमा गैरदलित भन्दा बढी दलित समुदायका मानिसहरु छन् । झुप्रोमा जीवन धान्नेहरुको परिवार फराकिलो छ । दुईछाक खान धौधौ पर्नेहरुको संख्या धेरै छ । त्यसैले ठलहामा पक्की भवन बनाउनु चानचुने कुरा हुँदै होइन ।
मोहम्मद सौखत हुन्थेनन् भने सायद यो दुईतले बिल्डिङ ठडिने थिएन । सौखत हुन्थेनन् भने उनकी पत्नी सोनहा खातुन यतिबेला किराना पसलका सामाग्रीहरु मिलाइरहेकी पनि हुन्न थिइन् ।
सौखत हुन्थेनन् भने सौखतका बुवा दुई/चारवटा गाईवस्तुलाई स्याहार गरिररहेका हुन्थेनन् । सायद उनी ६५ वर्षको उमेरमा पनि अग्लो रुखमा चढेर ताडी टिपिरहेको अवस्थामा भेटिने थिए ।

सौखत हुन्थेनन् भने यो परिवारले आफ्नै एकविघा खेतबाट अन्न भण्डार गर्ने हैसियत पनि राख्ने थिएन ।
र, आफ्ना मायालु देवर सौखत हुन्थेनन् भने यतिबेला सोनहा खातूनको पेटमा भविश्यको सपना (भ्रुण) पनि हुर्किइरहेको हुने थिएन । एकजना असल नागरिक हुनु र नहुनुले परिवारमा मात्र कत्रो प्रभाव पार्दो रहेछ ! शायद, देशका लागि पनि यही कुरा सत्य हो ।
विदेश (वैदेशिक रोजगारी) हुन्थेन भने चाँहि सौखतको यो परिवार कस्तो हुन्थ्यो होला ? यो फगत स्वैरकल्पना हो ।
****
सौखत सानै हुँदा उनका बुवा अग्ला रुखहरुमा ताडीको रस बटुल्न हिँड्थे । यो उनीहरुको पुर्खौली पेशा थियो ।
घरमा गाईबस्तु थिएनन् । घर, घरजस्तै थिएन । अन्न उमार्ने खेत थिएन । जुगदेखि नाजुक जिन्दगी बिताउँदै आएको थियो, गाउँको यो गरिब मुस्लिम परिवारले ।
ताडीको रस चुहाएरै अनि अर्काको खेतमा पसिना चुहाएरै भए पनि बखतले दुई सन्तान हुर्काए । उनको सम्पत्ति भनेकै यिनै सन्तान थिए । जसै, बखतका सन्तानहरुको उमेर बढ्यो, घरको खर्च बढ्यो, आम्दानीचाहिँ बढेन ।
देशमा बेरोजगारी बढे पनि पछिल्लो पुस्तालाई एउटा विकल्प थियो – खाडी जाने । दलालबाट ठगिए पनि जसोतसो गरे खाडी पुग्ने ।

बखतले पनि त्यतिबेला यही निधो गरे । त्यतिबेला भन्नाले आजभन्दा १२ वर्ष अघि । भर्खरभर्खर भित्रिएको बैदेशिक रोजगारीको फेसनले आफ्नो परिवारलाई पनि झपक्क पार्छ कि भन्ने आशा थियो बखतलाई । त्यसैले गाउँबाट कर्जा उठाए र उनले सौखतलाई विदेश पठाए ।
२१ वर्षका सौखत कतार पुगे । पुगेपछि सौखतले बाबालाई खुशीको खवर सुनाए, ‘मेरो काम मोबाइल पसलमा छ । महिनामा त्यस्तै नेपाली ३०/३५ हजार तलब आउँछ ।’
दुई वर्षमा सौखतले आफ्नो मात्र होइन, परिवारकै कर्जा चुक्ता गरे । दुई वर्षपछि छुट्टीमा घर फर्किए । बाबाको ताडी टिप्ने नियमित कथाको अन्त्य गरिदिए । घरमा सोनहालाई भित्र्ाए । बुहारीको आगमनले बखतको झुप्रो भरिलो भयो । र, सोनहालाई भरिलो बनाएर सौखत फेरि कतार फर्किए ।
सौखतको कमाइ राम्रै थियो । सौखतले भाइ मोहम्मद लोखतलाई कतारमै झिकाए । त्यतिबेला भाइ त्यस्तै, १६ वर्षका हुँदा हुन् । तर, नागरिकतामा उमेर चढाएर सौखतसँगै कतार पुगे लोखत ।
सौखत र लोखत विदेशमा भएपछि त परिवारमा चमत्कारै हुन थाल्यो । घरको अर्थतन्त्रको ग्राफ सिधा उकालो लाग्यो । दुई/तीन वर्षमै एक बिघा जामिनको मालिक बन्यो बखत परिवार ।
अर्को दुई वर्षपछि घर आउँदा सोनहाको काखमा सौखतकी छोरी खेलिरहेकी थिइन् । सोनहा मुस्काइरहेकी थिएन् । यो सौखतको दोस्रो छुट्टी थियो ।
एक/डेढ महिना घर बसेर कतार फर्किए सौखत । सोचेका थिए, अर्कोपटक आउँदा अर्को उपहार दिनेछिन् सोनहाले ।
सौखत कतार लागेपछि बखतको सानो झुप्रोको छेउमा ईंट्टाको गाह्रो उठ्न थाल्यो । सौखत र लोखतको कमाइले पक्की घर बन्दै थियो । सोनहाले मोवाइलबाट खिचेर घरको फोटो कतार पठाइदिन्थिन् । सोनहाको हातमा स्क्रिन टच मोवाइल थियो ।
****
मौसम दशैँको थियो । मुस्लिम परिवार भए पनि गाउँको दशैँले बखतको परिवारलाई नछुने कुरै थिएन । गाउँमा चहल-पहल शुरु भएको थियो । बखतको परिवारका लागि यो दशैँ अभावविनाको दशैँ हुँदै थियो । त्यसैले तयारी धुमधाम थियो ।
तर, फूलपातीको दिन घरमा दुःखद खबर आइपुग्यो । सौखत बिरामी भएपछि लोखतले कोठमाडौंसम्म ल्याइपुर्याएका छन् ।
परिवारकै अनुहारको चमक एकै शब्दमा निभ्यो । मानिसलाई दुःखाउन हजार शब्द चाहिँदैन । एउटै वाक्य पनि भयंकर हुन्छ ।
अनलाइनखबरको टोलीलाई सौखतको कथा सुनाउनका लागि यतिबेला एक दर्जन गाउँले भेला भएका छन् ।

मुडामा बसेकी सोनहा कतिबेला उठेर भित्तामा पुगिसकिछिन् । सौखतकी आमा ढोकाबाट निस्केर ढोकाछेउँकै सिमेन्टेड भित्तामा अडेस लागेकी छिन् । बखतबाहेक बखतको परिवार घरको पेटीमा छन् र गाउँलेहरु आँगनमा । आँगनछेउमै धुलाम्य मोटरबाटो छ ।
सौखतकी आमाले मुख अध्याँरो पार्दै आफ्नै भाषामा भनिन्, ‘घरमा नल्याई सिधै हस्पिटलतर्फ हिँडालियो । जीउ सुन्निएको थियो । खुट्टाबाट पीप बगेको थियो । तर, हस्पीटल नपुग्दै…… ।’
सौखतकी आमा थामिन सकिनन् । सोनहाले साडीले पुरै मुख छोपेकी छिन् ।
त्यहीबेला बखतलाई पनि रक्तचापले च्याप्यो । उनलाई पनि धरानतिर दौडाइयो ।
छिमेकी रोहित पासवानले त्यो वियोगान्त दृश्य सम्झँदै सुनाए, ‘त्योबेला गाउँ नै शोकमग्न थियो । पुरै गाउलेको दशैँ नै खल्लो भयो । त्यो घटना गाउँका लागि नै आश्चार्य थियो ।’
सौखतले न घर पूरा भएको हेर्न पाए, न दोस्रो सन्तानको स्पर्श गर्न नै । अहिले सौखतका छोरा घरभन्दा केही पर मोटरबाटोमा खेल्दैछन् । ६ वषर्ीय ती छोराले जीवनमा आफ्ना बाबाको अनुहार कहिल्यै देख्न पाएनन् ।
उनी प्रश्नमात्र गर्न सक्छन्, ‘बाबा के भएर बित्नुभएको ?’ तर, परिवारसँग नै यसको उत्तर छैन । सौखतले आफूसँगै आफ्नो मृत्युको कारण पनि लिएर गए ।
बखतलाई भने सौखत नरहेको खबर पनि तीन महिनापछि मात्रै दिइयो । परिवारलाई डर थियो कि छोराको त्यस्तो खबर सुनेर रक्तचापका बिरामी बुबा पनि सौखतजस्तै होलान् कि !
****
काठमाडौं एयरपोर्टमा झरेपछि सौखतले भाइ लोखतसँग भनेका थिए, ‘बाबु अब म बाँच्दिनँहोला, म मरे पनि घर, मेरी श्रीमती, छोराछोरी सबै तेरो जिम्मामा छाडेर जाँदैछु ।’
दाजुको बोली सुनेर भाइले तरक्क आँशु चुहाए, केही बोल्न सकेनन् ।
हो, अहिले लोखतले नै परिवार धानेका छन् । परिवारलाई नपुग्दो केही छैन । पुरै परिवार मिलेर बसेको छ । २९ वर्षीय लोखत अहिले मलेसियाको घाममा पसीना चुहाइरहेका छन् ।
सोनहाको पेटमा लोखतको गर्भ हुर्किइरहेको छ । लोखतले एकल महिला बनेकी भाउजूलाई आफ्नो गोदमा लिएका छन् । परिवार र गाउँ समाजले यो सम्बन्धलाई स्वीकार गरेको छ ।
लोखतलाई सबैले असल नागरिकका रुपमा सम्मानित नजरले हेरेका छन् । सोनहा खातूनले पनि लोखतको अनुहारमा सौखतलाई पाएकी छिन् । र आफूलाई खुशी राखेकी छिन् ।
प्रतिक्रिया 4