Comments Add Comment

‘हरि घर त आए तर, रातो कफिनमा’

२ वैशाख, महोत्तरी । महोत्तरीको भ्रमरपुरा । तर, यो धनुषाको गाउँजस्तै लाग्छ । धनुषाको मुकाम जनकपुरदेखि ७ किलोमिटर पश्चिममा छ यो गाउँ । यही भ्रमरपुराको भ्रमणमा छौँ हामी ।

पहिला भ्रमरपुरा चोक । अनि गाउँ । मधेसका प्रायः गाउँ पुग्नुअघि चोक छिचोल्नुपर्छ । चोकमा चहलपहल हुन्छ, पसल हुन्छन् । र, गाउँमा कथा ।

चैत-वैशाखको महिना । खै किन हो गर्मी कम छ । जाडो त हुने कुरै भएन । मध्यम तातो । जे होस् चैत वैशाखमा मधेस यस्तो हुँदैन ।

गाउँ निकै ठूलो छ । आँकडाले भन्छ, भ्रमरपुरामा ४ सय घर छन् । दुई वडा मिलेर एउटा गाउँ बनेको छ । भ्रमरपुरा गाउँपालिका वडा नं ७ र ८ ।

चोकबाट छिरेपछि वस्तीका लहराजस्ता गल्ली भेटिन्छन् । काठमाडौंका भित्री गल्लीजस्तो । बागबजारको भित्री गल्ली भनौँ न । फरक के भने यहाँका गल्लीमा कमिलाका जस्ता मान्छेका ताँती छैनन् । तलौं-तलाका सिमेन्टेड भवन छैनन् । झुप्रा बढी छन्, गल्लीका छेउ फोहोरले भरिएका छन् ।

थुप्रै गल्ली छिचोलेर पर छेउ पुगेपछि भेटिन्छ, सुनितादेवी ठाकुरको घर । गाउँको अन्तिम घर । घर छिर्नुभन्दा पहिले छेउको तालमा आँखा पर्छ । धनुषामा वस्तीपिच्छे पोखरी छन् । पर्यावरणको निम्ति मधेसका लागि पोखरी अपरिहार्य छ । सँगै यस्ता पोखरीले वातावरणीय सौन्दर्य पनि बढाएका छन् । माछाले पनि आश्रय पाएका छन् ।

सुनितादेवीको एकतले घर । छाना टिनको छ । हेर्दा लाग्छ, यो घर बनेको त्यति लामो समय भएको छैन । चार वर्षभन्दा बढी त पक्कै भएको छैन ।

सुभम

ढोका छिर्ने वित्तिकै खटिया भेटिन्छ । अलि अग्लो खटिया । खटियामाथिको ओछ्यान उठाइएको छैन । ओछ्यानमा मध्य बिहानको घामका किरण छरपस्ट छन् । खटियाबाट देखिन्छ अर्को ढोका । ढोकाको कापबाट देख्न सकिन्छ पुरानो घरको टाली र पार्किङ गरिरहेको होण्डा बाइक । छक्क पर्दै उभिरहेका सुनितादेवीका कान्छा छोरा सुभम भन्छन्, ‘त्यो मोटरसाइकल मामाको हो ।’

सुभमले आफ्नो पढाइको कुरा बताउँदैछन् । घरमा यसकारण छन् कि ११ कक्षाका सुभमको अहिले पढाइ छैन । भर्खर नुहाएका छन् । उनले कपडा लगाउँदै गर्दा भित्री ढोकाबाट भित्र छिरिन् सुनितादेवी । र, पिउने पानीले पाहुनाको स्वागत गरिन् । हामी पाहुना थियौं । करिव दुई घण्टे पाहुना ।

सुनितादेवी जुन ढोकाबाट छिरेकी थिइन्, त्यसकै छेउमा बसिन् । सुभमले आमाका लागि बस्न मुडा ल्याइदिए ।

३७ वर्षकी सुनितादेवी हरियो साडीमा छिन् । उनको अनुहार स्थिर छ । मतलव: न उत्साहित, न चञ्चल, न हर्षित, न आक्रोशित, न विछिप्त । उनकै घरछेउको पोखरीजस्तो । किनकि पोखरीलाई यतिबेला हावाले तर्साएको छैन ।

यतिबेला सुनितादेवीको छेउमा श्रीमान हरि ठाकुर भएको भए !  या साउदीमै भएको भए ! सुनितादेवीको अनुहारमा कस्तो रङ देखिन्थ्यो होला ? अब यो फगत कल्पनामात्र हो ।

****

हरि र सुनिताका दुई छोरा हुर्किसकेका थिए । जेठो छोरा सुवास एचए पढ्दै थिए, कान्छो एसईई पास । एउटी छोरी थिइन्, उनको बिहे भइसक्यो ।

त्यसैले, श्रीमानलाई सुनितादेवीले भनेकी थिइन्, ‘सबै कर्जा सकिसक्यो । भो अब विदेश नजानुस् । अब त यहीँ बसेर पनि केही गर्न सकिन्छ नि !’ सुनितादेवीलाई यो आँट हरिले साउदीमा बगाएको ६ वर्षको पसिनाले दिएको थियो ।

तर, हरिलाई अझै भविश्यको भय थियो । युवाहरुले देशमा सम्भावना देख्ने समय छैन । त्यसैले हरिले श्रीमतीसँग भनेका थिए, ‘अझ एकपटक त गएर आउँछु । अलिकति भए पनि पैसा जम्मा होला ।’

त्यसपछि हरि ३८ वर्षको उमेरमा फेरि साउदीमा खजुर टिप्न हिँडे, आजभन्दा दुई वर्षअघि । यसरी कि, जसरी उनका छिमेकीहरु जान्छन्, उनका भाइ गएका छन् ।

भ्रमरपुरामा त खाडी नगएको घर भेट्टाउनै गाह्रो छ । यहाँको अर्थतन्त्र खाडीले धानेको छ भन्दा फरक नपर्ला ।

घरबाट दुई वर्षको छुट्टी लिएर हिँडेका थिए हरि । तर, १४ महिनामै सुनितादेवीलाई फोन गरे, ‘अब म फर्कन्छु । फेरि साउदी नर्फकने गरी ।’

सुनितादेवीमा खुशीको सीमा रहेन । उनी श्रीमान् आएपछिका भावी दिनहरु कल्पिएर बसिन् । बैदेशिक रोजगारीले अधिकांश नेपाली नारीहरुलाई कल्पनामा रमाउने आदत पारिदिएको छ । अरु केके सहने आदत पारेको छ ?

यो बीचमा सुनितादेवीले नागरिकता बनाइन् । र, बैंकमा खाता पनि खोलिन् । पहिले जेठो छोराका नाममा रेमिटबाट आउने पैसा सुनितादेवीको खातामा आउन थालेको थियो । पहिलो लटमा हरिले ७० हजार जति पठाएका थिए र दोस्रो लटमा एक लाख रुपैयाँ । त्यो एक लाख सुनितादेवीको खातामै आएको थियो । त्यसपछि हरि साउदीबाट आफंै हिडेँ ।

****

हरिसँग बिहे गर्दा सुनिता सानै थिइन् । कानुनको भाषामा भन्ने हो भने उनी नावालिका थिइन् । १४ वर्षमा सुनितादेवी श्रीमती भएर हरि ठाकुरको टालीको घरमा प्रवेश गरेकी थिइन् । अहिले हरि र सुनिताको बिहे भएको २५ वर्ष बितिसकेको छ ।

हरिको कमाउने जमिन थिएन । बटियामा काम गरेर गुजारा टार्थे हरि-सुनितादेवी । यसरी नै एक छोरा र छोरीकी आमा भइन् । सन्तानले जिम्मेवारी थप्छन्, आवश्यकता माग्छन् । त्यसैले, सुनिता र आफ्ना सन्तानलाई छोडेर २४ वर्षीय हरि साउदीतिर लागे ।

हरिको मासिक तलव पुन नपुग एक हजार रियाल थियो । त्यही पैसाले सुनितादेवीले छोराछोरी पढाइन् । सामान्य एक तले घर बनाइन् । नौ कट्ठा जमिन जोडिन् । उनको मनमा लागेको थियो, ‘अब त छोराहरुले कमाउँछन् । आफ्नै बारीमा खेती गरेर पनि खान पुग्छ ।’

साँच्चिकै चालिस कटेसी रमाउने मुडमा थिइन् सुनिता । सायद हरि पनि त्यही सपना बोकेर साउदी अरबको एयरपोर्टसम्म आइपुगेका थिए ।

यता सुनितादेवी र उनका जेठा छोरा पनि भ्रमरपुरा छोडेर काठमाडौंसम्म आइपुगे । हरिले नै काठमाडौंसम्म बोलाएका थिए उनीहरुलाई । विदेशबाट फर्कंदा परिवार काठमाडौंसम्म आउने, भेटेर केही किनमेल गर्ने, केही माया साट्ने, केही मीठो खाने र रमाउँदै घर फर्कने संस्कार जो छ ।

****

गत मंसिर ९ गते । सुनितादेवीलाई हरिले फोनमा भने, ‘म काम गर्ने ठाउँबाट एयरपोर्ट आइपुगेँ । बिहानको साढे ९ बजे नेपाल आइपुग्छु ।’ सुनिताले जवाफ फर्काइन्, ‘म पनि काठमाडौंमै छु ।’

त्यतिबेलाको मौसम घमाइलो थियो । तर, यतिबेला सुनितादेवीको अनुहार झरी पर्नुअघिको बादलजस्तो भएको छ । सुनितादेवी बोलिरहेकी छिन्- ‘एक छिनपछि फोन गरेको त उहाँको फोन उठ्दै उठेन । धेरै फोन गर्‍यौं, घण्टी गयो तर, फोनै उठेन ।’

सुनितादेवी र छोरा ९ बजे नै काठमाडौंको एयरपोर्ट पुगे । र, हरि आउने बाटो हेरिरहे ।

हामीलाई कथा सुनाइरहँदा सुनितादेवी बेला-बेला एकोहोरिरहन्छिन् । अनुहार झनझन् मधुरो बन्दै जान्छ । उनी विस्तारै बोल्छिन्, ‘तर, त्यो दिन प्लेन नै आएन । छोराले सबैतिर खोजखाज गर्‍यो । त्यो दिन उहाँ आउनुभएन ।’

अर्को दिन सुनितादेवी साढे ९ बजे फेरि एयरपोर्ट पुगिन् । र, उसरी नै आगमन कक्षमा चिहाइरहिन् । ट्रलीमा ठूल्ठूला लगेज गुडाउँदै आएका भिडमा आफ्नो श्रीमानलाई खोजिरहिन् ।

यति सुनाइसक्दा उनका आँखाबाट आँशु आए । मुखबाट मधुरो आवाज निस्कियो, ‘प्लेन आयो, तर आदमी आएन । बसको अन्तिम सिट खाली रहेछ, त्यही दिन घर फर्कियौं ।’

बस जनकपुरतिर गुड्दै थियो । सुनितादेवीले बसकै सिटमा बसेर विदेशमै रहेका देवरलाई फोन गरिन् ।

तत्काल देवर साउदी एयरपोर्ट पुगे । घर पुगेपछि सुनितादेवीको मोबाइलमा खबर आयो, ‘हरि बिरामी छन् । हस्पिटलमा छन् ।’

****

अब सुनितादेवीको घरको माहौल एकाएक परिवर्तन हुन थाल्यो । मानिसहरुले सुनितादेवीको घर भरिन थाले । ती मानिसहरुले पनि भनिरहेका हुन्थे, ‘हरि बिरामी भएर हस्पिटलमा छन् ।’

सुनितादेवीका आँखाबाट निस्किएको आँशु बूँद बनेर उनीजस्तै सालिन हुँदै खस्दै थियो । यसरी कि घरछेउको पोखरी उनको आँखामै आएर बसेको छ । उनले टाउको भित्तामा अड्याएकी थिइन् । बेलाबेला हत्केलाले गालाको आँशुलाई तितरवितर पार्थिन् ।

सुनितादेवीको टाउको हल्लिँदैन । आवाजले उनको गला मात्र कम्पित भइरहेछ, ‘मैले बुढालाई कति पर्खिएँ । जतिबेलै बाटो हेरिरहेकी हुन्थेँ । दिन वर्षजस्तै लाग्थ्यो । मानिसहरुले मलाई जतिबेलै घेरिरहेका हुन्थे । म रोइरहेकी । तर, मलाई सबैले सम्झाइरहेका हुन्थे कि हरि निको भएर आउँदैछन् ।’

तर, दुई महिना हुन आँटिसक्यो । हरि सुनितालाई प्रेम गर्न आउँदैनन् त ! अहिले उनका आँशु बलेसीजस्ता भएका छन् । रोक्किई रोक्किई बोल्छिन्, ‘त्यो दुई महिनासम्म मैले केही पनि खाइनँ । पानी पनि खाएँ कि खाइनँ, थाहा छैन ।’

दुई महिनापछि हरि घर आए । तर, रातो कफिनमा सुतेर । केही मानिसहरुबाट बोकिएर । दुई महिनाअघि स्वासप्रश्वासलाई अरबको एयरपोर्टमै छोडेर ।

त्यतिबेला सुनितादेवी कुन मनस्थिति र स्थितिबाट गुज्रदै थिइन् होला ? त्यो कल्पनासम्म गर्दा पनि जोकोहीलाई अत्यास लाग्छ ।

तर, दैनिक पाँच वटा यस्ता राता बाकस नेपालका गाउँ-बस्ती, शहरमा आइरहेका छन् । खाडीले रेमिट्यान्ससँगै यस्ता भवितव्यहरु पनि पठाइरहेछ ।

हरि आइसकेपछि सुनितादेवीहरुले अर्को दुई लाख रुपैयाँ कर्जा (ऋण) लिनुपर्‍यो । किनकि हरिको मृत्युसंस्कारमा तीन लाख खर्च भयो ।

गरिवहरुलाई जन्मिँदा पनि ऋण, विदेश जाँदा पनि ऋण र मर्दा पनि ऋण !

साउदीको कम्पनीले भन्यो, ‘हामीले कुनै पनि रकम दिन सक्दैनौं । हाम्रो कम्पनीबाट निस्किइसकेको थियो ।’

****

यतिबेला घरमा सुनितादेवी र कान्छा छोरा मात्र छन् । सुवास प्रायः जनकपुरमा हुन्छन् । किनकि उनी सरकारी नोकरीमा छिर्ने प्रयासमा छन् । सुनितादेवी कहिले रुन्छिन्, कहिले बरबराउँछिन् । श्रीमान किन एयरपोर्टमै ढले ? त्यो पनि उनलाई थाहा छैन । कसैले भन्छन् हार्ट अट्याक भयो, कसैले के… ।

तर, पनि जिउनु त छँदैछ । दुई छोराको अनुहार हेर्छिन् र बहलिएको मन भुलाउने कोशिस गर्छिन् । स-साना आशाहरुले पनि मानिसलाई बाँच्ने बाटो देखाउँछ ।

अहिले दुई लाख ऋणले सुनितादेवीको टाउको थिचिएको छ । त्यसैले हामीले सुनितालाई अन्तिम प्रश्न सोध्यौं- ‘के तपाईंले दुई छोरालाई पनि विदेश पठाउनुहुन्छ ?’

सुनितादेवीले अनलाइनखबरसँग भनिन्, ‘समस्या पर्‍यो भने त जानै पर्‍यो नि !’

उनी लाचार छिन् । सुनितादेवी भनेको यो देश हो ।

यो पनि पढ्नुस्ः

मधेसमा वैदेशिक रोजगारीको प्रभाव- १ः सक्ने जति सबै विदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment