Comments Add Comment

प्रदेश २ को स्थलगत रिपोर्ट : सक्ने जति सबै विदेश

गाउँ नै विदेशमा ! यसरी फेरिँदैछ 'देहात' को मुहार

सम्पादकीय नोट- नेपालमा वैदेशिक रोजगारीका मुख्यतः चार किसिमका प्रभावहरु देखिन्छन् । उज्यालो पाटोबाट हेर्ने हो भने देशमा रेमिट्यान्स भित्रिएको छ । निम्न आयस्तर भएका परिवारजनमा आर्थिक सुधार एवं सानोतिनो खुशीयालीसमेत भित्रिएकै छ ।

तर, अँध्यारो पाटोचाहिँ के छ भने गाउँ नै रित्तिने गरी युवापुस्ताको विदेश पलायनले देश विकासमा जनशक्तिको अभाव खड्किएको छ । र, घर परिवारभित्र वियोगान्त कथाहरुको सिर्जना गरिदिएको छ वैदेशिक रोजगारीले ।

यसैसन्दर्भमा अनलाइनखबरले प्रदेश नम्बर २ अन्तरगत केही जिल्लाका भित्री गाउँलाई मानक बनाएर बैदेशिक रोजगारीको सकारात्मक-नकारात्मक प्रभावबारे खोजमूलक सामाग्रीहरु पस्कने प्रयास गरेको छ ।

हामीले देशका अन्य भागजस्तै प्रदेश २ मा पनि वैदेशिक रोजगारीको सघन प्रभावमा परेको भेट्यौं । मधेसका समथर फाँटहरुमा सुखान्त अनि दुःखान्त, दुबैखाले कथा-व्यथा फेला पार्‍यौं । गाउँघरमा वैदेशिक रोजगारीले पारेको आर्थिक प्रभाव पनि भेटियो, सामाजिक प्रभाव पनि देखियो ।

प्रदेश २ मा वैदेशिक रोजगारीको प्रभाव के कस्तो परिरहेको छ भन्नेबारे सोमबारदेखि अनलाइनखबरमा थप  श्रृखलावद्ध सामाग्रीहरु प्रकाशित गरिने छन् ।

****

महोत्तरीको लोहरपट्टी गाउँपालिका वडा नम्बर-७, भ्रमरपुराका शिवशरण मण्डल (धानुक) रोजगारीका लागि कतार बस्न थालेको २३ वर्ष पूरा भयो । उनी दुई वर्षमा मुस्किलले दुई महिना घरमा हुन्छन् ।

२७ भदौ ०५२ पहिलो पटक कतार गएका शिवशरणका तीन भाइहरू पनि उनीसँगै कतारमा काम गर्छन् । नाजुक आर्थिक अवस्थाबाट गुजि्ररहेको यो परिवारको आर्थिक सुधारको संकेत फुसको पुर्ख्यौली घरपछाडि बनेको पक्की घरले पनि दिन्छ । आफूहरू सबै विदेश गएपछि खेती गर्ने जग्गा पनि जोडेको शिवशरण बताउँछन् ।

आमा, चार भाइ, बुहारीहरू, ६ छोरा र ६ छोरीसहित २१ जनाको परिवार सगोलमा बस्दै आएका छन् । चारै दाजुभाइले कतार इन्टरनेसनल रेस कोर्समा घोडाको स्याहार गर्दै आएका छन् ।

दुई वर्ष पहिले बुबाको निधन भएपछि उनीहरूको घर स्याहार्ने जिम्मेवारी ६४ वर्षीया आमाको काँधमा छ । नातिनीहरू गाउँकै विद्यालयमा पढ्छन् । ११ वर्षीय धीरजसहित नातीहरू जनकपुर बसेर पढ्छन् ।

‘घर परिवार आदमी विहीन छ, यो कुरा सम्झिँदा मन खिन्न हुन्छ’ दुई महिने विदामा घर आएका शिवशरणले अनलाइनखबरसँग भने, ‘बुबा बित्नुभएपछि हाट बजार जाने एउटै आद्मी छैन ।’

२१ सदस्यीय मण्डल परिवारका पुरुष सदस्य चाडवाड र ठूलो जमघटमा पाहुनाको रुपमा मात्रै घरमा आउँछन् । घरको जेठो छोरो मण्डल ठूली छोरीको विवाहमा पनि घर आउन पाएनन् ।

वैदेशिक रोजगारीमा जानेको अवस्था कस्तो छ भन्ने मण्डल परिवारले देखाउँछ । लोहरपट्टी-७ का वडाध्यक्ष गणेश ठाकुर भ्रमपुरा गाउँकै अवस्था मण्डल परिवारको जस्तै भएको बताउँछन् ।

गाउँ नै विदेशमा

वडाध्यक्ष ठाकुर आफ्नो वडामा विदेश कुनकुन घरबाट गए भनेर होइन, कुनकुन घरबाट गएन भनेर खोज्नुपर्ने अवस्था रहेको बताउँछन् । उनी भन्छन्, ‘विदेश नजाने घर १० प्रतिशतभन्दा पनि कम छ ।’

वडाले ५० रुपैयाँ लिएर नागरिकताको सिफारिस दिने गरेको छ । नागरिकता बनाउनेको मूल उद्देश्य नै राहदानी बनाएर विदेश जानु रहेको ठाकुरको भनाइ छ ।

वडा, टोलको भेला, बैठकमा ज्येष्ठ नागरिक र केटाकेटीको बाहुल्य हुने गरेको वडाध्यक्ष ठाकुर बताउँछन् । ४७ वर्षीय ठाकुर भन्छन्, ‘सक्ने र उमेर भएका युवा विदेश गएपछि गाउँमा बुढाबुढी, केटाकेटी बढी देखिँदो रहेछ ।’

महोत्तरीको सीमावर्ती गाउँपालिका एकडारा निवासी समाजशास्त्री अजय यादव पनि आफ्नो गाउँ लगभग पुरुषविहीन जस्तो देखिएको बताउँछन् । उनी भन्छन्, ‘मेरो गाउँको कुरा गर्नुहुन्छ भने त्यहाँ ७०-८० प्रतिशत महिला छन् ।’

जनकपुरस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा अध्यापन गर्दै आएका समाजशास्त्री यादव तराई मधेसका प्रायः सबै गाउँको अवस्था आफ्नो गाउँको भन्दा भिन्न नरहेको बताउँछन् ।

धनुषाको लोहनापट्टी मुस्लिम बाहुल गाउँ हो । यहाँ एक किलोमिटरको दुरीमा तीनवटा मदरसा छन् । तर, सबै मुस्लिम बालबालिका मदरसामै पढ्न भने जाँदैनन् ।

६० वर्षीया खैजल खातुन वैदेशिक रोजगारीमा गएका बाबुहरूले आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाउने गरेको बताउँछिन् । ‘तर यस्तो अवसर पाउने छोरीहरूको संख्या भने छोराको तुलनामा निकै कम छ’ खातुन भन्छिन् ।

लोहनापट्टीका फुस र टायलको घरलाई पक्की घरले विस्थापित गर्ने क्रम जारी छ । यहाँको आम्दानीको प्रमुख स्रोत पनि वैदेशिक रोजगारी नै हो । खातुन भन्छिन्, ‘यो घरबाट विदेश गएको रहेछ भन्ने कुरा घर हेरेरै भन्न सकिन्छ ।’

सिराहाकोे कर्जन्हा नगरपालिका, थलहाको अवस्था पनि महोत्तरी र धनुषाका गाउँहरूसँग मिल्दोजुल्दो छ । पासवान समुदायको बाक्लो वस्ती रहेको थलहामा पनि विदेश नगएको घर भेट्न मुस्किल छ ।

यो गाउँमा पनि ज्येष्ठ नागरिक, महिला र केटाकेटीकै बाहुल्य छ । फाट्टफुट्ट अधबैंसे पुरुष नभेटिने होइनन् । तर उनीहरूमध्ये एक जना पनि त्यस्तो थिएनन्, जो वैदेशिक रोजगारीमा नगएको होस् । कति त दशौं पटक विदेश गएका पनि छन् ।

उमेर बढाएर राहदानी

अनलाइनखबरकर्मी स्थलगत रिपोर्टिङमा पुगेका प्रायः सबै वस्तीबाट १६-१७ वर्षका किशोरहरू २१ वर्ष पुगेको उमेर राहदानी बनाएर विदेश गएको भेटियो । प्रदेश दुईका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा पनि अधिकांश किशोरहरु उमेर बढाएर विदेश गएको सूचना प्राप्त भएको बताउँछन् ।

युवाहरूलाई विदेश जाने दबाव कति रहेछ भन्ने यसले पनि देखाउँछ । एक हिसाबले हेर्दा यो जसरी पनि विदेश जाने मोह पनि हो ।

वैदेशिक रोजगारका जानकारहरू भने न्यूनतम उमेर पुरा नगरी विदेश जाँदा श्रमिकले विभिन्न शारीरिक तथा मानसिक समस्याको सामना गर्नुपरेको बताउँछन् । दीर्घरोग र दुर्घटनाको एउटा कारण न्यूनत्तम उमेर नपुग्नु पनि हो । २१ वर्षमाथिकाले मात्रै गर्न सक्ने काममा १६-१७ वर्षका किशोरहरूलाई पठाउन नहुने उनीहरूको सुझाव छ ।

संस्थागत रुपमा ११० र अनौपचारिक तरिकाबाट समेत गरी १६७ देशमा नेपालीहरू वैदेशिक रोजगारीमा छन् । उनीहरूमध्ये अधिकांश कामदार अदक्ष छन् ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार वैदेशिक रोजगारीमा गएका मध्ये ७४.५ प्रतिशत कामदार अदक्ष छन् । अर्धदक्ष २४ र दक्ष जम्मा १.५ प्रतिशत छन् ।

अदक्ष कामको अनुपात तराई मधेसबाट अझै बढिरहेको सम्वद्धहरू बताउँछन् । श्रम तथा रोजगार कार्यालय जनकपुरका श्रम अधिकृत आविद अन्सारी मधेसका जिल्लाबाट विदेश जाने अधिकांश अदक्ष रहेको बताउँछन् ।

एक नम्बरमा धनुषा

गत पुस १५ गतेदेखि पुनः श्रम स्वीकृति शुरु गरेको जनकपुरमा आएका एकाध बाहेक सबै कामदार अदक्ष रहेको अन्सारीले जानकारी दिए । उनी भन्छन्, ‘सीप सिकेर जाँदा कमाई धेरै हुने मात्रै होइन काम सजिलो हुन्छ भन्ने बुझाउन सकेका रहेनछौं ।’

जनकपुरस्थित श्रम कार्यालयबाट चैत मसान्तसम्म १० हजार २८३ जनाले पुनः श्रम स्वीकृति लिए । श्रम अधिकृत अन्सारीका अनुसार त्यहाँबाट श्रम स्वीकृति लिने मध्ये ६० प्रतिशत धनुषा जिल्लाका छन् ।

प्रदेश दुईको राजधानी रहेको धनुषा ७७ जिल्ला मध्ये सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने जिल्लाको रुपमा परिचित छ । आर्थिक वर्ष २०७४/०७५ मा यो जिल्लाबाट मात्रै ३९ हजार ७७९ जना रोजगारीका लागि विदेशिए । त्यसमध्ये सबैभन्दा बढी अर्थात ८ हजार ६१५ जना मलेसिया गएका थिए ।

गत आर्थिक वर्षमा सिराहाबाट ३० हजार ११, महोत्तरीबाट २७ हजार ४१७ र सर्लाहीबाट १८ हजार ३२४ जना संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति लिए विदेशिएको वैदेशिक रोजगार विभागको अभिलेख छ ।

देहातको आर्थिक मेरुदण्ड

चालु आर्थिक वर्षको पहिलो सात महिनामा ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स २७ प्रतिशतले बृद्धि भएको हो । यसरी भित्रिएको रेमिट्यान्सले गर्दा नै मुलुकको अर्थतन्त्र टिकेको छ भन्दा फरक पर्दैन ।

कृषि, उद्योग र पयर्टन क्षेत्रको आम्दानीमा उल्लेख वृद्धि नहुँदा पनि अर्थतन्त्र नखल्बलिनुमा रेमिट्यान्स नै महत्वपूर्ण कारण हो । फुसका घर टायल, टायलका घर पक्की बनेका छन् । हिजोसम्म पैदल हिड्नेहरू साइकल, साइकलमा हिँड्नेहरू मोटरसाइकल/स्कुटर चढ्ने भएका छन् । सामुदायिक विद्यालयमा छोराछोरी पठाउनेहरूको रोजाई निजी विद्यालय भएको छ ।

सरकारी अस्पतालमा उपचार गर्नेहरू निजी अस्पतालमा उपचार गर्न जान थालेका छन् । नर्सिङ होमको संख्या थपिँदा पनि बिरामी खचाखच हुनुको एउटा कारण यो पनि हो ।

वैदेशिक रोजगारीमा जानेहरूको जीवनस्तरमा देखिने गरीको सुधार आएको त छ नै । स्वदेशमै श्रम गर्नेहरूको ज्याला पनि बृद्धि भएको छ ।

कतारका पूर्वराजदूत जनकपुरका प्राध्यापक सूर्यनाथ मिश्र विभिन्न चुनौतिका बावजुद विदेश जाने युवाहरूको पसिनाले देहातको मुहार फेरिएको बताउँछन् । उनका अनुसार वैदेशिक रोजगारीले साँझविहान खानसमेत धौ-धौ हुने परिवारको भौतिक आवश्यकता पूरा गरिदिएको छ ।

तस्वीरः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment