
२८ असार, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद आफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने न्यायाधीशहरू खुसीराम थारु र अर्जुन महर्जनलाई कालोमोसो छ्याप्ने नेकपा बहुमतका कार्यकर्ताहरूलाई पार्टीले सम्मान गरेको छ ।
शनिबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सम्मान तथा अभिनन्दन गरिएको सो पार्टीले जनाएको छ ।
गत २९ जेठमा न्यायाधीशको कार्यकक्षमै पुगेर कार्यकर्ताहरूले मोसो छ्यापेका थिए ।
नेकपा बहुमतका स्थायी समिति सदस्य उदयबहादुर चलाउने‘दिपक’का अनुसार, गरिब तथा निमुखा जनताको न्यायको लागि जोखिम उठाएर हिम्मत गरेकाले उनीहरूलाई सम्मान गरिएको हो ।
पछिल्लो समयमा राज्यका तीनवटै अंगहरूमा भ्रष्टाचार चरमचुलीमा पुगेको बेला आफ्नो पार्टीले त्यस विरुद्ध नयाँ अभियान चलाएको सो पार्टीले जनाएको छ ।
कालोमोसो छ्याप्ने नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू करिब एक महिनासम्म हिरासत बस्नुपरेको थियो ।
हिरासतबाट छुटेलगत्तै पार्टीले उनीहरूलाई सम्मान गरेको हो ।
पार्टीका कार्यकर्ताहरू अभिनाश कुँवर, पदम मगर र गर्भू महतोले उनीहरूलाई मोसो छ्यापेका थिए ।
प्रतिक्रिया 4