+
+
Shares

सेयर सदस्य र कर्मचारीकै विरोधका बीच सुरक्षा घेरामा ग्रामीण लघुवित्तको साधारणसभा

प्रमुख कार्यकारी अधिकृतले आफ्नो कार्यकाल लम्ब्याउने स्वार्थमा आवश्यकता र औचित्य नै नभएको समाज लघुवित्तसंग मर्ज गर्ने प्रस्ताव पारित गर्न जबर्जस्ती साधारणसभा गरेको आरोप छ ।

टोपराज शर्मा टोपराज शर्मा
२०८२ असार २८ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारी संगठनको विरोध हुँदाहुँदै पनि मर्जर प्रस्ताव साधारणसभाबाट पारित गरेको छ।
  • नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दीपेन्द्र लुइँटेलले मर्जर गर्नुपर्ने कुनै आवश्यकता नभएको र बहुमत सेयर सदस्य र कर्मचारीले मर्जर सफल नहुने चेतावनी दिएका छन्।
  • संस्थाले सेयर सदस्य र कर्मचारीलाई जानकारी नदिई प्रहरी परिचालन गरी साधारणसभा गरेको र पत्रकारलाई समेत प्रवेश रोकिएको छ।

२८ असार, बुटवल । नेपाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारी संगठनको विरोधलाई बेवास्ता गर्दै मर्जर प्रस्ताव साधारणसभाबाट पारित गरेको छ ।

संस्थाले अधिकांश महिला सेयर सदस्यहरूलाई जानकारी नदिई/सहभागी नगराई शनिबार बुटवलमा प्रहरी तैनाथ गरी सीमित सेयर सदस्य सहभागी गराएर साधारणसभा गरेको असन्तुष्ट सेयर सदस्यको गुनासो छ ।

साधारणसभामा करिब सय जनाका लागि कुर्सी राखिएको भएपनि सञ्चालक समिति सदस्यहरू र केही सेयर सदस्यहरु मात्रै सहभागी थिए ।

सञ्चालक समितिका अध्यक्ष भरतराज कोइराला र कम्पनी सचिवसमेत रहेका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालको मिलेमतोमा औपचारिकताका लागि मात्रै साधारणसभा गरिएको कर्मचारी संगठनको आरोप छ ।

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले समाज लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर प्रस्ताव पारित गर्नका लागि सेयर सदस्यहरूलाई सहभागी नै नगराई जबर्जस्ती साधारणसभा गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष दीपेन्द्र लुइँटेलले बताए ।

कर्मचारी संगठनले कार्यक्रमस्थलमा कालो ब्यानरसहित विरोध प्रदर्शन गरेका थिए ।

कर्मचारीमध्येका सेयर सदस्यहरूलाई प्रवेशमा प्रहरी परिचालन गरेर रोक लगाइएको थियो ।

भुइँ तलामै प्रहरी तैनाथ गरेर होटेलको पाँचौं तलामा आयोजित साधारणसभामा जान सेयर सदस्य कर्मचारी र पत्रकारलाई रोक लगाएपछि केहीबेर तनाव उत्पन्न भएको थियो ।

पत्रकारहरुले समाचार संकलनमा रोक लगाइएको विषय जानकारी गराएपछि प्रमुख जिल्ला अधिकारीले प्रहरीलाई फोन गरेर प्रवेश गर्न दिएका थिए ।

पत्रकार र असन्तुष्ट सेयर सदस्यहरु पुग्दा साधारणसभा सम्पन्न भएको थियो ।

सर्वसाधारणतर्फका सेयर सदस्यहरूलाई सूचना समेत नगरी ढोका थुनेर आफू अनुकूलको निर्णय गर्न साधारणसभा गरिएको सेयर सदस्य लिलामाया थापाले बताइन् ।

‘हामीलाई गुमराहमा राखेर कहिले कुन ठाउँ, कहिले कुन ठाउँ भन्दै झुक्याएर साधारणसभा गरियो, थाहा पाएर आउंदा पनि जान दिइएन,’ थापाले भनिन् ।

संस्थाले शुरुमा संस्थाको केन्द्रीय कार्यालयमा, दोस्रोपटक एशियन होटेलमा र तेस्रोपटक पाम इन्टरनेसनल होटेलमा साधारणसभा हुने सूचना टाँसेको थियो ।

सेयर सदस्य सरस्वती न्यौपानेले महिलाहरुको लघुवित्त भनेर नाम चलेको र माथि उठेको संस्थाले महिला सेयर सदस्यहरुलाई निषेध गरेर आफू अनुकूल व्यक्तिलाई मात्रै सहभागी गराएर साधारणसभामा गरेकोप्रति आपत्ति जनाइन् ।

साधारण सभामा पेश हुने प्रस्तावहरूमा छलफल गर्न र प्रश्न सोध्न आएपनि सुरुमा प्रवेश नदिइएको र प्रवेश गर्नासाथ साधारणसभा सकिएको उनले गुनासो गरिन् ।

‘समान प्रकृतिका ५ वटा संस्थासँग मर्ज गरेको दश वर्षसम्म पनि सेयरधनीहरुलाई केही नाफा दिन नसकेको संस्थाले अब एकदमै कमजोर संस्थासँग मर्ज गर्नुपर्ने कारण के हो, हामीलाई थाहा छैन,’ उनले भनिन्, ‘कार्यकारी प्रमुख र सञ्चालकको कार्यकाल थप्ने स्वार्थमा गरिने मर्जर सेयर सदस्यलाई स्वीकार्य छैन ।’

नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष दीपेन्द्र लुइँटेलले सर्लाहीमा केन्द्रीय कार्यालय रहेको तीन जिल्ला कार्यक्षेत्र भएको २ करोड २८ लाख पूँजी भएको समाज लघुवित्तसँग ७७ जिल्ला कार्यक्षेत्र र ९८ करोड २५ लाख पूँजी भएको संस्थाले मर्जर गर्नुपर्ने कुनै आवश्यकता र औचित्य नै नभएको तर्क गरे ।

यो मर्जरको विपक्षमा बहुमत सेयर सदस्य र कर्मचारी रहेकाले मर्जर सफल नहुने उनको चेतावनी छ ।

मर्जर अनुचित छ भन्दै संगठनले असार १३ गते नै संस्थालाई ध्यानाकर्षणपत्र बुझाएपनि जबरजस्ती गरिएको उनको भनाइ छ । ‘यो कुनै व्यक्तिको कार्यकाल दोहोर्‍याएर निजी स्वार्थ पूरा गर्न रचिएको नाटक हो, यसले संस्था, सेयरधनी र कर्मचारी कसैलाई फाइदा हँुदैन,’ उनले भने, ‘कमजोर वित्तीय हैसियत भएको संस्थासँग समान अनुपात (रेसिओ) मा मर्जर गर्न तयार हुनुले गम्भीर प्रश्न उठेको छ, यस्तो गलत रवैयाप्रति नियामक निकाय नेपाल राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण हुनुपर्छ ।’

आर्थिक वर्ष २०८०/८१ को वित्तीय सूचकांकमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको तुलनामा समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पूँजी २.३ प्रतिशत, निक्षेप संकलन ४.५ प्रतिशत, ऋण लगानी ३.६ प्रतिशत, सदस्य ३.४ प्रतिशत र ऋणी ३.८ प्रतिशत रहेको पाइएको छ । हरेक सूचकहरू ५ प्रतिशत भन्दा कम छ ।

तर, मर्जरजस्तो कर्मचारी वर्गमा प्रत्यक्ष प्रभाव पार्ने विषयलाई नजरअन्दाज गरी आधिकारिक ट्रेड युनियनसँग कुनै प्रकारको औपचारिक छलफल, संवाद तथा परामर्श नगरी विरोधका बाबजुद पनि साधरणसभा गर्नुले चलखेल भएको पुष्टि भएको अध्यक्ष लुइँटेलको तर्क छ ।

दशौं साधारण सभाको विशेष प्रस्तावमा समाज लघुवित्त संस्था लिमिटेडसँग गाभ्ने प्रस्तावमा भर्चुअल सहभागी गराएर हतार हतारमा प्रस्तावहरू पारित गराइएको स्वयं सञ्चालकहरू बताउँछन् ।

 कम्पनी सचिव र प्रमुख कार्यकारी अधिकृत एउटै

कम्पनी सचिव र प्रमुख कार्यकारी अधिकृत एउटै व्यक्ति हुन नमिल्ने प्रावधान रहेपनि श्याम कुमार कटुवालले दुवै जिम्मेवारी सम्हालेका छन् ।

२०८१ साल फागुन १७ गते समाज लघुवित्त वित्तीय संस्थासँग एकीकरण (मर्जर) गर्ने सम्झौता गरिएको थियो ।

तर, समझदारीबारे सेयर सदस्य र कर्मचारीहरूलाई भने साधारण सभा गर्ने मिति तय भएपछि मात्रै जानकारी गराइएको थियो ।

प्रमुख कार्यकारी अधिकृत कटुवालले आफ्नो कार्यकाल लम्ब्याउन र केहीलाई जागिर दिनका लागि कमजोर वित्तीय अवस्था रहेको संस्थासँग मर्जर गर्न लागेको कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष विष्णु पंगेनीले आरोप लगाए ।

नायब प्रमुख कार्यकारी अधिकृत दीपक पाण्डेयले नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि साधारणसभाबाट मर्जर सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मत पारित भएको दाबी गरे ।

साधरणसभाको समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई समेत प्रवेशमा रोक लगाइएको विषयमा उनले केही वर्षयता पत्रकारलाई नबोलाउने गरिएकोमा कुनै कर्मचारी संगठनले बोलाएको भए संस्थालाई थाहा नहुने प्रतिक्रिया दिए ।

संस्थाले केही समय अघि गरेको कर्मचारी बढुवाको विषयमा पनि व्यापक विरोध भएपछि बढुवाको विधि परिवर्तन गर्न वाध्य भएको थियो ।

संस्थाले हालै मात्र पाँच सय बढी कर्मचारी नियुक्त गरेको थियो । उक्त निर्णयमा पनि आर्थिक चलखेल भएको भन्दै आलोचना भएको थियो ।

लघुवित्तको दलदल
लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?