 
																			१० फागुन, धनगढी । जेठ १७ गते कैलालीको गौरीगंगा नगरपालिका–१, लठैयाकी रेशमा चौधरी (३४) आँगनमा बेहोस अवस्थामा भेटिएपछि ७३ वर्षीय ससुरा चारु चौधरीले हत्तपत्त गाउँले बोलाएर सेती प्रादेशिक अस्पताल, धनगढी पुर्याए । उपचारमा जुटेका चिकित्सकले भोलिपल्ट बिहान ८ बजे रेशमाको मृत्यु भएको सुनाए ।
चिकित्सकका अनुसार, मृत्युको कारण विषादी सेवन थियो । डकर्मी काम गर्दै आएका रेशमाका श्रीमान् प्रदेशु चौधरी (४५) कैलालीकै चुरे गाउँपालिकामा काम गर्न गएका थिए । श्रीमती बेहोश भएको खबर पाएपछि आएका उनले कानुनी प्रक्रियापछि शव बुझे । त्यसयता घर कुरेर बसेका छन् । उनका अनुसार, रेशमाले विष खानुको कारण लघुवित्तको ऋण हो ।
प्रदेशुका अनुसार, उनीहरूले लघुवित्त संस्थाबाट ऋण लिन थालेको १३ वर्ष भएको थियो । सुरुमा तीन सन्तान हुर्काउन र पछि ऐलानी जग्गामा रहेको घडेरीमा घर बनाउन चौधरी दम्पतीले लघुवित्तहरूसँग कारोबार गरेका थिए ।
पछिल्लो पटक घर बनाउँदा उनीहरुले युनिक नेपाल नामक लघुवित्त वित्तीय संस्थाबाट तीन लाख रुपैयाँ ऋण लिएका थिए । तीन वर्षमा तिर्ने गरी लिएको ऋणमा १ लाख ४० हजार रुपैयाँ तिर्न बाँकी रहेको हिसाब सुनाउँदै उनले भने, ‘कोरोना महामारीपछि काम नपाउँदा सावाँ–ब्याजको किस्ता तिर्न सकिएको थिएन ।’
उनीहरूले अरू लघुवित्तबाट पनि ऋण लिएका छन् । तीन वर्ष पहिले सिकिस्त बिरामी भएका छोरा सुरेशलाई कोहलपुर मेडिकल कलेजको आईसीयूमा राखेर उपचार गराउँदा इन्फिनिटी लघुवित्तबाट तीन लाख कर्जा लिएका थिए । इन्फिनिटीको ऋण त ८२ हजार र त्यसको ब्याज मात्र थियो’ प्रदेशु भन्छन्, ‘निको भएर मजदुरी गर्न सिन्धुली गएको १८ वर्षको छोरा उतै बितेपछि उसको मन सारै कमजोर भएको थियो ।’
छोरीको बिहे गर्दा किसान लघुवित्तबाट पनि तीन लाख लिएका थिए । विभिन्न महिला समूहमा आबद्ध भएकाले रेशमाकै नामबाट कर्जा लिने गरेको बताउँदै उनले भने, ‘कान्छा छोराले बुहारी ल्याएपछि सामाजिक रीत अनुसार विवाह गर्न एउटा सहकारीबाट ५० हजार रुपैयाँ ऋण लिएका थियौं ।’ ऋणमाथि ऋण खाप्दै आएको रेशमा–प्रदेशु दम्पतीको घरमा (१७ जेठमा) युनिक नेपाल लघुवित्तले सूचना टाँसेर ताला मारिदियो ।
‘ऋण ढिलोचाँडो तिर्ने नै थियौं, तर उसले मौका नदिएर घरमा ताला लगाइदिंदा रेशमाले आत्महत्या गरिन्’ प्रदेशु भन्छन्, ‘म घरमा भएको भए उनलाई मर्न दिने थिइनँ ।’
प्रदेशुका अनुसार रेशमा बितेपछि युनिक नेपालले सावाँ–ब्याज मिनाह गरेर किरिया खर्च दिएको छ । ‘इन्फिनिटी, किसान र पहलमानपुरका कर्मचारी चाहिं आइरहेका छन्’ उनी भन्छन्, ‘लघुवित्तको ऋणले मेरी श्रीमतीको ज्यान लियो । अब मैले कहाँबाट तिरौं ?’
बिहे भइसकेका कान्छा छोरा गाडीका सहचालक छन् । चौधरी परिवारको आम्दानी भनेको सहचालकले पाउने तलब मात्र हो । घरजग्गै लिलाम गरेर असुल्न आग्रह गर्दा लघुवित्त कम्पनीहरूले नगद नै चाहिने अडानमा रहेको उनले बताए ।
 
                









 
                     
                                     
                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4