Comments Add Comment

श्रीमान विदेशमा हुँदा श्रीमती देवरसँग हिँडिन्

फेरि खाडीतिरै छ मोहम्मद नयनको नजर !

‘हजामको घर कहाँ हो ?’

‘यो गाउँको अन्तिम मकान ।’

ठूलो मदरसा हुँदै भित्र छिरेपछि एकजना दारीवाल भेटिन्छन् । टाउकोमा टर्वान लगाएका दारीवाल घामको सिधा किरणबाट बच्न छहारीमा छन् । छेउमा काठैकाठको बाकसजस्तो सानो चियापसल छ । चियापसलवालाको पनि टाउकोमा टर्वान, अनुहारमा दाह्री छ ।

हामी जनकपुर उपमहानगरपालिकाको लोहोनामा छौँ । अर्थात मुस्लिम गाउँमा छौँ । यहाँका घरहरुमा पोतिएका हरियो रङले पनि मुस्लिम बस्तीको अभास दिलाउँछ ।

तिनै दारीवालले सुनाएका हुन् हजामको कथा । तर, हजामको नाम उनलाई याद छैन । ती हजाम यसकारण कि गाउँकै कपाल काटिदिने जिम्मा उनकै थियो । मुस्लिम समुदायका हजाम ।

र, यो त्यही दारीवालसँगको अन्तिम सम्वाद हो । त्यसपछि हामी हजाम र हजामको घरको खोजीमा छौँ । गल्ली र दोबाटोहरुमा उही दारीवालसँगको प्रश्नलाई दोहोर्‍याउँदै ।

****

गुजुप्प परेको गाउँ । बोटमा लटरम्मै पाकेको आरुबखडाको झुप्पोजस्तै । बस्तीमा झुप्रा मात्र छैनन्, झुप्राबीचबाट पक्की भवन पनि उठेका छन् । बाटोमा भेटिएका पुरुष भन्छन्, ‘यो बैदेशिक रोजगारीको कमाल हो ।’ बाटोमा महिला कम, पुरुष बढी देखिन्छन् । स्कुल देखिँदैनन्, मदरसा भेटिन्छन् ।

दारीवालले भनेजस्तै हामी बस्तीको अन्तिम चोकमा पुग्यौँ । दोबाटो भेटियो । पक्की बिल्डिङको पेटीमा एउटा समूह थियो । समूहमध्येका एकजनालाई फेरि उही प्रश्न गर्‍यौँ, ‘हजामको घर कहाँ पर्छ ?’

‘भन्नुस् ।’

हजाम त उनै पो रहेछन् ! तथापि उनले अहिले कसैको कपाल काट्दैनन् । बरु एक पटकको एक सय रुपैयाँ तिरेर कपाल कटाउँछन् । उनको नाम हो- मोहम्मद नयन । वर्ष – ३६ ।

नयनले हामीलाई आफ्नो घरतर्फ डोर्‍याए, साघुँरो डोरो बाटो हुँदै । र, फुत्त एउटा सुुरुङभित्र पसे । त्यो सुरुङ नभएर नयनको ‘मकान’ थियो । बीचमा खाली ठाउँ छ ।

नयन सरासर ढोकानेर पुगे र उघारे । अनि भित्र छिरेर रातो प्लास्टिकको कुर्सी निकाल्दै भने, ‘बस्नुस् ।’

हामी अनलाइनखबरकर्मीहरु एक होइन, चारजना थियौँ । तर, उनको घरमा अरुलाई बस्न दिने थप कुर्सी थिएन । न सुकुल-पिर्का थिए । कुर्सीमा उनै नयनलाई नै बसायौँ ।

सेतो गञ्जीमा छन् नयन । खैरो पाइन्टमा । खुट्टामा चप्पल छैन । कालो उडेर खैरो भएको कपाल अस्तव्यस्त छ । जस्तो कि उनको घर अस्तव्यस्त छ ।

नयन जहाँ बसिरहेका छन्, त्यो घरको टालीको छाना सिधा छैन । एकापट्टीको गाह्रो छैन । सँगैको अग्लो बिल्डिङको एउटा पाटो हो उनको गाह्रो । घरको एउटा कोठा । कोठामा एउटा चौडा खाट । खाटमाथि च्यातिएका विस्तरा । र, त्यसको छेउमा दुई लौरोमा झुण्डिएको अस्तव्यस्त थात्रो झुल ।

नयन भन्छन्, ‘यो कोठामा छोरा सुत्छ ।’

जेठो छोरा १८ वर्षका भए । तर, अहिले कहाँ गए नयनलाई थाहा छैन । कान्छो छोरा १३ वर्षका भए । स्कुल जान्छन् रे । तर, कतिमा पढ्छन्, नयनलाई थाहा छैन ।

त्यसबाहेक घरका अर्का सदस्य हुन्- नयनकी आमा अजरा खातुन । उनी पनि यतिबेला कसैको बिहे खान गाउँतिर गएकी छिन् । नयन भन्छन्, ‘आमाले त पेन्सन खान्छ नि !’ बृद्धाभत्तालाई नयन पेन्सन भन्छन् ।

नयनका बाबा घरमा नभएको डेढ दशक भैसक्यो ।

****

नयनको पुर्खौली पेसा कपाल काट्ने थियो । बाबा अहम्मतले त्यही काम गर्थे । बाबासँगै नयन पनि कपाल काट्न हिँडिरहन्थे । पारिश्रमिकका रुपमा प्रत्येक घरबाट वाषिर्क चार पाथी धान घरमा हुल्थे अहम्मत । त्यतिबेला अहम्मतलाई तीन छोरा पाल्न हम्मेहम्मे परेको थियो ।

यहीबीचमा गाउँमा वैदेशिक रोजगारीको हुरी पस्यो । त्यही हुरीसँगै बतासिएर अहम्मत साउदी पुगे । यता नयनले स्वदेशमा हजाम काम छाडेनन् ।

एक दिन नयन घरको छानो छाउँदै थिए । त्यहीबेला उनले बाबाको नयाँ खबर सुने । खबर थियो, अब अहम्मत कहिल्यै घर र्फकने छैनन् । साउदीले अहम्मतसँगै परिवारको सपना पनि सुरसाले झैं एकैचोटि निल्यो ।

नयनको परिवार आफंैमा गरिव थियो । उल्टै कर्जा थपियो । एकपछि अर्को गर्दै श्रृंखलावद्ध रुपमा भोकै बस्ने दिनहरु आउन थाले । नयनले कपाल काट्ने काम गर्न छाडिदिए । र, पासपोर्ट बनाउन लागे । नयनसँग यसबाहेकको अर्को विकल्प छँदै थिएन ।

यहीबीचमा नयनले बिहे पनि गरिसकेका थिए । बिहे गर्ने मात्र होइन, दुई सन्तानको बाबु पनि बनिसकेका थिए । परिवारको आकार बढ्दै थियो । आम्दानीको स्रोत थिएन । अन्ततः नयन पनि बाबाजस्तै कर्जा लिएर साउदी उडे ।

आफ्नो बाबाको संस्कारसमेत गर्न नपाएका नयनले बाबाकै हत्यारा बालुवामा आफ्ना पाइलाहरु टेके ।

विदेश गएपछि नयनले माइला भाइलाई पनि साउदी झिकाए । नयनलाई चाहिँ सालाले झिकाएका थिए ।

नयन खाडी गएपछि श्रीमतीले गाउँमा मोवाइल खेलाउन थालिन् । कम्तिमा हप्ताको एकपटक श्रीमतीसँग कुरा गर्थे नयन । सम्बन्धमा कुनै खालको दरार उत्पन्न भएको थिएन । प्लम्बरमा काम गर्थे नयन । कमाएको पैसा सालालाई दिन्थे । सालाले दिदीलाई पठाइदिन्थे ।

नयन साउदीको घाममा पिरोलिएको त्यस्तै डेढ वर्षजति भएको थियो । त्यहीबेला उनको कानमा नेपालबाट मुटु पोल्ने खबर पुग्यो । खबर थियो, ‘श्रीमती घरबाट भागिन् । त्यो पनि आफ्नै कान्छो देवरसँग ।’

भाइको उमेर १८ वर्ष, श्रीमतीको ३२ । उनलाई यो खबर एकादेशको कथाजस्तो लाग्यो । अनि आफ्नै जिन्दगीलाई धिक्कारे नयनले ।

खबर जति नै कुरुप, दुःखद किन नहोस्, साउदीको मालिकले त्यो बुझ्दैन । पोलिरहेको मुटु लिएर प्लम्बरको काम गरिरहे । उनी झट्टै घर र्फकन पनि सकेनन् । किनकि उनले साउदी पुग्न तीन रुपैयाँ ब्याजमा ८५ हजार रुपैयाँ कर्जा लिएका थिए ।

चार वर्ष साउदीमै बिताए नयनले । अनि, २२ इञ्चको टीभी बोकेर घर फर्किए । घरमा बुढीआमा र दुई छोराहरु नयनलाई कुरेर बसिरहेका थिए ।

माइला भाइकी जहान धनुषाकै महेन्द्रनगरतिर बस्छन् । नयनको कुनै पनि भाइसँग सम्पर्क छैन ।

****

नयन साउदीबाट फर्किएको आधा दशक बितिसक्यो । यो आधा दशकमा उनले २२ इञ्चको टीभी पनि बेचिसके । अहिले कुखुरा फारममा काम गर्छन् । तलव महिनाको पाँच हजार रुपैयाँ छ । आम्दानीको स्रोत योभन्दा अर्को छैन ।

हुन त नयनले पासपोर्ट र नागरिकता पनि मेनपावरलाई बुझाएका छन् । भन्छन्, ‘विदेश जाने हो । तर, साउदी पठाउँछ कि मलेसिया, थाहा छैन ।’

नयन च्यापुमा हात लगाएर एकोहोरो चुल्होतर्फ टोलाइरहन्छन् । उनी बसिरहेको सिधा अगाडि दुईवटा मुख भएको माटोको चुल्हो छ । त्यहाँ दुईवटा कसौंडीबाहेक केही छैन । दुईवटा पन्यु र थाल जुठेल्नामै छन् ।

बाँसमा माटोले लिपेर घरको आकार दिइएको छ । एककोठे घर छ । कोठाभित्र दुईवटा थोत्रा बाक्सा छन् । केही थोत्रिएका ओढ्ने ओच्छ्याउने । त्यही चिसो भूइर्ंमा सुत्छन् नयन ।

दुई/तीनवटा कुच्चिएका ताउलीहरु देख्दा लाग्छ, यो कोठा उनीहरुको भण्डार पनि हो । तर, भण्डारमा एकगेडा अन्न छैन । अन्न हुनलाई खेत-बारी पनि त हुनुपर्‍यो !

नयनको सम्पत्ति यही झुप्रोमा अडिएको जमिन हो । जुन जमिनलाई नापीले ६/७ धुरसम्म देखाउँछ होला ।

घरको अस्तव्यस्ताले एउटा प्रश्न उब्जायो, ‘अब बिहे नगर्ने ?’

नयनले खित्का छाडे । उनको दाँतका काला कापहरु देखिए । बेपर्वाह हाँस्दै भने, ‘के थाहा त ! बिहे हुन्छ कि हुँदैन, मलाई थाहा हुन्छ ?’

बैदेशिक रोजगारी फरक-फरक परिवारका निम्ति फरक-फरक परिभाषा बनेका छन् । नयनको परिवारका लागि वैदेशिक रोजगारी दर्दनाक भवितव्य हो । वैदेशिक रोजगारीले उनको पुर्खौली पेसा निल्यो, परिवारलाई थिल्थिलो पार्‍यो ।

नयनले श्रीमती मात्रै गुमाएनन्, बाबाको मृत शरीर पनि घरसम्म आइपुगेन । मृत्युको कारण जान्ने कुरा त धेरै परको भयो । र, पनि उनलाई अझै खाडी नै जानु छ । किनकि राज्यको परिभाषामा वैदेशिक रोगजारी अर्थतन्त्रको मेरुदण्ड हो ।

यो पनि पढ्नुस्ः

मधेसमा वैदेशिक रोजगारीको प्रभाव- १ः सक्ने जति सबै विदेश

मधेसमा वैदेशिक रोजगारीको प्रभाव- २ः ‘हरि घर त आए तर, रातो कफिनमा’

मधेसमा वैदेशिक रोजगारीको प्रभाव- ३ः मधेसमा वैदेशिक रोजगारीले उठाएको ‘घूँघट’

मधेसमा वैदेशिक रोजगारीको प्रभाव- ४ः देवर हुन् त सोनहा खातुनको जस्तो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment