+
+
Shares

दुर्लभ खनिजमा चीनको वर्चस्व तोड्न सक्लान् पश्चिमी देशले ?

रेअर अर्थमा चीनको एकाधिकार सजिलै भएको हैन । यसका लागि चीनले वातावरणीय र सामाजिकस्तरमा ठूलो मूल्य चुकाएको विज्ञहरू बताउँछन् । यी खनिजहरूको खानी उत्खनन् प्रक्रिया वातावरण र मानव स्वास्थ्य दुवैका लागि हानिकारक हुन्छ, किनभने यिनमा प्राय: युरेनियम र थोरियम जस्ता रेडियोधर्मी तत्व पाइन्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते २१:४४

१५ कात्तिक, काठमाडौं । अमेरिका र चीनबीच जारी व्यापारिक विवादमा अस्थायी सुधार त आयो तर, पूरै सुल्झिएको छैन । दुई देशबीचको व्यापार विवादले दुर्लभ खनिज सम्पदा (रेअर अर्थ) को चर्चा चुलिएको छ ।

विश्वबजारमा रेअर अर्थको सप्लाइ चेनको हरेक चरणमा चीनको दबदबा छ । विश्वभर जति पनि रेअर अर्थको उत्खनन् हुन्छ त्यसको लगभग ७० प्रतिशत हिस्सामा चीनको नियन्त्रण छ । साथै प्रशोधन गरिने रेअर अर्थ्सको लगभग ९० प्रतिशत हिस्सा चीनले नै उत्पादन गर्छ ।

पछिल्ला दिनमा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले जारी गरेको एक प्रतिवेदनमा कुनै देशको एकाधिकारले विश्वबजारकै आपूर्ति शृङ्खलालाई प्रभाव पार्ने चेतावनी दिइएको छ । कुनै एक देश वा इन्डस्ट्रीमा एकाधिकार हुँदा ऊर्जा, मोटर वाहन उद्योग, रक्षा र एआई डेटा सेन्टर जस्ता निकै महत्त्वपूर्ण क्षेत्रमा विश्वभरको आपूर्ति शृङ्खलालाई कमजोर र असुरक्षित बनाउने आईईएको चेतावनी छ ।

अक्टोबरको सुरुवातमा बेइजिङले रेअर अर्थको आपूर्तिमा मुठ्ठी कसेको थियो । १ डिसेम्बरदेखि लागू हुने भनिएको चिनियाँ नीति अनुसार यदि कुनै विदेशी कम्पनीले विश्वभरको कुनै पनि क्षेत्रमा दुर्लभ खनिजका उत्पादनको निर्यात गर्छ भने, जसमा चीनको दुर्लभ खनिजको थोरै पनि हिस्सा प्रयोग गरिएको भए वा उनीहरूका उत्पादनमा चिनियाँ प्रविधि प्रयोग गरिएको छ भने उनीहरूले चीन सरकारको अनुमति लिनु अनिवार्य गरिने भनिएको थियो । तर,  दक्षिण कोरियामा अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच ३० अक्टोबरमा भेटवार्ता पछि कम्ती एक वर्षका लागि चीनले सो नीतिको कार्यान्वयन स्थगित गरेको छ ।

सेमी कन्डक्टर चिप्स र अन्य प्रविधिमा चिनियाँ कप्पनीलाई निषेध गर्ने अमेरिकी नीतिपछि चीनले पनि दुर्लभ खनिजको आपूर्तिमा कडाइ गर्न खोजेको थिए ।

रेअर अर्थलाई चीनले अस्त्रका रूपमा प्रयोग गर्न खोजेपछि विश्वबजारमा सम्भावित आपूर्ति संकट आउन सक्ने भन्दै चिन्ता व्यक्त हुन थालेको छ । रेअर अर्थको कमीका कारण विद्युतीय गाडी, रक्षा उपकरण, ऊर्जा सम्बन्धी मेसिन उत्पादनमा गम्भीर असर पर्न सक्नेछ ।

ट्रम्प र सी को वार्ताअघि अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले बेइजिङको पछिल्लो कदमको आलोचना गर्दै निकै आक्रामक र असंगत भएको प्रतिक्रिया दिएका थिए । युरोपेली संघ (ईयू) का व्यापार प्रमुख मारोस जेफकोभिकले यसलाई अनुचित र हानिकारको संज्ञा दिएका थिए ।

दुर्लभ खनिजको आपूर्तिको विवादका बीच ३० अक्टोबरमा दक्षिण कोरियामा भेटेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ यसैमा केन्द्रित थिए ।

ईयूले पनि आफ्ना कम्पनीलाई पर्याप्त आपूर्ति सुनिश्चित गर्न चीनसँग छलफल गरिरहेको छ ।

रेअर अर्थ किन यति जरुरी छ ?

रेअर अर्थ एलिमेन्ट्स विशेष भौतिक, चुम्बकीय र रसायनिक गुणका कारण हाम्रो आधुनिक जीवनको अभिन्न हिस्सा बनेको छ । यो शक्तिशाली चुम्बक बनाउन निकै महत्त्वपूर्ण छ, जसको चुम्बकीय क्षमता सधैं उस्तै रहन्छ र अतिरिक्त ऊर्जा स्रोत पनि आवश्यक पर्दैन ।

यस किसिमका धाुत उच्चतम प्रविधि प्रयोग गरिएको उत्पादन, जस्तै: स्मार्टफोन, ल्यापटप, हाइब्रिड कार, सोलार ब्याट्रिको निर्माणका लागि अपरिहार्य छ । रक्षा क्षेत्रमा पनि यो निकै उपयोगी छ । लडाकु विमानको इन्जिनदेखि लिएर मिसाइल गाइडेन्स सिस्टम, एन्टि मिसाइल डिफेन्स, उपग्रह र सञ्चार प्रणालीमा यसको प्रयोग गरिन्छ ।

नामाकरणले यसलाई पृथ्वीको दुलर्भ तत्व जस्तो दर्शाएपनि त्यो त्यति पनि दुर्लभ होइन । तर, उत्खनन् र प्रशोधन प्रक्रियाको जटिलताले यसलाई दुर्लभ भनिएको हो । यो पृथ्वीको क्रस्टमा पर्याप्त मात्र पाइन्छ, रेअर अर्थका कतिपय कम्पोनेन्ट्स त पृथ्वीमा पाइने तामा, सीसा, सुन जस्ता धातुभन्दा पनि धेरै छ ।

तर, यो खनिज संशाधनको सामान्यत: एकै ठाउँमा विशाल भण्डार वा खानी भने भेटिँदैन । चीनबाहेक क्यानडा, अस्ट्रेलिया, अमेरिका, ब्राजिल, भारत, दक्षिण अफ्रिका, रूस लगायतका देशमा यसको भण्डार छ ।

रेअर अर्थ्सलाई अरू तत्वबाट छुट्याएर निकालेपछि दुई श्रेणीमा बाँडिन्छ । पहिलो, लाइट रेअर अर्थ्स । दोस्रो, हेभी रेअर अर्थ्स । विशेषत: हेभी रेअर अर्थ्समा लगभग चीनकै एकाधिकार छ ।

ऊर्जा रूपान्तरणका लागि आवश्यक खनिजहरूबारे शोध गर्ने बेलायती संस्था बेन्चमार्क मिनरल इन्टेलिजेन्सका अनुसार विश्वभरमा दुर्लभ तत्वको प्रशोधनको लगभग ९९ प्रतिशत हिस्सामा चिनियाँ कम्पनीको नियन्त्रण छ ।

विश्व बजारमा रेअर अर्थ आपूर्तिमा संघर्ष

कुनै समय थियो, जब अमेरिका पनि रेअर अर्थमा आत्मनिर्भर थियो । तर पछिल्ला दुई दशकमा चीन यस क्षेत्रमा विश्वको सबैभन्दा ठूलो शक्ति बनेको छ ।

करिब एक दशकअघि देखि नै यी महत्त्वपूर्ण खनिजहरूमा चीनको बलियो पकड स्पष्ट देखिन थालेको थियो ।

एकाधिकारकै कारण चीनले यी खनिजहरूलाई आफ्ना भू–राजनीतिक विवादहरूमा दबाबको हतियारका रूपमा प्रयोग गर्न सक्ने विज्ञहरूले पहिल्यैदेखि चिन्ता व्यक्त गर्दै आएका छन् ।

सन् २०१० मा चीनले जापानसँगको क्षेत्रीय विवादका बेला रेअर अर्थको निर्यात रोकिदिएको थियो ।

त्यस्तै, सन् २०१९ मा पनि जब अमेरिका र चीनबीच व्यापारिक तनाव चर्किएको थियो, त्यसबेला पनि अमेरिका विरुद्धको जवाफी कदमका रूपमा चीनले यी खनिजहरूको निर्यात रोक्न सक्ने समाचार चिनियाँ सञ्चामाध्यममा आएको थियो ।

सोही अवधिमा राष्ट्रपति सी ले पनि रेअर अर्थलाई एक महत्त्वपूर्ण रणनीतिक स्रोत भनेर परिभाषित गरेका थिए ।

कयौँ प्रयासहरू पछि पनि रेअर अर्थको आपूर्तिमा चीनसँगको निर्भरता घटाउने पश्चिमी देशहरूको योजनामा अहिलेसम्म खासै प्रगति देखिएको छैन ।

चीनको वर्चस्वको सामना गर्न अमेरिकाको प्रयास

चीनको प्रभुत्व घटाउनका लागि ट्रम्प प्रशासनले आफ्ना सहयोगी देशहरूसँग सहकार्य गर्दै दुर्लभ तत्वहरूको स्थायी आपूर्ति सुनिश्चित गर्ने रणनीति बनाइरहेको थियो ।

तर विज्ञहरूका अनुसार चीनमाथिको निर्भरता घटाउने मुख्य चुनौती भनेको रेअर अर्थको प्रशोधन र शुद्धीकरण क्षमतालाई ठूलो मात्रामा विस्तार गर्नु हो ।

शिकागो काउन्सिल अन ग्लोबल अफेयर्सका विज्ञ कार्ल फ्रिडहफ ले १६ अक्टोबरमा प्रकाशित ब्लगमा लेखेका छन्, ‘अमेरिकाले सबैभन्दा पहिले मिडस्ट्रीम क्षेत्रमा ध्यान दिनुपर्छ, किनकि यहीँ प्रशोधन र रिफाइनिङ हुने भाग हो ।’

उनी भन्छन्, ‘यदि अमेरिकासँग कच्चा खनिजहरू छन् तर मिडस्ट्रीममा नियन्त्रण छैन भने, अन्तत: तिनीहरूलाई प्रशोधन गर्न फेरि चीन नै पठाउनुपर्ने हुन्छ ।’

तर यस्तो गर्दा वातावरणीय चुनौतीलगायत धेरै समस्या उत्पन्न हुन सक्नेतर्फ पनि उनले सचेत गराएका छन् ।

प्रमुख चुनौतीहरू

रेअर अर्थमा चीनको एकाधिकार सजिलै भएको हैन । यसका लागि चीनले वातावरणीय र सामाजिकस्तरमा ठूलो मूल्य चुकाएको विज्ञहरू बताउँछन् ।

यी खनिजहरूको खानी उत्खनन् प्रक्रिया वातावरण र मानव स्वास्थ्य दुवैका लागि हानिकारक हुन्छ, किनभने यिनमा प्राय: युरेनियम र थोरियम जस्ता रेडियोधर्मी तत्व पाइन्छन् ।

यी तत्वहरूले हावा, पानी, माटो र भूमिगत जललाई समेत प्रदूषित गरी गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्छन् ।

पश्चिमी देशहरूले चीनमाथिको निर्भरता घटाउने प्रयास गर्दा प्राविधिक र व्यावहारिक अवरोधहरू सामना गर्नुपरिरहेको छ ।

सबैभन्दा पहिले, प्रशोधन उद्योग स्थापना गर्नुपर्ने हुन्छ, जुन पश्चिमी देशका कडा वातावरणीय मापदण्ड पालना गरेर सञ्चालन गर्नुपर्ने हुन्छ । यो खर्चिलो र समयलाग्दो प्रक्रिया हो ।

भारतको असम र पश्चिम बङ्गालमा समेत रेअर अर्थ खनिज उत्खनन सुरु गर्न तयारी भइरहेको छ ।

यी खनिजहरूको प्रशोधनका लागि अत्यधिक ऊर्जा र पानी चाहिने भएकाले त्यसले स्थानीयस्तरमा विरोध सिर्जना गर्छ । साथै, यो प्रक्रिया प्राविधिक रूपमा निकै जटिल छ । चीनसँग दशकौँको अनुभव, तालिम प्राप्त जनशक्ति र बलियो औद्योगिक पूर्वाधार भएकाले अन्य देशहरूका लागि छिटै उसको स्तरमा पुग्न र एकाधिकार तोड्न सजिलो छैन ।

रेअर अर्थमा चीनको विशेषज्ञता

अमेरिकास्थित सेंटर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडिज (सीएसआईएस)ले जुलाईमा प्रकाशित गरेको प्रतिवेदनअनुसार, चीनसँग रेअर अर्थ प्रशोधनमा अद्वितीय प्राविधिक दक्षता छ ।

विशेषगरी सोल्भेन्ट एर्क्स्ट्याक्सन प्रविधिमा, जसले रेअर अर्थ तत्वहरूलाई अलग गर्ने अत्यन्त जटिल प्रक्रिया सुल्झाउँछ ।

प्रतिवेदनमा भनिएको छ, ‘पश्चिमी कम्पनीहरू सीमित तालिम प्राप्त जनशक्ति, अनुसन्धान तथा विकासको अभाव र कडा वातावरणीय नियमका कारण संघर्ष गरिरहेका छन् ।’

प्रतिवेदनका अनुसार, चीनमाथिको निर्भरता घटाउन केवल नयाँ खानीहरू पर्याप्त हुने छैन ।

त्यसका लागि नयाँ रिफाइनिङ संयन्त्र, तालिम प्राप्त श्रमिक, आर्थिक प्रोत्साहन र लगानी अनुकूल नीतिहरू पनि आवश्यक छन् ।

अमेरिकालाई आग्रह गर्दै प्रतिवेदन तयार पार्न संलग्न विज्ञहरूले भनेका छन्, ‘अमेरिकाले रेअर अर्थ क्षेत्रमा आफ्नो प्राविधिक क्षमता पुन: विकसित गरोस् र प्रशोधन केन्द्रहरू स्थापना गर्ने दीर्घकालीन रणनीति बनाओस् ।’

सस्तो कच्चा पदार्थ मात्र उत्खनन् गर्नु पर्याप्त नहुने चेतावनी उनीहरूको छ । तर, त्यसले लागतमा प्रतिस्पर्धा गर्न सहयोग पुर्‍याउने उनीहरूको भनाइ छ ।

यो क्षेत्रमा सफल हुनका लागि किफायती ऊर्जा स्रोत, भरपर्दो यातायात सञ्जाल, उन्नत प्रशोधन प्रविधि र सीपयुक्त कामदार आवश्यक पर्नेमा प्रतिवेदनले जोड दिएको छ ।

विज्ञहरूका अनुसार, यी सबै प्रयास भए पनि निकट भविष्यमा चीनकै वर्चस्व कायम रहने सम्भावना धेरै छ ।

प्रतिवेदनले अन्त्यमा भनिएको छ, ‘यदि अमेरिका र उसका सहयोगी देशहरूले छिट्टै ठोस कदम उठाएनन् भने चीनको एकाधिकारलाई चुनौती दिन सक्ने सम्भावना झन् कम हुँदै जानेछ । यसको प्रत्यक्ष असर महत्त्वपूर्ण प्रविधि, उद्योग र राष्ट्रिय सुरक्षामा पर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?